कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

सिपिङ कम्पनीको मनोमानी असुली

भूषण यादव

वीरगन्ज — तेस्रो मुलुकबाट नेपालका लागि कन्टेनर ढुवानी गर्दै आएका सिपिङ कम्पनीले मनोमानी शुल्क लिएको पाइएको छ । कन्टेनर लोड भएको बन्दरगाहदेखि वीरगन्जको सिर्सिया सुक्खा बन्दरगाहसम्म ल्याएको शुल्क लिँदै आएका उनीहरूले मंगलबारदेखि थप शुल्क लिन थालेका हुन् ।

सिर्सिया बन्दरगाहमा रेलवे र्‍याकबाट अनलोड भई बाहिर निस्किने क्रममा सिपिङ कम्पनीका प्रतिनिधिले प्रतिकन्टेनर ५ सयदेखि ४ हजार पाँच सय रुपैयाँसम्म लिने गरेका छन् । एमएससी सिपिङ कम्पनीको एचआर लजिस्टिक प्रालिले चार हजार पाँच सय रुपैयाँ लिएको भन्सार एजेन्टको भनाइ छ । यसैगरी मर्स्क सिपिङ कम्पनीले २० फिटे कन्टेनरका लागि ५ सय रुपैयाँ र ४० फिटे कन्टेनरका लागि ७ सय ५० रुपैयाँ असुलेको छ ।


१३ प्रतिशत सेवा शुल्कसमेत लिएका छन् । सिर्सिया बन्दगरगाहमा मासिक करिब ४ हजार कन्टेनर आउने गरेको बन्दरगाह व्यवस्थापनको जिम्मा लिएको हिमालयन टर्मिनल (एचटीपीएल)ले बताएको छ । आयातित कन्टेनर व्यवस्थापनका लागि एचटीपीएलले समेत चार्ज लिने गरेको छ । सरोकारवाला निकायको निगरानी नहुँदा सिपिङ कम्पनीका प्रतिनिधिले मनोमानी शुल्क असुलेको भन्सार एजेन्ट तथा आयातकर्ताको गुनासो छ ।


आयातित कन्टेनरको सुरक्षा, सरसफाइ र मर्मतका लागि शुल्क लिइएको मर्स्कले जनाएको छ । यसरी लिइएको अतिरिक्त शुल्कको बिल भने ढुवानी कम्पनीको नाम दिएको व्यवसायीले जनाएका छन् । ‘मर्स्कका प्रतिनिधिले मंगलबार दुईवटा २० फिटे कन्टेनरको १३ प्रतिशत सेवा शुल्कसहित १ हजार १ सय ३० रुपैयाँ असुलेको छ,’ एक व्यवसायीले भने, ‘बिल भने सुसु सिपिङ एन्ड ट्रान्सपोर्ट प्रालिको दिएका छन् ।’


यसअघि तेस्रो मुलुकको बन्दरगाहबाट सिपिङ कम्पनीले कन्टेनर लोड गरी वीरगन्ज बन्दरगाहसम्म ल्याउँदाको शुल्क मात्र दाखिला गर्दै आएको व्यवसायीको भनाइ छ । ‘कन्टेनर लोडिङ, भारतीय बन्दरगहको टर्मिनल ह्यान्डलिङ चार्जसहितको रकम सिपिङ कम्पनीको अनलाइन खातामा जम्मा गरेकै थियौँ,’ नाम उल्लेख नगर्ने सर्तमा ती व्यवसायीले भने, ‘सरोकारवाला निकायले चासो नलिँदा अहिले मनपरी शुल्क लिन थालेका छन् ।’


सीआईएफ वीरगन्ज सुक्खा बन्दरगाह हुँदा पनि सिपिङ कम्पनीले नेपाली आयातकर्तासँग भारतको कोलकाता र विशाखापट्टनम बन्दगाहमा लाग्ने टर्मिनल ह्यान्डलिङ चार्जसमेत लिँदै आएका छन् । चीनको सांघाई बन्दरगाहबाट नेपालका लागि ४० फिटे कन्टेनर ढुवानी गर्दा मर्स्कले २ हजार चार सय ५० अमेरिकी डलर शुल्क लिन्छ ।


वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले अतिरिक्त शुल्क असुली गलत भएको बताए । ‘यसको हामी विरोध गर्छौं,’ उनले भने, ‘मर्स्कको प्रमुख कार्यालयमा समेत यसबारे जानकारी गराएका छौँ ।’

प्रकाशित : असार २, २०७६ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?