कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

नेपाली नानो स्याटलाइटले पृथ्वीको परिक्रमा गर्न थाल्यो, ग्राउण्ड स्टेसन भने बनेकै छैन

गोविन्द पोखरेल

काठमाडौँ — नेपालको पहिलो भू–उपग्रह ‘नेपाली–स्याट–१’ सोमबारदेखि अन्तरिक्षको परिक्रमा लगाउन सुरु गरेको छ । दुई महिनासम्म अन्तर्राष्ट्रिय स्पेश स्टेसन(आईएसएस)मा रहेको भू–उपग्रहलाई सोमबार अपरान्ह ४ बजे ‘स्पेश’मा ‘डिप्लोइमेन्ट’ गरिएको हो । 

नेपाली नानो स्याटलाइटले पृथ्वीको परिक्रमा गर्न थाल्यो, ग्राउण्ड स्टेसन भने बनेकै छैन

नेपाल सहित श्रीलंकाको रावना–१ र जापनको उगिसू भू–उपग्रह अन्तरक्षिमा सँगै छाडिएको हो । यो स्याटलाइट पृथ्वीको तल्लो अन्तरिक्ष कक्षलाई परिक्रमा गर्ने भूउपग्रह निर्माता एवं नाष्टका प्राविधिक हरिराम श्रेष्ठले कान्तिपुरलाई बताए ।

उनका अनुसार स्याटलाइटलाई ४२० किलोमिटरको रेन्जमा डिप्लोइमेन्ट गरिएको हो । भूउपग्रहले आईएसएससँगै परिक्रमा गरिरहने उनले जानकारी दिए । स्याटलाइट जुन देशको नजिक पर्छ त्यही रहेको ग्राउण्ड स्टेसनसँग सञ्चार गर्न सक्ने श्रेष्ठको भनाइ छ ।


नेपालमा दैनिक ४ पटकसम्म देखिने यो स्याटलाइटले नेपाली आकाशमा ४० मिनेट बिताउनेछ । ग्राउण्ड स्टेसनबाट हरेक पटकको डाटा लिने र कमान्ड दिन सकिने उनले सुनाए । स्याटलाइटले लोअर अर्बिट परिक्रमा गर्न ९० मिनेट लगाउनेछ भने सूर्यको प्रकाशमा ६० मिनेट र बाँकी समय अँध्यारो र चिसो क्षेत्रमा रहनेछ ।

ग्राउण्ड स्टेसन अहिलेसम्म तयार भएन

व्यावसायिक प्रयोजनका लागि नभएपनि अध्ययन तथा अनुसन्धानका लागि निर्मित भूउपग्रहबाट पठाइएको तथ्याङ्क सङ्कलन लागि चाहिने ग्राउण्ड स्टेसन निर्माण अहिलेसम्म सम्पन्न भएको छैन । नाष्टले गत चैत १९ गते उपकरण खरिदका लागि भनेर २१ दिनको सूचना निकालेर बोलपत्र आहृवान गरेको थियो । तर दुई महिना बितिसक्दा समेत ग्राउण्ड स्टेसन सञ्चालनमा आउन सकेको छैन ।


नाष्ट स्रोतका ग्राउण्ड स्टेसनका लागि चाहिने रोटेटर उल्टो परेपछि स्टेसन निर्माण ढिलाइ भएको हो । तथ्याङ्क सङ्कलन अन्य देशमा रहेका ग्राउण्ड स्टेसनबाट हुनेछ । भुटान र बंगादेशका ग्राउण्ड स्टेसनले तथ्यांयक संकलनमा सहयोग गरिदिने श्रेष्ठले जानकारी दिए ।


यो स्याटलाइट के गर्छ ?

यो भूउपग्रह ठुलो नभएर नानो भू–उपग्रह हो । यो १यू–क्यूब–स्याट (लम्बाई,चौडाइ र उचाइ १०/१० सेन्टिमिटर भएको) नानो स्याटलाइट हो । ‘स्याटलाइट सर्भिस ओरिन्टेट नभएर डेमोनस्ट्रेसन र रिसर्च ओरिन्टेट हो ।’ श्रेष्ठले कान्तिपुरसँगको फोन कुराकानीमा भने । अहिले स्याटलाइटले तस्बिर लिन सक्ने नाष्टले जनाएको छ । अन्तरिक्षमा चुम्बकीय शक्तिको अध्ययन गर्न र रिमोट सेन्सिङ र अन्य सामन्य किसिमका काम मात्र गर्न सकिनेछ ।


‘नेपाली झन्डा भएको पहिलो वस्तु अन्तरिक्ष पुग्नु नै उपलब्धि’

यसैबिच शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिराजमणि पोखरेलले बर्डस कार्यक्रममा आबद्ध सबै पक्षलाई धन्यवाद ज्ञापन गरेका छन् । भू–उपग्रह आईएसएसबाट अन्तरिक्ष छाडिएको प्रत्यक्ष प्रसारण हेर्न जापान पुगेका मन्त्री पोखरेलले भने,‘ सानै भएपनि नेपाली झन्डा अंकित स्याटलाइट अन्तरिक्षमा पुग्नु नै एउटा ठूलो सफलता हो । आगामी दिनहरूमा हामी सहकार्य गरेर अझ राम्रो काम गर्न सक्छौँ ।’


मन्त्री पोखरेलले क्यूटेकसँग भविष्यमा पनि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । क्यूटेकले हालसम्म १८ वटा स्याटलाइट अन्तरिक्षमा छाडिसकेको छ ।


नेपाल स्पेस एजमा प्रवेश गर्‍यो, ऊर्जा मिलेको छ : नास्ट
यसैबीच नास्टले नेपाल अन्तरिक्ष युगमा प्रवेश गरेको बताएको छ । ‘स्याटेलाइट डिप्लोइमेन्ट भएपछि नेपाल स्पेस युगमा प्रवेश गरेको छ,’ नास्टका उपकुलपति डा. श्रेष्ठले भने, ‘यो ऐतिहासिक क्षणले हामीलाई हर्षित तुल्याएको छ ।’ आगामी दिनमा स्पेस टेक्नोलोजीलाई कसरी लैजाने भन्नेबारे नास्टले सोचिरहेको उनको भनाइ छ । सोमबार पृथ्वीको तल्लो अन्तरिक्ष कक्षमा छाडिएको स्याटेलाइट ‘स्वस्थ’ रहेको उनले जानकारी दिए । केही दिनसम्म त्यो ‘अब्जर्भसेन’ मै रहने उनले बताए ।

प्रकाशित : असार २, २०७६ १७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?