कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

उफ् गर्मी

तराईको तापक्रम ४० डिग्रीभन्दा माथि 
विद्यालयहरू बन्द

रौतहट, धनुषा, बारा, नवलपुर — रौतहटमा केही दिनदेखि तातो हावा चल्न थालेकाले जनजीवन अस्तव्यस्त बनेको छ । बजार सुनसानजस्तै बनेका छन् । गर्मीले व्यापार घटेको व्यवसायीले बताएका छन् ।

उफ् गर्मी

‘मानिसहरू बाहिर निस्कन छाडे, गर्मीले समस्या भएको छ,’ उद्योग वाणिज्य संघका अध्यक्ष सुनील जैसवालले भने, ‘चिसो, पेय पदार्थबाहेकको व्यापार घटेको छ ।’ दही, चिसो पेय पदार्थ, खर्बुजा, स्याउ, आइसक्रिमलगायत सामग्रीको बिक्री बढेको जैसवालले सुनाए ।


आइतबार यहाँ ४० डिग्री तापक्रम मापन भएको थियो । गर्मीले विद्यार्थी कम आउन थालेपछि चन्द्रपुर नगरपालिकाले ६ गतेसम्मका लागि बिदा दिएको छ । नगरपालिकाका शिक्षा शाखा अधिकृत दीपेन्द्र मण्डलले अत्यधिक गर्मी बढेकाले बिदा दिइएको बताए । असार लाग्दासम्म बीउ राख्न नपाएपछि किसान बोरिङको पानीको भर पर्न थालेका छन् ।


सिँचाइ सुविधा नभएका धेरैजसोको खेतमा बीउ राखिएको छैन । चन्द्रपुर– ५ का मोहम्मद इस्माइल ३ दिनदेखि ठेला थन्क्याएर बसेका छन् । पाइडलले चलाउनुपर्ने भएकाले गर्मीमा निकाल्न नसकेको उनले सुनाए । ‘दिनमा एक हजारसम्म कमाइ हुन्थ्यो,’ उनले भने, ‘अहिले त्यत्तिकै बस्नुपरेको छ ।’


एक दर्जन ठेला मजदुरको अवस्था इस्माइलको जस्तै छ । चोकका धेरै ठाउँमा वरपीपलका रूख थिए । गर्मीमा त्यही रूखमुनि ठेला, रिक्सा र ई–रिक्सा चालक आराम गर्थे तर अहिले नगरपालिकाले ती सबै काटेर ठुटे बनाएको छ ।


प्रमुख जिल्ला अधिकारी किरण थापाले गर्मीले जनजीवन प्रभावित बनेको बताए । ‘गर्मी धेरै बढेको छ, यसले सबैलाई समस्या पारेको छ,’ उनले भने । गर्मीमा छाला ढाक्ने कपडा लगाउन र घाममा हिँड्दा केही समयको अन्तरालमा शीतलपानीले हातमुख धुन चिकित्सकले सुझाएका छन् ।


जनकपुरमा कलबाट मोटरले पानी तान्न छोडेको छ । कल र इनारमा पानी सुकेको छ । अत्यधिक गर्मीका कारण बजार, शैक्षिक संस्था र सरकारी कार्यालयमा कामकाज प्रभावित भएको छ । जनकपुर विमानस्थलस्थित जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालयका वरिष्ठ अधिकृत महेन्द्र ठाकुरका अनुसार जनकपुरमा आइतबार ३९ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ ।

गर्मी छल्न निजी तथा सामुदायिक विद्यालयले बिहानी सत्रमा पठनपाठन सञ्चालन गरेका छन् ।


विद्यालयबाट फर्किने समय चर्को गर्मी हुने भएकाले बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्न थालेको छ । खानेपानी अभाव सुरु भएको छ । जनकपुर र अधिकांश ग्रामीण भेगमा पानीको मुहान, चापाकल, इनार सुकेका छन् । चार सय फिट खनेर जडान गरिएका ह्यान्डपाइपमा पनि बिहान अलिअलि पानी आउने र घाम उदाएपछि सुक्ने गरेको छ । पानीको मुख्य स्रोत हातेकल सुक्न थालेपछि स्थानीय बाल्टी र बोतल लिई भौंतारिएको दृश्य सामान्य बन्न थालेको छ ।


धनुषाको उत्तरी भेगमा यसअघि पनि पानीको समस्या देखिए पनि जनकपुर नगर क्षेत्र तथा जिल्लाको पूर्वी र दक्षिणी भेगमा यस्तो समस्या बिरलै देखिन्थ्यो । ‘हाम्रो पालामा ४० फिटमा पिउनयोग्य पानी पाइन्थ्यो, अहिले १ सय फिट गाड्दा पनि आउँदैन’, जनकपुरका विजय साहले भने, ‘पानी आइहाले पनि केही दिनमै सुकेर जान्छ ।’ पानी अभाव हुनुमा चुरे विनाश मुख्य कारण रहेको साह बताउँछन् । ‘गाईभैंसी पाल्न पनि मुस्किल पर्न थालिसकेको छ’, उनले भने, ‘चुरे जंगल जोगाउन नसके तराईमधेस मरुभूमिमा परिणत हुन्छ ।’


धनुषा तथा महोत्तरीको उत्तरी क्षेत्रका दर्जनभन्दा बढी गाउँका बासिन्दा खानेपानीको चर्को मारमा छन् । महोत्तरीका गौशाला, बर्दिबास, खयरमारा, बाहुनमारा, टुटेश्वर, हाथिलेट, धनुषाका बटेश्वर, तुल्सी, लालगढ, लवटोली, ढल्केवर, कुसुमविसौना, चित्रपुर, गोदार, धारापानीलगायत गाउँमा पनि पानीको अभाव देखिएको छ ।


जनकपुर अञ्चल अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.नागेन्द्रप्रसाद यादवका अनुसार गर्मी बढेसँगै अस्पतालमा बिरामीको चाप दोब्बर भएको छ । सामान्य अवस्थामा दैनिक करिब साढे तीन सय बिरामी आउने गरेकोमा अहिले करिब ६ सय आउन थालेका छन् ।


जीवन अस्तव्यस्त

बारामा सातायताको तापक्रम ४० देखि ४२ डिग्री सेल्सियसबीचमा छ । वृद्धवृद्धा, बालबालिका, सुत्केरी, विपन्न, मजदुरका लागि गर्मी ‘काल’ झैं बनेको सर्वसाधारणले दुःखेसो पोखिरहेका छन् । गर्मी छल्न गाउँघरमा चौतारो, छहारीनजिक सर्वसाधारणको भीड लागिरहेको छ । कतिपय चौताराका रूख सडक विस्तारक्रममा काटिएपछि गर्मी छल्न समस्या भइरहेको पचरौता नगरपालिकाको लंगडा चोकका सुखल हजरा पासवाले बताए ।


‘लंगडा चोकमा सयौं वर्ष पुरानो वरको रूख ५ कट्ठाजति जग्गामा फैलिएको थियो । सँगै चौतारो पनि भएकाले यस्तो गर्मीमा धेरै राहत हुन्थ्यो । यस वर्ष नगरपालिकाले यसलाई काटिदियो ।’ थुपै ठाउँमा यस्तो समस्या देखिएको उनले बताए । धेरैजसो विद्यालयको छाना जस्तापाता र अबलेस्टरलगायतले छाएकाले विद्यार्थी कक्षामा आउन छाडेको कलैया– ६ का गौरीशंकर जैसवालले बताए । अस्पतालमा ज्वरोका बिरामी थेगिनसक्नु छ ।


चैतदेखि टेन्टमा बस्दै आएका हुरीपीडितको जनजीवन झन् कष्टकर बनेको छ । ‘टेन्टको तापले जीउ पोलिरहेको छ,’ फेटा गाउँपालिका–६, पुरैनियाका समसुल अन्सारीले भने, ‘एक त हुरीले बिजोग बनायो, टेन्टले गर्मी झन् सहन नसकेर मन उथलपुथल भएको छ ।’ खोलाखोल्सीमा पानी सुकेकोले चौपायालाई पानी खान समस्या भएको छ ।


धेरै ठाउँमा चापाकलको पानीसमेत सुकेपछि दैनिकी धान्न कठिन भइरहेको सर्वसाधारणले बताएका छन् । सिम्रौनगढ क्षेत्रमा यो समस्या बढी छ । सदरमुकाम कलैयामासमेत धेरैजसो चापाकलको पानी सुकेको छ । ‘धेरै वर्षपछि यस्तो गर्मी महसुस भइरहेको छ,’ कलैया–५ का ६५ वर्षीय षडानन्द पराजुलीले भने, ‘यसपालिको गर्मी अनौठो खालको छ ।’


कलैया अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट प्रेमशंकरप्रसाद चौरसियाले गर्मीले बिरामीको चाप बढेको बताए । अत्यधिक गर्मीले चिसो पेय पदार्थ, दही, लस्सी, खरबुजा, बरफी कुलको बिक्री बढेको छ । चिकित्सकले गर्मीबाट जोगिन मसालेदार र छिट्टो नपच्ने खानेकुरा नखान सुझाएका छन् ।


विद्यालय बन्द

पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिकाले अत्यधिक गर्मी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने गरेको छ । आइतबार नगरपालिकाले विज्ञप्ति जारी गरेर बढ्दो गर्मीले जनजीवन प्रभावित बनेको भन्दै असार २, ३ र ४ गते नगरभित्रका सबै शैक्षिक संस्था बन्द गर्न भनेको हो । बालबालिका विद्यालयमै बिरामी पर्न थालेकाले बन्द गरिएको नगरपालिकाले जनाएको छ ।


मध्यविन्दु नगरपालिकाले पनि ३ दिन विद्यालय बिदा गरेको छ । शिक्षा शाखा प्रमुख उपसचिव देवीराम अर्यालले हिउँदे बिदाबाट काट्ने गरी बिदा दिइएको जनाए । कावासोती, दलदले, रजहर, गैंडाकोटलगायत व्यस्त बजार दिउँसोको समयमा सुनसानजस्तै बन्न थालेका छन् । सरकारी कार्यालयमा सेवाग्राहीको चाप घटेको छ ।


नवलपुर क्षेत्रको तापक्रम ३५ देखि ३८ डिग्री हाराहारी मापन गरिएको छ । अधिक गर्मीका कारण अस्पतालमा छाला, झाडापखाला र आँखाका रोगी बढेका छन् । दैनिक ५० देखि ६० जना उपचारका लागि आउने जिल्ला अस्पताल मध्यविन्दु कावासोतीमा एक्कासि बिरामी बढेका छन् ।


बजार क्षेत्रमा विभिन्न होटल तथा रिसोर्टमा रहेको स्विमिङ पुल तथा ग्रामीण क्षेत्रमा तालतलैयामा पौडी खेल्नेको भीड लाग्न थालेको छ । शीतल खोज्दै चौतारी र रूखका फेदमा जम्मा भएर सर्वसाधारण गफिएका छन् । त्यसैगरी हेटौंडा सामुदायिक विद्यालय पाँच

दिनका लागि बन्द गरिएको छ । हेटौंडामा तीन दिनदेखि ४० डिग्री सेल्सियस हाराहारी तापक्रम मापन भएको छ । हेटौंडा उपमहानगरले आइतबार सूचना जारी गरी असार २ गते सोमबारदेखि असार ६ गते शुक्रबारसम्म विद्यालय बन्द गर्न निर्देशन दिएको हो ।


‘विद्यार्थी बिरामी हुने क्रम बढेपछि विभिन्न विद्यालयबाट आएको अनुरोधलाई मध्यनजर गर्दै पाँच दिनका लागि बन्द गर्न पत्राचार गरेका छौं,’ शिक्षा विकास महाशाखाकी शाखा अधिकृत सरस्वती कोइरालाले वर्षे बिदामा कटौती हुने गरी बिदा दिइएको बताइन् । ‘भूकम्पपछि पुनर्निर्माण भएका विद्यालयमा जस्तापाता तात्ने र विद्यार्थी बेहोस हुने क्रम बढेपछि बाध्य भएर बन्द गर्ने निर्णय गरेका हौं,’ मेयर हरिबहादुर महतले भने । उपमहानगरभित्र १ सय १५ सामुदायिक विद्यालय छन् ।

प्रकाशित : असार २, २०७६ ०७:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?