चन्दननाथ–भैरवनाथ गुठी : नियमन नहुँदा बढ्यो अतिक्रमण

चन्दननाथ–भैरवनाथ गुठीको जग्गा निजी क्षेत्र मात्र होइन, सरकारका विभिन्न निकायले समेत आफूखुसी भोगचलन गर्दै आएका छन् । 
एलपी देवकोटा

जुम्ला — चन्दननाथ–भैरवनाथ गुठी व्यवस्थापन समितिको नाममा रहेको खेतीयोग्य जमिन अतिक्रमणमा परेको छ । सरकारी तथा निजी क्षेत्रबाट जग्गा अतिक्रमणमा परे पनि सरकारी निकायको ध्यान गएको छैन । 

चन्दननाथ–भैरवनाथ गुठी : नियमन नहुँदा बढ्यो अतिक्रमण

जुम्लाको गर्ज्याङकोट, देपालगाउँ, बियारे, महतगाउँ, तलिउम, कुडारी, डाँडाकोट र राजीकोट, कालीकोटको रासकोट, मुगुको नागथार्प, बाजुराको कोल्टी र हुम्लामा समेत चन्दननाथको जग्गा छ । जिल्लाबाहिरको सबै जग्गाको अवस्थाबारे भने आफूलाई थाहा नभएको चन्दननाथ–भैरवनाथ गुठी व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर रोकायाले बताए । ‘जिल्लाभित्रका अधिकांश गुठीको जग्गा अतिक्रमणमा परेको छ,’ उनले भने, ‘पटकपटक रोक्ने प्रयास गरिए पनि सफल हुन सकिएन ।’


केही वर्षअघि हजारौं हेक्टरमा रहेको जग्गा अतिक्रमणमा पर्दै गएपछि अहिले ७४ हजार २ सय ९४ वर्गमिटर (एक सय ४३ रोपनी) मात्रै गुठीको नाममा छ । गुठीको नाममा लालपुर्जा भएको जग्गामा समेत व्यक्तिले घर बनाएका छन् । चन्दननाथ बाबाले मार्सी धान खेती सुरु गरेको भनिने सेराज्युलो र आसपासको जग्गा पनि अतिक्रमणमा परेको छ । अतिक्रमणमा परेको जग्गा फिर्ता गराउन जिल्ला प्रशासन कार्यालय र चन्दनाथ नगरपालिकालाई पटकपटक गुहारे पनि कसैले चासो नदिएको अध्यक्ष रोकायाले बताए ।


जग्गा अतिक्रमणको अवस्था अध्ययन गर्न कालीबहादुर थापाको संयोजकत्वमा गठित टोलीले २०७१ जेठ २५ गते व्यवस्थापन समितिमा प्रतिवेदन बुझाइसकेको छ । प्रतिवेदनमा साविक गर्ज्याङकोट तथा अहिले गुठीचौर गाउँपालिकामा रहेको ३ हजार ५ सय ७३ वर्गमिटर जग्गामा स्थानीय पाँच जनाले घर बनाएको देखाइएको छ । प्रतिवेदनअनुसार दलजित बुढा, गोर बुढा, कालीबहादुर बुढा, हंश बुस र दीपबहादुर कामीले अतिक्रमण गरी घर निर्माण गरेका हुन् ।


चन्दननाथ नगरपालिकाको कालेखोली र बजार क्षेत्रमा पनि गुठीको जग्गा व्यक्तिले प्रयोग गर्दै आएको प्रतिवेदनमा उल्लेख छ । ‘गुठीको जग्गामा डम्बर श्रेष्ठले बारी बनाएका छन् भने पारस महत र विनोद शेरचनले शौचालय तथा पदम खत्रीले घर, बारी र शौचालय बनाएको पाइयो,’ प्रतिवेदनमा भनिएको छ, ‘अतिक्रमित जग्गामा अम्बिका शाहीले टहरो बनाएको भेटियो ।’


२०६८ मंसिर २० गते मालपोत कार्यालयले गुठीको जग्गा अतिक्रमण भएको विवरण पठाएको थियो । अतिक्रमण बढिरहे पनि यस विषयमा जिल्लाका सरोकारवाला मौन रहेको स्थानीयको गुनासो छ । २०३६ सालमा स्थापित गुठी व्यवस्थापन समितिले अहिलेसम्म पनि अतिक्रमणबाट जग्गा बचाउन सकेको छैन ।


चन्दननाथ ३ का जैसिंह सार्कीले स्थानीय एक व्यक्तिलाई नेपाली सेनाको ब्यारेक नजिकैको गुठीको खेतीयोग्य दुई रोपनी जग्गा बेचेका छन् । वर्षौंदेखि जमिन उपभोग गरिरहेको उनले मालपोतका कर्मचारीसँगको मिलेमतोमा जग्गा बेचेको समितिले दाबी गरेको छ । सोही ठाउँमा डङ्से सार्कीले भोगचलन गर्दै आएको दुई रोपनी गुठी जग्गा नेपाली सेनाले अतिक्रमण गरेर मुआब्जा दिँदासमेत गुठीले पत्तो पाएन । तर अहिले गुठीले मुआब्जा पाउनुपर्ने भन्दै समितिले उजुरी दिएको छ ।


स्थानीय महाशंकर देवकोटाले नयाँ बसपार्क नजिकै रहेको गुठीको चार रोपनी जग्गा व्यक्तिगत नामसारी गर्न खोजेपछि दशकौंदेखि सर्वोच्चमा मुद्दा छ । सेराज्युलाको छेउमा घर निर्मित गुठी जग्गा आफ्नो भन्दै नव गिरीले मुद्दा हालेपछि जिल्ला अदालतले उनलाई जितायो, तर उच्च अदालतले भने गुठीको पक्षमा फैसला गरेपछि विवाद कायमै छ ।


गुठीको जग्गामै काली दमाईको नाममा जनता आवास कार्यक्रमबाट घर बनेको छ । अतिक्रमण गरेर खेलकुद विकास समितिले समेत आफ्नो नाममा लिइसकेको छ । गुठीकै जग्गामा उद्योग वाणिज्य संघ, कर्णाली खस संग्रहालय र नगरपालिकाले पार्किङ बनाएका छन् । अतिक्रमित जग्गामा जिल्ला अदालतको भवनसमेत निर्माण हुँदै छ । गुठीलाई नसोधेरै जिशिका र नगरपालिकाले सडक निर्माण गरेका छन् ।

प्रकाशित : असार १, २०७६ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?