कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

मनसुन बंगालको खाडी आसपासमै रोकियो, जलवाष्पयुक्त वायुसमेत 'ट्र्याप' भएपछि गर्मी बढ्यो

काठमाडौँ — मौसमी प्रणाली नै बंगालको खाडी आसपासमै रोकिएपछि (ट्र्याप) नेपालतिर आउने मनसुनी प्रणालीसमेत अवरुद्ध भएको छ । जसका कारण मनसुन ढिला भइरहेको छ भने उखरमाउलो गर्मी बढिरहेको छ । 

मनसुन बंगालको खाडी आसपासमै रोकियो, जलवाष्पयुक्त वायुसमेत 'ट्र्याप' भएपछि गर्मी बढ्यो

‘जलवाष्पयुक्त वायु बंगालको खाडीबाट आउँथ्यो, त्यो नै आएन,’ जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालले कान्तिपुरसित भने, ‘कम्तिमा वायुको प्रवाह (फ्लो) भएको भए अलि अलि बादल लाग्थ्यो र धेरथोर वर्षा हुन्थ्यो, बढ्दो गर्मी घट्न पनि सहयोग पुग्थ्यो ।’


अर्यालयका अनुसार मनसुनी प्रणाली सिफ्ट भएर उत्तरतिर तिर सर्दै आउनुपर्ने हो, त्यो भइरहेको छैन । ‘मनसुनी प्रभावका लागि मौसमी प्रणाली नै स्वाट्ट सर्नुपर्ने हुन्छ,’ उनले भने, ‘त्यो भएको छैन, बंगालकै खाडी आसपासमा मनसुन ट्रयाप भएको छ ।’


अर्को, पश्चिमतिर अरेबियाली सागरमा ‘वायु’ नामको आँधी आएका कारण पश्चिम नेपालतिर गर्मी बढिरहेको छ । शनिबार धनगढी, नेपालगञ्ज, भैरहवाको तापक्रम ४४ हाराहारी पुगेको छ । आइतबार पनि काठमाडौं र पश्चिमसहित सबैतिर तापक्रम बढिरहेको छ ।


सामान्यतया नेपालमा जेठ अन्तिम साता (जुन १०) मा मनसुन सुरु हुने भए पनि केही वर्ष यता मनसुन धकेलिरहेको छ । यो वर्ष पनि अझै चार–पाँच दिन मनसुन प्रवेश गर्ने छाँट छैन । ‘भारतको सिक्किमतिर दुई तीन दिनमा मनसुन प्रवेश गर्ने संभावना देखिएको छ’ अर्यालले भने, ‘त्यसपति बल्ल ताप्लेजुङ, इलाम हुँदै मनसुन प्रवेश हुन सक्छ ।’


अहिले मनसुन भारतको मध्यभाग तिरै अलमिलएको छ । सामान्यतया जुन १ मा केरलामा र त्यसको १० दिनपछि (१० जुन/जेठ २७) पूर्वी भाग हुँदै नेपाल प्रवेश गर्छ । काठमाडौं विश्वविद्यालयमा मौसम विज्ञानका अध्यापक वरिष्ठ मौसमविद् मणिरत्न शाक्यले पनि पछिल्ला वर्ष मनसुनपछि धकेलिंदै गएकाले सुरु हुने मिति नै हेरफेर गर्नुपर्ने टिप्पणी गरे । ‘मनसुन ५ देखि १० दिनपछि धकेलिने गरेको छ,’ शाक्यले भने, ‘यो वर्ष पनि त्यस्तै सम्भावना छ ।’


दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्चको डेढ महिना अघि काठमाडौंमा भएको सम्मेलनले यो वर्ष नेपालमा पूर्वी भागमा औसत भन्दा कम वर्षा हुने आंकलन गरेको छ । मध्ये र पश्चिम भागमा भने औशत वर्षा हुने अनुमान गरिएको छ ।


मनसुन सुरु हुनुअघि दक्षिण एसिया क्षेत्रका मौसमविद् मनसुनसम्बन्धी साझा दृष्टिकोण बनाउन सन् २०१० देखि भेला हुने गरेका छन् ।

प्रकाशित : असार १, २०७६ १४:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?