२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

सांसदलाई बजेट बहिष्कार गर्न साझा पार्टीको अपिल

काठमाडौँ — निर्वाचन क्षेत्रका नाममा सांसदलाई वितरण गरिएको बजेट बहिष्कार गर्न साझा पार्टीले अपिल गरेको छ । केन्द्रको सिको गर्दै सातवटै प्रदेशले पनि प्रदेश सांसदलाई बजेट विनियोजन गरेपछि त्यसलाई अस्वीकार गर्न साझा पार्टीले अपिल गरेको हो । आफ्ना पार्टी सांसदले यस्तो बजेट अस्वीकार गर्ने घोषणा गरेको जानकारी गराउँदै अन्य पार्टीकालाई पनि बहिष्कार गर्न आहवान गरेको हो । 

सांसदलाई बजेट बहिष्कार गर्न साझा पार्टीको अपिल

‘सांसदलाई बजेट छुट्याउने नीतिको प्रखर विरोध गर्ने सत्ताधारी र प्रतिपक्षका सांसदलाई पनि यो बजेट बहिष्कार गरी सुसंस्कृत राजनीतिको सन्देश दिन साझा पार्टी आहवान गर्दछ,’ पार्टी प्रवक्ता सूर्यराज आचार्यले निकालेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘प्रदेश ३ को साझा पार्टीका सांसद शोभा शाक्यले सांसदलाई छुट्याइएको बजेट अस्वीकार गर्ने सार्वजनिक रूपमै उल्लेख गरिसकेको जानकारी गराउँछौं ।’


संघीय संसदा प्रतिसांसदलाई ६ करोड छुट्याइएको नीतिको अनुसरण गर्दै प्रदेश सरकारहरूले पनि अर्बौं रुपैयाँ प्रदेश सांसदहरूलाई छुट्याएको घोषणाको भर्त्सनासमेत गरेको छ । ‘यो चरम बेइमानी, लोकतन्त्रको उपहास र राष्ट्रघात हो,’ विज्ञप्तिमा भनिएको छ । दुईतिहाई समर्थन प्राप्त र ७ मध्ये ६ वटा प्रदेशमा नेतृत्व गरिरहेको सरकारले भ्रष्टाचार नियन्त्रण, सुशासन र समृद्धिका लागि लिन सक्ने आमूल परिवर्तनकारी कदमहरू लिनुको सट्टा प्रदेशदेखि केन्द्रसम्म भ्रष्टाचार र कुशासनलाई संस्थागत गर्दै जानु दुर्भाग्यपूर्ण भनी साझाले टिप्पणी गरेको छ ।


‘यसका असरहरू दूरगामी हुनेछन् र अब नागरिकहरूले ‘मेरो पार्टी’ भनेर क्षमा दिने अवस्था छैन,’ विज्ञप्तिमा भनिएको छ, ‘सिन्डिकेटबाट आक्रान्त नेपाली समाजमा सांसदहरूलाई विकास बजेट छुट्याएर जुन राजनीतिक सिन्डिकेट निर्माण गर्न खोजिएको छ, त्यो सबैभन्दा घातक सिन्डिकेटमा परिणत हुनेछ ।’


अन्य देशहरूमा छिटफुट देखिने ‘पोर्क–ब्यारेल’ का नाममा बदमान यस्तो नीति नेपालमा संस्थागत हुँदै गएको जनाएको छ । ‘यसको चौतर्फी विरोध गर्न साझा पार्टी राजनीतिक दल तथा आम सर्वसाधारण सबैसँग हार्दिक आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित : असार २, २०७६ २०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?