सातै प्रदेशका सांसदलाई कुस्त बजेट

प्रदेशहरुको कुल विकास बजेटको ९.०८ प्रतिशत प्रदेश सांसदले खर्च गर्ने भएका छन्
कृष्ण आचार्य, लीलाबल्लभ घिमिरे, अजित तिवारी, सुवास विडारी, लालप्रसाद शर्मा, घनश्याम गौतम, चाँदनी कठायत, अर्जुन साह

काठमाडौँ — अधिकारसम्पन्न स्थानीय तह गठन भए पनि केन्द्रको सिको गर्दै सातै प्रदेशले सांसदको तजबिजीमा खर्च गर्ने गरी बजेट विनियोजन गरेका छन् । सबै प्रदेशहरूले विनियोजन गरेको विकास बजेटको करिब ९ प्रतिशत सांसदको हातबाट खर्च गर्ने गरी रकम छुट्याएका हुन् ।

बजेट प्रस्तुत गर्ने क्रममा आर्थिक मामिला तथा योजनामन्त्रीहरू प्रदेश १ का इन्द्रबहादुर आङबो, प्रदेश २ का विजयकुमार यादव, प्रदेश ३ का कैलाशप्रसाद ढुंगेल, गण्डकीका किरण गुरुङ, प्रदेश ५ मा उक्त मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री शंकर पोखरेल, कर्णालीका प्रकाश ज्वाला, सुदूरपश्चिमका झपटबहादुर बोहरा।

आइतबार सातै प्रदेशहरूले आउँदो आर्थिक वर्षका लागि सार्वजनिक गरेको बजेटमध्ये कुल विकास बजेट १ खर्ब ३० अर्ब ९० करोड २४ लाख ३७ हजार रुपैयाँ हो । यसको ९.०८ प्रतिशत अर्थात् ११ अर्ब ८८ करोड ९० लाख रुपैयाँ प्रदेश सांसदहरूले खर्च गर्ने गरी विनियोजन गरिएको छ ।

गत वर्ष सांसदलाई प्रदेश निर्वाचन क्षेत्रअनुसार बजेट विनियोजन नगरेको गण्डकी प्रदेशले समेत यस पटक प्रदेश सांसदलाई रकम छुट्याएको छ । पछि कार्यविधि बनाएर खर्च गर्ने गरी निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि ७२ करोड रुपैयाँ विनियोजन गरेको छ । यो रकमका आधारमा एक सांसदलाई एक करोड २० लाख रुपैयाँ पर्न जान्छ ।

एक नम्बर प्रदेशले निर्वाचन क्षेत्र र मनोनीत सांसदहरूका लागि छुट्टाछुट्टै शीर्षकमा बजेट विनियोजन गरेको छ । प्रतिनिर्वाचन क्षेत्र २ करोड ५० लाख र अन्य सांसदहरूलाई ५० लाख रुपैयाँका दरले बजेट विनियोजन गरेको छ । यी दुवै कार्यक्रमका लागि प्रदेश १ ले १ अर्ब ८८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

प्रदेश २, ३ र सुदूरपश्चिम प्रदेशले प्रतिसांसद ३ करोड रुपैयाँका दरले बजेट विनियोजन गरेको छ । ५ नम्बर प्रदेशले प्रदेशसभाका सदस्यहरूको सिफारिसमा १० लाखका दरले ६ वटा योजनामा खर्च गर्ने गरी बजेट विनियोजन गरेको छ । यसरी खर्च गर्दा ८७ सांसदहरूमार्फत ५२ करोड २० लाख रुपैयाँ खर्च हुन्छ ।

कर्णाली प्रदेशले भने कार्यक्रमको नाम छुट्टै प्रकृतिको राखेको छ । उसले एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रमका लागि २४ करोड रुपैयाँ विनियोजन गरेको छ ।

त्यस्तै आउँदो चैतसम्मका कार्यक्रम सम्पन्न गर्ने गरी जनता सडक कार्यक्रम भन्दै प्रदेश सांसदले खर्च गर्ने गरी ६३ करोड रुपैयाँ विनियोजन गरेको छ । आउँदो वर्षमा पनि ६३ करोड रुपैयाँ नै खर्च गर्ने गरी यही कार्यक्रमलाई निरन्तरता दिने बजेट वक्तव्यमा उल्लेख छ ।

सबै प्रदेशको २ खर्ब ५९ अर्ब
सबै प्रदेशको कुल बजेट २ खर्ब ५९ अर्ब ६० करोड रुपैयाँको छ । यसमध्ये गत वर्ष जस्तै सबैभन्दा ठूलो बजेट प्रदेश ३ ले ल्याएको छ । ४७ अर्ब ६० करोड ७८ लाख ८६ हजार प्रदेश ३ को कुल बजेट हो । यसमध्ये चालु बजेट २४ अर्ब ४६ करोड ७९ लाख ९० हजार विनियोजन गरेको छ ।

पुँजीगततर्फ २२ अर्ब ८३ करोड ९८ लाख ९६ हजार रुपैयाँ र वित्तीयतर्फ ३० करोड हुने जनाइएको छ । प्रदेश ३ को तुलनामा सुदूरपश्चिमको बजेट भने झन्डै ४१ प्रतिशतले कम आएको छ । उसले २८ अर्ब १६ करोड २० लाख ३५ हजार रुपैयाँको बजेट ल्याएको हो । यसमध्ये १२ अर्ब ५७ करोड २६ लाख ६४ हजार चालु र १३ अर्ब ६ करोड ७१ लाख ९९ हजार पुँजीगत बजेट हुने उल्लेख छ ।

बाँकी २ अर्ब ५२ करोड २१ लाख ७२ हजार रुपैयाँ वित्तीय बजेटतर्फ विनियोजन गरेको छ । अंकका हिसाबले प्रदेश ३ पछि सबैभन्दा ठूलो बजेट प्रदेश १ को हो । प्रदेश १ ले ४२ अर्ब २० करोड रुपैयाँको बजेट ल्याएको छ । यसपछि क्रमशः २, ५, कर्णाली र गण्डकी प्रदेश हुन् । यी प्रदेशहरूको बजेट क्रमशः ३८ अर्ब ७२ करोड ५६ लाख, ३६ अर्ब ४१ करोड ६७ लाख, ३४ अर्ब ३५ करोड ३४ लाख र ३२ अर्ब १३ करोड ४७ लाख रुपैयाँ रहेको छ ।

कर्णाली प्रदेशको परनिर्भरता बढी
३४ अर्ब ३५ करोडको बजेट ल्याएको कर्णाली प्रदेश स्रोतमा भने सबैभन्दा बढी परनिर्भर देखिएको छ । अर्थात् उसको कुल बजेटको शून्य दशमलब ७ प्रतिशत मात्रै आफैंले राजस्व उठाउने गरी बजेट ल्याएको छ । २५ करोड १० लाख ४१ रुपैयाँ आन्तरिक राजस्व उठाउने जनाएको छ ।

७५ करोड रुपैयाँ भने आन्तरिक ऋण उठाउने महत्त्वाकांक्षी लक्ष्य लिएको छ । बाँकी सबै रकम केन्द्रबाट प्राप्त हुने विभिन्न प्रकारका अनुदान, केन्द्र सरकारले दिने राजस्व बाँडफाँटको रकम, प्राकृतिक स्रोतबाट प्राप्त हुने रोयल्टीको रकमबाट आफ्नो लक्ष्यअनुसारको खर्च गर्ने योजना कर्णाली प्रदेशले बनाएको छ ।

स्रोतमा परनिर्भरता बनाउनुपर्ने अर्को प्रदेश सुदूरपश्चिम हो । उसले आफ्नो कुल बजेटको करिब ३ प्रतिशत मात्रै आफ्नै क्षेत्रको राजस्वबाट रकम जुटाउने छ । अर्थात् सुदूरपश्चिमको २८ अर्ब १६ करोड बजेटमध्ये ८२ करोड ६८ लाख १७ हजार रुपैयाँ आफ्नै प्रदेशबाट राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । यस वर्ष करिब ४ अर्ब ७८ करोड ५३ लाख रुपैयाँ बच्ने र बाँकी रकम केन्द्रबाट प्राप्त हुने विभिन्न शीर्षकबाट खर्च धान्ने योजना सुदूरपश्चिम प्रदेशको छ । उसले आन्तरिक ऋण पनि नउठाउने र केन्द्रसँग पनि ऋण नलिने योजना बनाउँदै बजेटल्याएको छ ।

आफ्नो क्षेत्रमा सबैभन्दा धेरै राजस्व उठाउने र तुलनात्मकरूपमा परनिर्भरता कम भएको प्रदेश ३ र २ छ । यी प्रदेशहरूले क्रमशः १५ अर्ब ४९ करोड ४९ लाख रुपैयाँ, १३ अर्ब ५४ करोड ३१ लाख ६९ हजार रुपैयाँ आन्तरिक राजस्व उठाउने भएका छन् ।

४ वटा प्रदेशले ऋण लिने
सातमध्ये ४ वटा प्रदेशले ऋण नै नउठाउने गरी बजेट ल्याएका छन् । आन्तरिक ऋण उठाउन पाउने र केन्द्र सरकारसँग लिन सक्ने दुवै व्यवस्था भए पनि यसलाई उनीहरूले आवश्यक ठानेनन् । प्रदेश १, प्रदेश ३, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशले यी दुवै ऋण नलिने भएका हुन् । बाँकी प्रदेश २, गण्डकी र कर्णाली प्रदेशले भने ऋण लिनेछन् ।

गण्डकी प्रदेशले त आफ्नो क्षेत्रभित्र पनि उठाउने र केन्द्र सरकारसँग पनि ऋण माग गर्ने गरी बजेट ल्याएको छ । ९८ करोड ८३ लाख ९२ हजार रुपैयाँ आफ्नो क्षेत्रभित्र उठाउने र १ अर्ब रुपैयाँ केन्द्र सरकारसँग ऋण माग गर्ने गरी बजेट ल्याएको छ । प्रदेश २ ले १ अर्ब ३० करोड रुपैयाँ आन्तरिक ऋण उठाउने तयारी गरेको छ । कर्णाली प्रदेशले पनि ७५ करोड रुपैयाँ ऋण उठाउने गरी बजेट ल्याएको छ ।

केही सकारात्मक धेरै कनिका छराइ
सातवटै प्रदेशहरूले केही सकारात्मक र धेरै दीर्घकालीन महत्त्व नराख्ने वितरणमुखी प्रकृतिकै कार्यक्रममा बजेट विनियोजन गरेका छन् ।

प्रदेश १– पूर्वाधारदेखिकर्मचारीलाई नगद
प्रदेश १ ले केचनादेखि सगरमाथा आधारशिविरसम्म द्रुत सडक बनाउने दीर्घकालीन महत्त्वको सडकलाई बजेट विनियोजन गरेको छ । त्यस्तै धरान–मूलघाट सुरुङ मार्गको सम्भाव्यता अध्ययन, कृषि र पर्यटन, उद्योग र सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा प्राथमिकता दिने राम्रो योजना छ । गरिबका छोराछोरीलाई एमबीबीएस अध्ययनका लागि बिनाधितो ऋण उपलब्ध गराउने प्रचारमुखी कार्यक्रम पनि ल्याएको छ ।

प्रदेश मातहतका कर्मचारीहरूलाई पर्यटनको विकास गर्न भन्दै वर्षमा ६ दिन बिदा र २५ हजार नगद दिइने वितरणमुखी कार्यक्रम प्रदेश १ को बजेटमा छ । यति मात्रै हैन, मुख्यमन्त्रीका नाममा आधा दर्जन कार्यक्रम ल्याइएको छ । मुख्यमन्त्री, मन्त्री, युवा उद्यमशिलता र मुख्यमन्त्री ग्रामीण सडक सुधार कार्यक्रमका लागि क्रमशः २० करोड र ७४करोड बजेट विनियोजन छ । प्रदेश १ का धेरै योजना एक करोड रुपैयाँ लागतका छन् ।

प्रदेश २– गौरवका आयोजनादेखिबेटी बचाऊसम्म
प्रदेश २ ले यसै वर्ष सुरु गरेको मुख्यमन्त्री बेटी पठाऊ बेटी बचाऊ कार्यक्रमले निरन्तरता पाएको छ । प्रदेशभित्र ‘प्रदेश साझा परिवहन सेवा’ सञ्चालनको कार्यक्रम पनि ल्याएको छ । त्यस्तै पूर्वाधारतर्फ जनकपुर–बर्दिवास औद्योगिक करिडोरको सम्भाव्यता अध्ययन र प्रदेश गौरवका योजना पहिचान र लगानी गर्न प्रदेश २ को महत्त्वपूर्ण कार्यक्रम हो ।

मन्त्रिपरिषद्बाट लगानी भित्र्याउन विभिन्न कर छुटको निर्णय गरेकोमा बजेटमार्फत त्यसलाई अनुमोदन पनि गरेको छ । केन्द्रकै सिको गर्दै वितरणका कार्यक्रम पनि प्रदेश २ का छन् । उसले जनता आवास कार्यक्रम, खेतखेतमा पानी, हातहातमा काम जस्ता योजना ल्याएको छ । एक पालिका एक पोखरी सौन्दर्यीकरण, आपके सरकार, आपके द्वार जस्ता कार्यक्रम पनि ल्याएको छ ।

प्रदेश ३– सन् २०२०/३० भ्रमण दशक
बजेट नै उल्लेख नगरी सन् २०२० देखि २०३० सम्म प्रदेश भ्रमण दशक कार्यक्रम ल्याएको प्रदेश ३ ले धेरै कार्यक्रमहरू ल्याएको छ । बहुप्राविधिक महाविद्यालय स्थापनाका लागि ११ करोड बजेट विनियोजन गरेको छ । ‘छोरी बुहारी छात्रवृत्ति कार्यक्रम’ पनि प्रदेश ३ मा छ । सामुदायिक अस्पतालमा पूर्वाधार विकास गर्न ४१ करोड रुपैयाँ र समुदायिक क्याम्पसहरूको भौतिक सबलीकरण गर्न २३ करोड बजेट विनियोजन गरेको छ । भीमफेदी–कुलेखानी सुरुङ मार्गदेखि प्रदेश चक्रपथ निर्माण कार्यक्रम आएका छन् ।

युवा स्वयंसेवक परिचालनका लागि दुई सय युवालाई व्यावहारिक सैद्धान्तिक तालिम दिई परिचालन गर्ने नीति घोषणा गरेको छ । स्पष्ट कार्यक्रम र कार्ययोजना बिना प्रदेशभित्रका १३ वटै जिल्लामा कम्तीमा एउटा कृषि प्रवर्द्धन कार्यक्रमका लागि ६ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । साथै सर्वसाधारण नागरिकलाई सुसूचित गर्न प्रदेश जागरण अभियान सञ्चालन गर्ने जनाएको छ ।

गण्डकी– दुई वर्षमा साक्षरदेखि कनिका छराइ
केही पर्यटन पूर्वाधारमा जोड दिएको गण्डकी प्रदेशले २ वर्षमा पूर्ण साक्षर प्रदेश गराउने घोषणा गरेको छ । साथै उज्यालो प्रदेश, सबै घरमा खानेपानी र युवा लक्षित धेरै कार्यक्रमहरू ल्याएको छ । तर नीति तथा कार्यक्रमका प्राथमिकता नदिएको, वितरणमुखी, ठूलाभन्दा पनि साना योजना बढी बजेट यो प्रदेशमा छन् ।

प्रदेश ५– धेरै पुराना थोरै नयाँ
प्रदेश ५ ले केही नयाँसहितआफ्नो बजेट ल्याएको छ । चालु वर्षकै मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम निरन्तरता दिएको छ । त्यस्तै यसै वर्षको स्मार्ट कृषि कार्यक्रमले पनि निरन्तरता पाएको छ । कृषिकर्मी रोजगार कार्यक्रम, किसानलाई ब्याजमा अनुदान र उत्पादनमा आधारित मूल्य शृंखला कार्यक्रम प्रदेश ५ को बजेटमा छ । औद्योगिक क्षेत्रका लागि प्रदेश ५ पर्याप्त सम्भावनाको क्षेत्र भए पनि प्राथमिकतामा नपरेको आरोप पनि लागेको छ ।

कर्णाली– धुलोमुक्तदेखि छोरीलाईबैंक खाता
कर्णाली प्रदेशले वीरेन्द्रनगरलाई धुलोमुक्त बनाउनेदेखि छोरीको बैंक खाता खोल्ने कार्यक्रम ल्याएको छ । सुब्बाकुनादेखि बांगेसिमलसम्म साइकल लेन निर्माण गर्ने, बजेट कार्यान्वयन गर्ने आर्थिक वर्षको अवधि ६ महिना थप्ने कर्णाली प्रदेशका योजना छन् ।

त्यस्तै बैंक खाता छोरीको सुरक्षा जीवनभरिको कार्यक्रमका लागि ७ करोड बजेट विनियोजन गरेको छ । ‘हाम्मा मुख्यमन्त्री हाम्मा कुडा’ कार्यक्रममार्फत सरकार र जनताबीच सम्बन्ध जोड्ने भन्दै बजेटमा समावेश गरिएको छ ।

सुदूरपश्चिममा पनि गौरवका आयोजना
कृषिमा जोड दिएको भनेको सुदूरपश्चिम सरकारले धेरै विगतकै कार्यक्रमलाई निरन्तरता दिएको छ । यस वर्ष सुरु गरेका कृषि क्षेत्रको बजेटमा शतप्रतिशत बृद्धि गरेको जनाएको छ । हरेक स्थानीय तहमा ‘नमुना कृषि गाउँ आफैं बनाउँ’ कार्यक्रम ल्याएको छ । सार्वजनिक–निजी साझेदारीमा ३ मेगावाटसम्मको जलविद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ । प्रदेशस्तरका गौरवका सडक पनि छन् । युवाहरूलाई स्वरोजगारमूलक तालिम यो प्रदेशले पनि ल्याएको छ ।

प्रदेश १ः केचना–सगरमाथा आधारशिविर द्रुत सडक । धरान–मूलघाट सुरुङमार्ग, कोसी नदीमा जलयात्रा सम्भाव्यता अध्ययन । कृषि, पर्यटन, उद्योग र सामुदायिक विद्यालयको गुणस्तरमा प्राथमिकता ।

प्रदेश २ः आयआर्जन र पूर्वाधार विकासलाई प्राथमिकता । कृषि तथा गैरकृषि क्षेत्रमा आयआर्जन बढाउने योजना । गरिब, अल्पसंख्यकलाई संरक्षण ।

प्रदेश ३ः औद्योगिकक्षेत्रलाई प्रदेश सरकार मातहत ल्याउने कार्यक्रम । चार वर्षभित्र सबै स्थानीय तहबाट
केन्द्रसम्मै चल्ने सडक ।

गण्डकीः खानेपानी, सिँचाइ र ऊर्जामा पुरानै योजना । प्रशासनिक केन्द्रलाई डेढ अर्ब, पर्यटन गुरुयोजना बन्ने ।

प्रदेश ५ः आन्तरिकराजस्वतर्फ महत्वाकांक्षी लक्ष्य । सीमान्तकृत र लक्षित वर्गको आवास सुविधाका लागि ७५ करोड ।

कर्णालीः सुरुङ मार्ग, द्रुत मार्ग, विद्युत् उत्पादनजस्ता महत्वाकांक्षी योजनादोहोरिएनन् । राजस्वको लक्ष्य आधा घट्यो ।

सुदूरपश्चिमः कृषिलाई उच्च प्राथमिकता । बाजुरा र दार्चुलामा ‘सानै छु म बढ्न देऊ, बालविवाह होइन पढ्न देऊ’ अभियान ।

प्रकाशित : असार २, २०७६ ०७:१५
प्रतिक्रिया
पठाउनुहोस्

उफ् गर्मी

तराईको तापक्रम ४० डिग्रीभन्दा माथि 
विद्यालयहरू बन्द
शिव पुरी, सन्तोष सिंह, लक्ष्मी साह, नवीन पौडेल

रौतहट, धनुषा, बारा, नवलपुर — रौतहटमा केही दिनदेखि तातो हावा चल्न थालेकाले जनजीवन अस्तव्यस्त बनेको छ । बजार सुनसानजस्तै बनेका छन् । गर्मीले व्यापार घटेको व्यवसायीले बताएका छन् ।

गर्मी छल्न ललितपुरको च्यासलस्थित एक स्विमिङ पुलमा आइतबार पौडी खेल्दै युवा । तस्बिर : हेमन्त श्रेष्ठ/कान्तिपुर

‘मानिसहरू बाहिर निस्कन छाडे, गर्मीले समस्या भएको छ,’ उद्योग वाणिज्य संघका अध्यक्ष सुनील जैसवालले भने, ‘चिसो, पेय पदार्थबाहेककोव्यापार घटेको छ ।’ दही, चिसो पेय पदार्थ, खर्बुजा, स्याउ, आइसक्रिमलगायत सामग्रीको बिक्री बढेको जैसवालले सुनाए ।

आइतबार यहाँ ४० डिग्री तापक्रम मापन भएको थियो । गर्मीले विद्यार्थी कम आउन थालेपछि चन्द्रपुर नगरपालिकाले ६ गतेसम्मका लागि बिदा दिएको छ । नगरपालिकाका शिक्षा शाखा अधिकृत दीपेन्द्र मण्डलले अत्यधिक गर्मी बढेकाले बिदा दिइएको बताए । असार लाग्दासम्म बीउ राख्न नपाएपछि किसान बोरिङको पानीको भर पर्न थालेका छन् ।

सिँचाइ सुविधा नभएका धेरैजसोको खेतमा बीउ राखिएको छैन । चन्द्रपुर– ५ का मोहम्मद इस्माइल ३ दिनदेखि ठेला थन्क्याएर बसेका छन् । पाइडलले चलाउनुपर्ने भएकाले गर्मीमा निकाल्न नसकेको उनले सुनाए । ‘दिनमा एक हजारसम्म कमाइ हुन्थ्यो,’ उनले भने, ‘अहिले त्यत्तिकै बस्नुपरेको छ ।’

एक दर्जन ठेला मजदुरको अवस्था इस्माइलको जस्तै छ । चोकका धेरै ठाउँमा वरपीपलका रूख थिए । गर्मीमा त्यही रूखमुनि ठेला, रिक्सा र ई–रिक्सा चालक आराम गर्थे तर अहिले नगरपालिकाले ती सबै काटेर ठुटे बनाएको छ ।

प्रमुख जिल्ला अधिकारी किरण थापाले गर्मीले जनजीवन प्रभावित बनेको बताए । ‘गर्मी धेरै बढेको छ, यसले सबैलाई समस्या पारेको छ,’ उनले भने । गर्मीमा छाला ढाक्ने कपडा लगाउन र घाममा हिँड्दा केही समयको अन्तरालमा शीतलपानीले हातमुख धुन चिकित्सकले सुझाएका छन् ।

जनकपुरमा कलबाट मोटरले पानी तान्न छोडेको छ । कल र इनारमा पानी सुकेको छ । अत्यधिक गर्मीका कारण बजार, शैक्षिक संस्था र सरकारी कार्यालयमा कामकाज प्रभावित भएको छ । जनकपुर विमानस्थलस्थित जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालयका वरिष्ठ अधिकृत महेन्द्र ठाकुरका अनुसार जनकपुरमा आइतबार ३९ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ ।
गर्मी छल्न निजी तथा सामुदायिक विद्यालयले बिहानी सत्रमा पठनपाठन सञ्चालन गरेका छन् ।

विद्यालयबाट फर्किने समय चर्को गर्मी हुने भएकाले बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्न थालेको छ । खानेपानी अभाव सुरु भएको छ । जनकपुर र अधिकांश ग्रामीण भेगमा पानीको मुहान, चापाकल, इनार सुकेका छन् । चार सय फिट खनेर जडान गरिएकाह्यान्डपाइपमा पनि बिहान अलिअलि पानी आउने र घाम उदाएपछि सुक्ने गरेको छ । पानीको मुख्य स्रोत हातेकल सुक्न थालेपछि स्थानीय बाल्टी र बोतल लिई भौंतारिएको दृश्य सामान्य बन्न थालेको छ ।

धनुषाको उत्तरी भेगमा यसअघि पनि पानीको समस्या देखिए पनि जनकपुर नगर क्षेत्र तथा जिल्लाको पूर्वी र दक्षिणी भेगमा यस्तो समस्या बिरलै देखिन्थ्यो । ‘हाम्रो पालामा ४० फिटमा पिउनयोग्य पानी पाइन्थ्यो, अहिले १ सय फिट गाड्दा पनि आउँदैन’, जनकपुरका विजय साहले भने, ‘पानी आइहाले पनि केही दिनमै सुकेर जान्छ ।’ पानी अभाव हुनुमा चुरे विनाश मुख्य कारण रहेको साह बताउँछन् । ‘गाईभैंसी पाल्न पनि मुस्किल पर्न थालिसकेको छ’, उनले भने, ‘चुरे जंगल जोगाउन नसके तराईमधेस मरुभूमिमा परिणत हुन्छ ।’

धनुषा तथा महोत्तरीको उत्तरी क्षेत्रका दर्जनभन्दा बढी गाउँका बासिन्दा खानेपानीको चर्को मारमा छन् । महोत्तरीका गौशाला, बर्दिबास, खयरमारा, बाहुनमारा, टुटेश्वर, हाथिलेट, धनुषाका बटेश्वर, तुल्सी, लालगढ, लवटोली, ढल्केवर, कुसुमविसौना, चित्रपुर, गोदार, धारापानीलगायत गाउँमा पनि पानीको अभाव देखिएको छ ।

जनकपुर अञ्चल अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.नागेन्द्रप्रसाद यादवका अनुसार गर्मी बढेसँगै अस्पतालमा बिरामीको चाप दोब्बर भएको छ । सामान्य अवस्थामा दैनिक करिब साढे तीन सय बिरामी आउने गरेकोमा अहिले करिब ६ सय आउन थालेका छन् ।

जीवन अस्तव्यस्त
बारामा सातायताको तापक्रम ४० देखि ४२ डिग्री सेल्सियसबीचमा छ । वृद्धवृद्धा, बालबालिका, सुत्केरी, विपन्न, मजदुरका लागि गर्मी ‘काल’ झैं बनेको सर्वसाधारणले दुःखेसो पोखिरहेका छन् । गर्मी छल्न गाउँघरमा चौतारो, छहारीनजिक सर्वसाधारणको भीड लागिरहेको छ । कतिपय चौताराका रूख सडक विस्तारक्रममा काटिएपछि गर्मी छल्न समस्या भइरहेको पचरौता नगरपालिकाको लंगडा चोकका सुखल हजरा पासवाले बताए ।

‘लंगडा चोकमा सयौं वर्ष पुरानो वरको रूख ५ कट्ठाजति जग्गामा फैलिएको थियो । सँगै चौतारो पनि भएकाले यस्तो गर्मीमा धेरै राहत हुन्थ्यो । यस वर्ष नगरपालिकाले यसलाई काटिदियो ।’ थुपै ठाउँमा यस्तो समस्या देखिएको उनले बताए । धेरैजसो विद्यालयको छाना जस्तापाता र अबलेस्टरलगायतले छाएकाले विद्यार्थी कक्षामा आउन छाडेको कलैया– ६ का गौरीशंकर जैसवालले बताए । अस्पतालमा ज्वरोका बिरामी थेगिनसक्नु छ ।

चैतदेखि टेन्टमा बस्दै आएका हुरीपीडितको जनजीवन झन् कष्टकर बनेको छ । ‘टेन्टको तापले जीउ पोलिरहेको छ,’ फेटा गाउँपालिका–६, पुरैनियाका समसुल अन्सारीले भने, ‘एक त हुरीले बिजोग बनायो, टेन्टले गर्मी झन् सहन नसकेर मन उथलपुथल भएको छ ।’ खोलाखोल्सीमा पानी सुकेकोले चौपायालाई पानी खान समस्या भएको छ ।

धेरै ठाउँमा चापाकलको पानीसमेत सुकेपछि दैनिकी धान्न कठिन भइरहेको सर्वसाधारणले बताएका छन् । सिम्रौनगढ क्षेत्रमा यो समस्या बढी छ । सदरमुकाम कलैयामासमेत धेरैजसो चापाकलको पानी सुकेको छ । ‘धेरै वर्षपछि यस्तो गर्मी महसुस भइरहेको छ,’ कलैया–५ का ६५ वर्षीय षडानन्द पराजुलीले भने, ‘यसपालिको गर्मी अनौठो खालको छ ।’

कलैया अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट प्रेमशंकरप्रसाद चौरसियाले गर्मीले बिरामीको चाप बढेको बताए । अत्यधिक गर्मीले चिसो पेय पदार्थ, दही, लस्सी, खरबुजा, बरफी कुलको बिक्री बढेको छ । चिकित्सकले गर्मीबाट जोगिन मसालेदार र छिट्टो नपच्नेखानेकुरा नखान सुझाएका छन् ।

विद्यालय बन्द
पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिकाले अत्यधिक गर्मी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने गरेको छ । आइतबार नगरपालिकाले विज्ञप्ति जारी गरेर बढ्दो गर्मीले जनजीवन प्रभावित बनेको भन्दै असार २, ३ र ४ गते नगरभित्रका सबै शैक्षिक संस्था बन्द गर्न भनेको हो । बालबालिका विद्यालयमै बिरामी पर्न थालेकाले बन्द गरिएको नगरपालिकाले जनाएको छ ।

मध्यविन्दु नगरपालिकाले पनि ३ दिन विद्यालय बिदा गरेको छ । शिक्षा शाखा प्रमुख उपसचिव देवीराम अर्यालले हिउँदे बिदाबाट काट्ने गरी बिदा दिइएको जनाए । कावासोती, दलदले, रजहर, गैंडाकोटलगायत व्यस्त बजार दिउँसोको समयमा सुनसानजस्तै बन्न थालेका छन् । सरकारी कार्यालयमा सेवाग्राहीको चाप घटेको छ ।

नवलपुर क्षेत्रको तापक्रम ३५ देखि ३८ डिग्री हाराहारी मापन गरिएको छ । अधिक गर्मीका कारण अस्पतालमा छाला, झाडापखाला र आँखाका रोगी बढेका छन् । दैनिक ५० देखि ६० जना उपचारका लागि आउने जिल्ला अस्पताल मध्यविन्दु कावासोतीमा एक्कासि बिरामी बढेका छन् ।

बजार क्षेत्रमा विभिन्न होटल तथा रिसोर्टमा रहेको स्विमिङ पुल तथा ग्रामीण क्षेत्रमा तालतलैयामा पौडी खेल्नेको भीड लाग्न थालेको छ । शीतल खोज्दै चौतारी र रूखका फेदमा जम्मा भएर सर्वसाधारण गफिएका छन् । त्यसैगरी हेटौंडा सामुदायिक विद्यालय पाँच
दिनका लागि बन्द गरिएको छ । हेटौंडामा तीनदिनदेखि ४० डिग्री सेल्सियस हाराहारी तापक्रम मापन भएको छ । हेटौंडा उपमहानगरले आइतबार सूचनाजारी गरी असार २ गते सोमबारदेखि असार ६ गते शुक्रबारसम्म विद्यालय बन्द गर्न निर्देशन दिएको हो ।

‘विद्यार्थीबिरामी हुने क्रम बढेपछि विभिन्न विद्यालयबाटआएको अनुरोधलाई मध्यनजर गर्दै पाँच दिनका लागिबन्द गर्न पत्राचार गरेका छौं,’ शिक्षा विकास महाशाखाकी शाखा अधिकृत सरस्वती कोइरालाले वर्षे बिदामा कटौती हुने गरी बिदा दिइएकोबताइन् । ‘भूकम्पपछि पुनर्निर्माण भएका विद्यालयमा जस्तापाता तात्ने र विद्यार्थी बेहोस हुने क्रम बढेपछिबाध्य भएर बन्द गर्ने निर्णय गरेका हौं,’ मेयर हरिबहादुर महतले भने । उपमहानगरभित्र १ सय १५ सामुदायिक विद्यालय छन् ।

प्रकाशित : असार २, २०७६ ०७:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्