कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

त्रिवि आयोगका पदाधिकारीलाई कार्यालय प्रवेशमा रोक

सुदीप कैनी

काठमाडौँ — त्रिभुवन विश्वविद्यालय सेवा आयोग कार्यालयमा ३० दिनदेखि अनशनरत विद्यार्थीले सोमबारबाट आयोगका पदाधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाएका छन् ।

त्रिवि आयोगका पदाधिकारीलाई कार्यालय प्रवेशमा रोक

किर्तिपुरस्थित आयोग कार्यालयको मुलगेटमा तालाबन्दी गरेर विद्यार्थीले पदाधिकारीलाई प्रवेशमा रोक लगाएका हुन् । मोहन वैद्य निकट अखिल क्रान्तिकारीको तालाबन्दीको कारण आयोगका पदाधिकारी र कर्मचारीहरु कार्यालय प्रवेश गर्न पाएका छैनन् । आयोगका अध्यक्ष चैतन्य शर्मा, सदस्य चिन्तामणि पोखरेल र सदस्य सचिव परशुराम कोइरालालाई कार्यालय प्रवेशमा रोक लगाइएको क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले जानकारी दिए ।


‘३० दिनसम्म अनशन बस्दा मागहरुको कुनै सुनाइ भएन ।, आन्दोलनको स्वरुपअनुसार पदाधिकारी प्रवेशमा रोक लगाएका हौं,’ उनले भने । ३० दिनदेखि क्रान्तिकारीका विद्यार्थी आयोग कार्यालय परिसरमा रिले अनशन बसेका थिए । उनीहरुको अनशनमा शिक्षाविद् र विभिन्न विद्यार्थी संगठनका नेताहरुले ऐक्यवद्धता छ ।


सेवा आयोगले अनियमित तरिकाले लिएको परीक्षा रद्दको माग गर्दै विद्यार्थीहरु आन्दोलित बनेका हुन् । अध्यक्ष शर्मा, सदस्य पोखरेल र सदस्य सचिव कोइरालाले सेटिङ मिलाएर नातेदार, पहुँचवाला नेता, त्रिविका पदाधिकारी, प्राध्यापक र कर्मचारीका आफन्तहरुलाई मात्र खुलातर्फको परीक्षामा पास गराएको आरोप छ ।


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले परीक्षाका कागजात नियन्त्रणमा लिएर एकमहिना देखि छानविन गरिरहेको छ । अख्तियार स्रोतका अनुसार छानविनको क्रममा परीक्षामा त्रुटी गरेको समेत भेटिएको छ । ‘त्रिवि र आयोगका पदाधिकारीको मिलेमतोमा पहुँचवाला र आफन्तलाई पास गराएको परीक्षा रद्द गर्न आन्दोलित बनेका हौं,’ गजुरेलले भने, ‘छानविन गरेर दोषीलाई कारवाही गर्नुपर्छ ।’


त्रिविका कुलपति समेत रहेका प्रधानमन्त्री वा सहकुलपति एंव शिक्षामन्त्रीको तहबाट छानविन गरि कारवाही गर्नुपर्ने क्रान्तिकारीको माग छ । ‘त्रिवि कार्यकारी परिषद्ले छानविन समिति बनाउने आश्वसन दिएर वार्तामा बोलाएको थियो,’ उनले भने, ‘जो दोषी छ, उसैले बनाउने छानविन कमिटिको अर्थ छैन, भनेर वार्तामा बस्न मानेनौं, कुलपति वा सहकुलपतिले नै चासो दिएर कारवाही प्रक्रिया अघि बढाउनु पर्छ ।’ ३० औं दिनसम्म मागहरुको वेवास्ता गरेर वार्ताको समेत प्रयास नगरिएको भन्दै क्रान्तिकारी सम्बद्ध विद्यार्थी आक्रोशित बनेका हुन् ।


विद्यार्थीले त्रिवि सेवा आयोग खारेज गर्नुपर्ने, आयोगका भ्रष्ट पदाधिकारीलाई बर्खास्त गर्नुपर्ने र अवैधानिक रुपमा प्रकाशित नतिजा खारेज गर्नुपर्ने ३ सुत्रीय माग राखेका छन् । ‘सेवा आयोगकै अध्यक्ष, प्रशासकिय प्रमुख र त्रिविका उच्च तहका पदाधिकारीले आफ्ना नातागोतालाई जागिर खुवाउन अपारदर्शी तरिकाले पास गराएका छन्,’ गजुरेलले भने ।


लोकसेवा आयोगका प्रतिनिधिको उपस्थिति बिनै उनीहरुले मनोमानी रुपमा परीक्षा संचालन गरेको यसअघि नै खुलासा भइसकेको छ । शाखा अधिकृत लगायत विभिन्न १६ पदको आन्तरिक तर्फको लिखित परीक्षामा अनियमितता गरिएको हो ।


प्रकाशित : असार २, २०७६ १४:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?