कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

जनकपुरका महन्त आन्दोलित

श्यामसुन्दर शशि

जनकपुर — गुठी विधेयक फिर्ता लिनुपर्ने मागसहित जनकपुरका सन्त–महन्त आइतबार प्रदर्शनमा उत्रिएका छन् । जनकपुरस्थित रंगभूमि मैदानको तुलसी स्मारकबाट र्‍याली निकालेका उनीहरूले नगरपरिक्रमा गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाए । 

रामानन्दीय वैष्णव संघका कार्यवाहक अध्यक्ष रामभजन दास वैष्णव नेतृत्वको जुलुसमा जानकी मन्दिरका छोटे महन्त रामरोशन दास, सुन्दर सदनका महन्त नवलकिशोर शरणलगायत अधिकांश गुठी, राजगुठी तथा निजी गुठीका महन्त सहभागी थिए । ज्ञापनपत्रमा प्रस्तावित विधेयक फिर्ता लिन माग गरिएको छ ।


यहाँ गुठी संस्थानको पूर्ण स्वामित्वका राममन्दिर, रत्नसागर मठजस्ता राजगुठी, आंशिक स्वामित्वको जानकी मन्दिरजस्ता छुट गुठी र स्वतन्त्र रूपमा गुरु–शिष्य परम्पराअनुसार सञ्चालित निजी गुठी छन् ।


२०३३ सालको कानुनले जानकी मन्दिर, रत्नसागर मठलगायतलाई गुठी संस्थानअन्तर्गत ल्याएको थियो । गुठी अधीनस्थ मठमन्दिरजस्तै छुट गुठीका महन्तको नियुक्ति पनि संस्थानले गर्दै आएको छ । निजी गुठीमा भने गुरु–शिष्य परम्पराअनुसार महन्त नियुक्त हुन्छन् ।


सुन्दर सदनका महन्त नवलकिशोर शरणले पूर्वमहन्तहरूले पुस्तैनी रूपमा आर्जन गरेको श्रीसम्पत्ति, पूजापाठ, धर्मव्यवहारमाथि हस्तक्षेप गर्न खोजिएको आरोप लगाए । ‘निजी गुठीको जग्गा वा मठमन्दिर निर्माणमा सरकारको के योगदान छ ? हाम्रा पुर्खाले आर्जेको श्रीसम्पत्ति, पूजाअर्चना तथा धर्म व्यवहारमाथिको आक्रमण सह्य हुँदैन । कडा आन्दोलनमा जान्छौं,’ उनले भने ।


जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले विधेयक फिर्ता नलिए मठमन्दिर बन्द गर्ने चेतावनी दिएका छन् । उनले भने, ‘गुठी विधेयकले महन्तलाई गुलाम बनाउन खोजेको छ । सनातन धर्मसंस्कृतिमाथि प्रहार गरेको छ । यो फिर्ता लिनुपर्छ ।’

प्रकाशित : असार २, २०७६ ०७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?