कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

घर माग्दै हुरीपीडितको प्रदर्शन

पवन यादव

बारा — गर्मीले बारा, पर्सा, रौतहटलगायत तराईका जिल्लाका सर्वसाधारण आक्रान्त छन् । घर हुनेभन्दा नहुनेलाई गर्मीले अझ बढी समस्यामा पारेको छ । हावाहुरीले घरबारविहीन बनेका पीडितलाई टेन्टको बासले टिकिखानु छैन ।

घर माग्दै हुरीपीडितको प्रदर्शन

सेनाले घर बनाइदिने आसमा टेन्टमा दिन काटिरहेका बारा प्रसौनी गाउँपालिका ४ खुटवाजब्दीका हावाहुरीपीडितले विकल्प नभएपछि दबाब दिन प्रदर्शन गरेका छन् । सेनाले घर बनाउने लिस्टबाट आफूहरूको नाम हटाइएको भन्दै यहाँका हुरीपीडित आन्दोलित छन् ।


गाउँका चार दर्जनभन्दा बढी पीडित महिला झाडु, युवा तथा बालबालिका प्लेकार्ड, ब्यानर र पुतला लिएर सडकमा ओर्लिएका हुन् । गाउँपालिका प्रमुख भोला साह र वडाध्यक्ष आनन्द गुप्ताले भेदभाव गरी घर निर्माण लिस्टबाट आफूहरूको नाम हटाएको भन्दै स्थानीयले जनप्रतिनिधिविरुद्ध चर्का नाराबाजी पनि गरे । उनीहरूले प्रदर्शन गर्दै खुटवाजब्दी गाउँ परिक्रमा गरे । र त्यहीँको चोकमा पुगेर पुतला र प्लेकार्डलाई सडकमा पछारे । पुतलामा आगोसमेत लगाए ।


आफ्नो घर पूर्णरूपमा क्षतिग्रस्त बने पनि सेनाले पाएको ९१ जनाको लिस्टमा नाम नपरेको स्थानीय पीडित आमना खातुनले गुनासो गरिन् । ‘हामी गरिबलाई प्राकृतिक प्रकोपले पनि दुःख दियो,’ उनले भनिन्, ‘अहिले जनप्रतिनिधिले राजनीतिक प्रतिशोध साध्न दुःख दिइरहेका छन् ।’ फरक दलको सदस्य रहेकाले आफूहरूको नाम लिस्टबाट हटाइएको उनको आरोप छ ।


स्थानीय जानकीदेवी पण्डितले पनि हुरीपीडितको घर निर्माणमा पक्षपात भएको गुनासो गरिन् । ‘हाम्रो घरको अनुगमन गरेर सुरुमा बासका लागि टेन्ट दिने तर अहिले पूर्ण क्षति लिस्टमा नाम छैन भन्दै पन्छिने ?’ उनले सोधिन्, ‘पुनः अनुगमन गरेर हाम्रो घर निर्माण हुनुपर्‍यो ।’ हुरीले भत्काएको घरमा च्यापिएर आमा कोशिला देवीको मृत्यु भएको छोरा भोला साहले बताए । ‘अहिले टेन्टमा बसिरहेका छौं,’ उनले भने, ‘घर निर्माण नहुन्जेल टेन्टमै बस्न भनिएको थियो ।’


अहिले आएर घर निर्माण लिस्टमा आफ्नो नाम नपरेको देख्दा आश्चर्यमा परेको उनको भनाइ छ । गाउँका पूर्णरूपमा क्षतिग्रस्त ६० भन्दा बढी घर निर्माणको पछिल्लो लिस्टबाट हटाइएकाले आन्दोलन गर्नुपरेको स्थानीय याकुब अन्सारीले बताए । आक्रोशित गाउँलेले ३ दिनदेखि वडा कार्यालयमा पनि अनिश्चितकालीन तालाबन्दीसमेत गरेका छन् ।


नयाँ लिस्टमा धेरै पीडितको नाम छुटेको प्रसौनी गाउँपालिका ४ का अध्यक्ष आनन्द गुप्ताले बताए । उनले भने, ‘जिल्ला प्रशासन कार्यालयबाटै पीडितको नाम हटाइएको होला, यसबारे मलाई जानकारी छैन ।’ पीडितको घरमा भएको क्षति विवरण तयार गर्न गरिएको अनुगमनका क्रममा आफू समावेश नभएको उनको भनाइ छ ।


गाउँपालिका प्रमुख साहले भने लिस्ट हेरफेरमा आफूहरूको संलग्नता नभएको दाबी गरे । ‘केन्द्र सरकारले आफूहरूको बेइज्जत र स्थानीय तहमा द्वन्द्व सिर्जना गराउन सीडीओमार्फत लिस्ट हेरफेर गराएको हो,’ उनले भने, ‘लिस्ट हेरफेर गर्दा जिल्ला प्रशासनले कुनै समन्वय एवं सम्पर्कसमेत गरेको छैन ।’ २ सय ६२ जनाको घर पूर्ण रूपमा क्षति भएको सूची तयार गरेर जिल्ला विपद् व्यवस्थापन समितिलाई उपलब्ध गराए पनि प्रशासन कार्यालयले त्यो लिस्ट नमानेको उनको आरोप छ ।


बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले भने स्थानीय गाउँपालिका प्रमुख र सम्बन्धित वडाध्यक्षको सहयोगमा हुरीपीडितको विवरण तयार पारिएको दाबी गरे । सेनाको चन्दननाथ गण ब्रह्मपुरी बाराले वैशाख १३ गते वडामा पठाएको पूर्ण क्षतिको सूचीमा वडा नम्बर ४ का १ सय ५७ परिवारको नाम समावेश छ । तर घर निर्माणका बेला खटिएको सेनालाई उपलब्ध गराइएको सूचीमा ९१ जना पीडितको नाम मात्र पठाइएको स्थानीयको भनाइ छ ।

प्रकाशित : असार १, २०७६ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?