१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

तराईमा अत्यधिक गर्मीले जनजीवन कष्टकर, विद्यालयहरु बन्द

रौतहट, बारा, नवलपुर, मोरङ — केही दिनयता मध्य तराई लगायत देशभर गर्मी बढेपछि जनजीवन प्रभावित बनेको छ । तापक्रम ४० डिग्री नाघेपछि सर्वसाधारणहरु घर बाहिर निस्कन मुस्किल परिरहेको छ । गर्मीबाट कतै पानीको हाहाकार मच्चिएको छ कतिपय जिल्लाका विद्यालयहरु समेत बन्द गराउने निर्णय गरिएको छ । 

तराईमा अत्यधिक गर्मीले जनजीवन कष्टकर, विद्यालयहरु बन्द

रौतहट


गर्मीले जिल्लाको जनजीवन प्रभावित बनेको छ । केही दिनयता हृवात्तै बढेको गर्मीले मानिसलाई समस्या परेको हो । सडकमा मानिसको चहलपहल पातलिएको छ । तातो हावा चल्न थालेपछि झनै समस्या भएको हो । निजी तथा सरकारी विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई समस्यामा पारेको छ । अत्यधिक गर्मीले पशुसमेत प्रभावित बनेको छ । यहाँका बजार सुनसान जस्तै छ ।


उद्योग वाणिज्य संघका अध्यक्ष सुनील जैसवालले गर्मीले ब्यापार घटेको बताए । गर्मीका कारण दही, चिसो पेय पदार्थ, खर्बुजा, स्याउ, आइसक्रिम लगायतका सामग्रीको बिक्री भने बढेको जैसवालले सुनाए । चन्द्रपुर नगरपालिकाले ६ गतेसम्मका लागि बिदाको सूचना निकालेको छ । आइतबार रौतहटमा ४० डिग्री बढी तापक्रम मापन गरिएको छ ।


बारा

एक सातायता लगातार बढ्दो तापक्रमले तराई/मधेसको जनजीवन कष्टकर बनेको छ । सातादेखि दैनिक रुपमा ४० देखि ४२ डिग्री सेल्सियससम्म तापक्रम बढिरहेको जल तथा मौसम पुर्वानुमान शाखा सिमराले जनाएको छ ।

वृद्धवृद्धा, बालबालिका, सुत्केरी, विपन्न, मजदुरको लागि यो गर्मी ‘काल’ झैं बनेको सर्वसाधारणहरु दुःखेसो पोखिरहेका छन् । गर्मी छल्न गाउँघरमा चौतारो, छहारी नजिक सर्वसाधारणहरुको भीड लागिरहेको देखिन्छ । कतिपय ठाउँको रुखसँगैको चौतारो सडक विस्तारको क्रममा रुख काटेर चौतारो भत्काएपछि सर्वसाधारणहरुहलाई गर्मी छल्न समस्या भइरहेको पचरौता नगरपालिकाअन्तर्गतको लंगडा चोकका सुखल हजरा पासवाले बताए ।


पर्सा जिल्लाको वीरगन्ज महानगरपालिकाले पालिका भरिका सबैखाले विद्यालय आउँदो एक साताको लागि बन्द गर्न निर्देशन गरेको छ । अस्पतालमा ज्वरोका बिरामी बढेको छ ।

नवलपुर

अत्यधिक गर्मीको कारण स्थानीय तहले नवलपुरमा धमाधम विद्यालय बिदा दिन थालेका छन् । पुर्वी नवलपरासीको गैंडाकोट नगरपालिकाले गर्मी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको जनाएको छ । आइतबार नगरपालिकाले गर्मीले जनजीवन प्रभावित बनेको भन्दै असार २, ३ र ४ गते नगरभित्रका सबै शैक्षिक संस्था बन्द गर्न सूचना जारी गरेको छ ।


यसैगरी मध्यविन्दु नगरपालिकाले पनि ३ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । शिक्षा शाखा प्रमुख उपसचिव देवीराम अर्यालले हिउँदे बिदाबाट काट्ने गरेर गर्मी बिदा दिइएको जनाए । कावासोती, दलदले, रजहर, गैंडाकोट ब्यस्त बजार हुन् । बिहानदेखि राति अबेरसम्म सर्वसाधारणको चहलपहल हुन्छ । तर, केहीदिन देखि यो बजार दिउँसो सुनसान जस्तै बन्न थालेका छन् ।


अहिले नवलपुर क्षेत्रको तापक्रम ३५ देखि ३८ डिग्रिको हाराहारीमा पुगेको छ । एकाबिहानै चर्को घाम लाग्ने र तातो हावा चलेपछि जनजीवन थप प्रभावित बनेको हो । गर्मीको कारण अस्पतालमा छाला, झाडापखला र आँखाका रोगी बढेका छन् । दिउँसो चर्को घाम रहेकाले सकभर घर बाहिर ननिस्कन र निस्कन परे पातलो प्रकारको लामबाहुले कपडा लगाउन तथा छाता ओढ्न चिकित्सकहरुले सल्लाह दिएका छन् ।


मकवानपुर

केही दिनदेखि बढेको गर्मीका कारण यहाँका सामुदायिक विद्यालयहरु ५ दिनका लागि बन्द हुने भएका छन् । हेटौंडा उपमहानगरपालिका नगर कार्यपालिका कार्यालयले आइतबार असार २ गते सोमबारदेखि असार ६ गते शुक्रबारसम्म सामुदायिक विद्यालय बन्द गर्न निर्देशन दिएको हो ।


‘भूकम्प कारण भत्किएका विद्यालयहरु धमाधम पुनर्निर्माण भइरहेका छन् । जसको कारणले अहिले टीएलसीमा बसेर विद्यालयहरु पढिरहेका छन् । जस्तापाता तात्ने, विद्यार्थी बेहोस हुनेक्रम बढेपछि बाध्य भएर विद्यालय बन्द गर्ने निर्णय गरेका हौं’, हेटौडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताए । हेटौंडा उपमहानगरपालिकाभित्र १ सय १५ वटा सामुदायिक विद्यालय छन् ।


तीन दिनदेखि हेटौंडाको तापक्रम करिब ४० डिग्रि सेल्सियस पुगेको अनुमान छ ।



मोरङ

‘आहा, यहाँ सरर हावा, अनि कति शीतल !’ आइतबार बिहानको डुलाइमा सिंघिया पुल पार गरे लगतै महानगर विराटनगरका डा.प्रियेश आचार्यले भने । उनले हिँडाइको सारा थकान हराएर स्फूर्ति महसुस भएको बताए ।

आकाशमा बादल मडारिए पनि पुलवारिको महानगरको सहरी क्षेत्रमा हिंडनै मुस्किल हुने गरी हपहप थियो भने पारी मोरङकै कटहरी गाउँपालिकाको सानासाना घर भएको चौधरी बहुल महेसपुर बस्तीमा शीतल थियो ।


सिंघिया पुललाई सीमा मान्ने हो भने विराटनगरस्थित डा.आचार्यको घरदेखि यो बस्तीको दूरी मुस्किलले मात्र दुई किमि होला । ‘रुखबिरुवा भएको खुला ठाउँ, खोलानाला र पोखरीले गर्दा विराटनगर एवं यहाँको वातावरण फरक देखिएको हो,’बस्तीकी चियापसले सन्ध्या राजवंशीले भनिन् । उनको ठीक अघिल्तिर पोखरी, बाँस झारी, खुला खेत र बस्नलाई फलैंचा छ ।

प्रकाशित : असार १, २०७६ १८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?