१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

‘प्रधानमन्त्रीज्यू एक्लै हिँडेर कहीँ पुगिन्न’

‘तपाईंलाई लाग्दो होला आफ्नो टिम नै पूर्ण हो, त्यसले गरेको सबै सत्य हो । तर सत्य तपाईंको टिमभन्दा बाहिर पनि छ’ 
'गुठी विधेयक तत्काल स्थगन होइन फिर्ता नै गर्नुपर्छ'
दुर्गा खनाल

काठमाडौँ — सत्तारुढ दल नेकपाभित्र शीर्ष नेताहरुको मनलाग्दीविरुद्ध बेला बेलामा विद्रोही आवाज निकाल्ने नेता मध्ये पर्छिन् सांसद रामकुमारी झाँक्री । पछिल्लो समय उनले फेसबुक र टुइटरमार्फत् नेताहरुमाथि कडा टिप्प्णी र समसामयिक विषयमा आफने खरो अभिव्यक्ति सार्वजनिक गरिरहेकी छन् । पार्टीभित्र संवादहीनताको अवस्था बढेपछि बाध्य भएर सामाजिक सञ्जालबाट आफ्नो धारणा बाहिर ल्याउनुपर्ने अवस्थामा पुगेको उनी बताउँछिन् ।

‘प्रधानमन्त्रीज्यू एक्लै हिँडेर कहीँ पुगिन्न’

आइतबार प्रधानमन्त्री केपी शर्मा ओली युरोपबाट फर्के लगत्तै उनले विवादित गुठी विधेयक फिर्ता गर्न टुइटबाटै सरकालाई आग्रह गरिन् । खासमा अहिले नेकपाभित्र संवादको अवस्था कस्तो छ त ? उनले आफ्नो अनुभव यसरी सुनाइन् ।


एक पछि अर्को गर्दै टुईट वा फेसबुकबाट बोलिरहनुभएको छ । पार्टीभित्र बोल्ने फोरम छैनन् कि के हो ?

केन्द्रीय सदस्य र पार्टी अध्यक्षहरुबीच संवादको अवस्था रहेन । संसदीय दलको सदस्य र दलको नेताको रुपमा पनि संवाद रहेन । त्यसैले आफ्नो कुरा राख्न टुइटर फेसबुक प्रयोग गरेको हो । प्रधानमन्त्री धेरै लोकतान्त्रिक अभ्यास गरेको मुलुकको भ्रमण गरेर हिजो आउनुभएको छ । एउटा देशले एक्लै विकास गर्न सक्दैन भन्ने उदाहरण युरोपमा देखिन्छ । थुप्रै देश मिलेर एउटा युनियनको माध्यमबाट एउटाले अर्कोलाई सहयोग गरेर सँगसँगै मिलेर विकास गर्नुपर्छ भनेर युरोपियन मुलुकहरु साझेदार भएर विकास गरे ।

त्यसैले त्यहाँको विकास, बैभव देखेर आएपछि सायद हाम्रो प्रधानमन्त्री तथा पार्टी अध्यक्षलाई लाग्ला कि एक्लै हिँडेर कहीँ पुगिदैँन । एउटा घर बनाउन ढुंगा–माटो, इटा–बालुवा, टुक्रा–टाक्री पनि चाहिन्छ । त्यसैगरी पार्टीका हरेक साना–साना तत्वहरु पनि पार्टी निर्माण र राष्ट्र निर्माणमा, सरकार सञ्चालनमा जरुरी छन् भन्ने अनुभुत गर्नु भयो होला कि भनेर उहाँलाई स्मरण गराउन खोजेको हो ।


अहिले पार्टीमा कुनै पनि विषयमा केही छलफल र संवाद हुँदैन ?

खासै छैन । प्रधानमन्त्रीलाई संसदको अघिल्लाे लहर, अखबार, मिडियामा बाहेक देख्दिन, भेट्दिन ।

पछिल्लो समयमा संसदमा विभिन्न विधेयकहरु आए । सडकमा आन्दोलनको अवस्था समेत निम्तिएको छ । यो त्यही संवादहीनताको परिणाम हो ?

उहाँहरुले छलफल, संवाद समन्वय न पार्टीभित्र गर्नुभएको छ न संसदीय दलमा । कुनै पनि विषयमा सरोकारवालासँग बस्नु भएको छैन । कुनै विधेयक आउँदै छ भने त्यसबारे दलभित्र पनि छलफल गर्दा राम्रो हुन्थ्यो । कुनै कुरा विवाद भए भने संशोधन हालेर भए पनि यसरी मिलाउँछौ भनेर सरोकारावालाई आश्वस्त पार्न सकिन्थ्यो ।

कानुनहरु गुपचुप ढंगले ड्राफ्ट हुने, ल्याउने, दर्ता गर्ने र हतार–हतारमा संसदमा लैजाने गरिन्छ । त्यही शैलीले गर्दा सबै समस्या आएका हुन् । प्रधानमन्त्रीलाई लाग्दो होला प्रधानमन्त्री वा सरकारसँग भएको औपचारिक टिम नै पूर्ण छ । यसले बोलेपछि सबै थोक पूर्ण हुन्छ । सबै जानकार यही टिममा छन् । तर सत्य त्यो भन्दा बाहिर पनि छ । बाहिर भएको सत्यलाई स्वीकार नगरेको कारणले पनि यस्तो अवस्था आएको हो ।

संसदमा प्रमुख प्रतिपक्षले सरकारमाथि प्रहार गर्दा त्यसको प्रतिरक्षा गर्नु हाम्रो कर्तव्य हो । तर प्रतिरक्षा गर्न भएका निर्णयहरुमा हाम्रो पनि स्वामित्व हुनुपर्छ । स्वामित्व भयो भने गहिराईबाट प्रतिरक्षा गर्न सकिन्छ । गहिराईमा नपुगी गरेका प्रतिरक्षाहरु नक्कली जस्ता हुन्छन् ।

त्यसो भए सत्तापक्षले गरेको कामको स्वामित्व नहुने भएपछि संसदमा अहिले प्रतिपक्षले जे बोल्छ तपाईहरु पनि त्यस्तै बोल्नुपर्ने बाध्यतामा हुनुहुन्छ ?

निर्णयको स्वामित्व लिन नसक्ने अवस्थामा हामी आफै पनि प्रतिपक्षको जस्तो भाषा बोल्नुपर्ने अवस्थमा पुग्छौं । यस्तो अवस्था हामीलाई नै पनि राम्रो लाग्दैन । तर कुनै विषयहरु यसरी आउँछन्, त्यसको समर्थन गर्न चाहेर पनि सकिदैँन । हाम्रो कुरा सुनिदैँन ।

पछिल्लो समय गुठी विधेयकको व्यापक विरोध भइरहेको छ, तपाईले पहिले एकपटक भूमि सम्बन्धी विधेयक आउँदा सैद्धान्तिक रुपमै असहमति राख्नु भएको थियो । गुठी विधेयकको समस्या कसरी समाधान गर्ने ?

भूमि सम्बन्धी संशोधन विधेयक आउँदा मैले सैद्धान्तिक असहमति राखेको हो । अहिलेको भूमि सम्बन्धी नीति अबको हाम्रो राजनीतिक यात्रा कतातर्फ प्रस्थान हुँदैछ त्यससँग सरोकार रहन्छ । त्यसैले यसलाई एकजना मन्त्री वा कर्मचारीको तहबाट मात्र ल्याउनुहुँदैन । व्यापक छलफल हुनुपर्छ भनेकी थिए ।

अहिले फेरि भूमिसँग पनि सरोकार राख्ने खालको अर्को गुठी विधेयक राष्ट्रिय सभामा आएको छ । यो विधेयकले हरेक ठाउँ अनुसार गुठीको प्रकृति फरक छ भन्ने स्वीकारेको छैन । फरक–फरक खालका गुठीहरुलाई यो विधेयकले सम्बोधन गर्दैन । काठमाडौका गुठीहरुको एउटा प्रकृति हो भने दाङ, मटिहानी तराई क्षेत्रमा भएका गुठीहरुको प्रकृति फरक छ ।

काठमाडौंका गुठी, धर्म, संस्कृतिसँग बढी जोडिएका छन् । स्वर्गद्वारी लगायतका गुठीहरु जमिनसँग बढी सरोकार राख्छन् । जमिनसँग जोडिने कुरामा पनि जोताहाले जमिन पाउनुपर्छ भन्ने कुरा लोकप्रिय छ । तर जोताहालाई जमिन दिने कुरा आजको समाज व्यवस्थामा वैज्ञानिक हो कि होइन ? यो पनि हेर्नुपर्छ ।

मान्छेलाई आवासको हक दिने हो, काम गर्ने ठाउँ उपलब्ध गराउने हो । परम्परागत कृषिमा आश्रित हुँदा जमिन मुख्य प्राथमिकता थियो । तर अहिले पुँजीवादी बजार व्यवस्थामा उत्पादनका लागि जमिन मात्रै हो भन्ने पनि होइन । त्यसैले जमिन बाड्ने कुरा पनि पुरानो नारा हो । त्यसैले जमिनसँग जोडिएको विषयलाई पनि फरक ढंगले बहस गर्नु आवश्यक छ ।

धनकुटा, खोटाड, सिन्धुापाल्तोक, धादिङ, गुल्मीलगायतका क्षेत्रमा गुठीहरु समान्तवादको प्रतिकको रुपमा उब्जेका पनि छन् । कुनै एउटा मठाधीश, महन्थले त्यस्तो गुठी बनाएका थिए । अहिले त्यस्ता महन्थहरु छैनन् । तर जमिन चाँही छन् । भने मोहीले लिन चाहे उनीहरुलाई दिन पनि सकिन्छ ।

गुठी समस्या कसरी समाधान गर्ने त?

सांस्कृतिक परम्परासँग जोडिएका निजी गुठीलाई संस्कृति मन्त्रालयतर्फ राख्नुपर्छ । निजी गुठीहरु प्राधिकरण मातहत आउनेछन् भन्ने हालको विधेयकको व्यवस्थाले काठमाडौंको संस्कृति, परम्परा, सम्पदा र यहाँका मानिसको भावनामाथि प्रहार भएको छ । त्यसैले यो विधेयक तत्काल स्थगन होइन फिर्ता नै गर्नुपर्छ । अहिले स्थगन गरेर काठामाडौंबासी चुपचाप लागेको बेला फेरि ल्याउने सोचाई राख्नुहुँदैन ।

यसलाई फिर्ता नै गरेर भूमिसँग जोडिएका र सस्कृति सम्पदासँग जोडिएको गुठी छुट्याउनुपर्छ । फरक–फरक रुपमा सम्बोधन गर्नुपर्छ । विज्ञहरुको समूह बनाएर अध्ययन गरेर पनि समाधान गर्न सकिन्छ ।

प्रकाशित : असार २, २०७६ १२:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?