रेलवार्ता गर्न नेपाली टोली चीनमा

काठमाडौँ — केरुङ रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयारी लगायतका विषयमा छलफल गर्न नेपाली प्रतिनिधिमण्डल सोमबार चीनको राजधानी बेइजिङ प्रस्थान गरेको छ । 

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था सचिव देवेन्द्र कार्की नेतृत्वको नेपाली टोलीमा मन्त्रालयका सहसचिव गोपालप्रसाद सिग्देल, रेल विभागका महानिर्देशक बलराम मिश्र, प्रवक्ता अमन चित्रकार तथा अर्थ र परराष्ट्र मन्त्रालयका प्रतिनिधि सहभागी छन् ।


चिनियाँ सरकारको निमन्त्रणामा नेपाली टोली वार्ता गर्न चीनमा गएको हो । नेपाली टोलीले चीनको नेसनल रेल्वे अथोरिटीका पदाधिकारीसँग द्विपक्षीय छलफल गर्ने जानकारी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अधिकारीले दिए ।


ती अधिकारीका अनुसार दुई पक्षबीच जतिसक्दो छिटो विस्तृत इन्जिनियरिङ अध्ययन सुरु गरी रेलमार्गको डीपीआर तयार गर्नेबारेमा सहमतिको खाका तयार गर्ने छ । उनका अनुसार नेपाली र चिनियाँ अधिकारीबीच रेलमार्गमा लगानी र निर्माण ढाँचालगायत विषयमा समेत छलफल हुनेछ ।


चिनियाँ पक्षले केरुङ–काठमाडौं रेलमार्गको प्रारम्भिक सम्भाव्यता अध्ययन गरी प्रतिवेदन नेपाल सरकारलाई बुझाएको एक वर्ष भइसकेको छ । नेपाली टोली नेपाल–चीन रेल्वे को–अपरेसन समितिको बैठकमा समेत सहभागी हुनेछ ।


काठमाडौं–केरुङ रेलमार्गको दूरी करिब ८० किलोमिटर हुने प्रारम्भिक अध्ययन प्रतिवेदनले देखाएको छ । रेलमार्ग निर्माण गर्न नौ वर्ष लाग्ने र लागत करिब ३ खर्ब रुपैयाँ पर्ने अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित : असार २, २०७६ २१:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?