१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

गुठी विधेयकको आन्दोलनप्रति कांग्रेसको ऐक्यबद्धता

काठमाडौँ — गुठी विधेयकको विरोधमा गुठियाराले चलाएको आन्दोलनप्रति ऐक्यबद्धता जनाउॅदै प्रमुख प्रतिपक्षी कांग्रेसले आइतबार सडकमा विरोध प्रदर्शन गरेको छ । 

गुठी विधेयकको आन्दोलनप्रति कांग्रेसको ऐक्यबद्धता

सरकारद्वारा प्रस्तुत गुठी विधेयकले मुलुकको परम्परा, धर्म, संस्कृति र सभ्यतामाथि प्रहार गरेको निष्कर्ष निकाल्दै कांग्रेसले सदन र सडक संघर्षलाई सँगै अघि बढाउने उद्घोष गरेको हो ।


कांग्रेसको काठमाडौं महानगर कार्यसमितिले आयोजना गरेको विरोधसभामा पूर्वमहामन्त्री प्रकाशमान सिंहले विधेयक फिर्ता नलिए सरकारको दिनगन्ती सुरु हुने चेतावनी दिए ।


‘पशुपतिनाथ चलाउन खोज्दा पुष्पकमल दाहाल र कुमारीजात्रालाई चलाउन खोज्दा बाबुराम भट्टराईको हालत के भयो ? र्‍यालीपछि आयोजित विरोधसभालाई सम्बोधन गर्दै सिंहले भने, ‘गुठीलाई कुदृष्टि लगाउनेहरूको कहिल्यै भलो भएको छैन । अब ओलीको पनि दिनगन्ती सुरु भएको छ ।’


सिंहले अहिलेको विधेयकले सामाजिक सहिष्णुतालाई बिथोल्ने भन्दै सरकारलाई तत्काल विधेयक फिर्ता लिन आग्रह गरे । राजधानीका जनतालाई सामन्तीको संज्ञा दिइएको भन्दै सिंहले आपत्तिसमेत जनाए । ‘काठमाडौंवासीले विकसित गरेको संस्कृति, परम्पराले नै नेपाललाई विश्वमा चिनाएको छ,’ उनले भने, ‘धर्म, संस्कृति र पम्पराको विरोधमा रहेको यो विधेयक फिर्ता नलिए कांग्रेसले सडक र सदनबाट संघर्ष सुरु गर्छ ।’ उनले राजधानीवासीलाई विरोधमा उत्रन आहवानसमेत गरे ।


विरोधसभामा सहभागी केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले गुठियाराको आन्दोलनलाई ऐक्यबद्धता जनाउनका लागि विरोधसभा सुरु भएको बताए । ‘गुठी विधेयकको विरोधमा कांग्रेस सडक र सदनमा संघर्षरत रहन्छ, कांग्रेसको विरोध गुठियारसँगै हुनेछ भन्ने मुख्य सन्देश हो,’ जोशीले कान्तिपुरसँग भने, ‘सरकारले तत्काल फिर्ता नलिए कांग्रेसले सशक्त विरोधका कार्यक्रम सुरु गर्छ ।’


विरोधसभामा कांग्रेस केन्द्रीय सदस्य गगन थापा, भीमसेनदास प्रधान, ध्यानगोविन्द रन्जित, सांसद राजन केसी, काठमाडौं कांग्रेसका सभापति सबुज बानियाॅ, काठमाडौं महानगरपालिकाको मेयरमा कांग्रेसका तर्फबाट उम्मेदवार रहेका राजुराज जोशीलगायतले गुठी विधेयकको विरोधमा कांग्रेसले सडक र सदन संघर्ष अघि बढाउने बताएका थिए । त्यसअघि वसन्तपुरबाट सुरु भएको र्‍याली, लगनखेल, नरदेवी, असन हुँदै इन्द्रचोकमा पुगेर विरोधसभामा परिणत भएको थियो ।

प्रकाशित : असार २, २०७६ ०७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?