कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भन्सार पास गाडी नजाँच्नू : गृह

काठमाडौं र वीरगन्ज — गृह मन्त्रालयले मधेसका २२ जिल्लाका प्रशासन र प्रहरीलाई भन्सार पास भएर आएका मालवाहक गाडी जाँच नगर्न सोमबार परिपत्र गरेको छ ।

भन्सार पास गाडी नजाँच्नू : गृह

नेपाली उत्पादनमूलक उद्योगमा प्रयोग गरिने कच्चा पदार्थ बोकेका गाडी नेपाल प्रवेश गर्ने क्रममा ट्राफिक प्रहरीले ओभरलोड भनेर नियन्त्रण गर्ने, जरिवाना तिराउने, हैरानी दिने र दुई–तीन दिन होल्ड गर्ने गरेको भन्दै उद्योगी–व्यवसायीबाट गुनासो आएपछि गृहले नजाँच्न परिपत्र गरेको हो ।

भन्सारका कर्मचारीसँग मिलेमतोमा तौलभन्दा धेरै सामान ल्याएको र सूचीमा भएभन्दा फरक सामान भएको देखिएपछि पछिल्ला महिनामा प्रहरीले भन्सार पास भएका गाडी जाँचमा कडाइ गरेको थियो । स्रोतका अनुसार केही उद्योगी/व्यवसायीले गृहमन्त्री रामबहादुर थापा र गृहसचिव प्रेमकुमार राईलाई भेटेर प्रहरी जाँच रोक्न दबाब दिँदै आएका थिए ।

गृहले जारी गरेको परिपत्रमा समेत स्थानीय प्रशासन र प्रहरीबाट गाडी रोक्ने, दुःख, हैरानी दिने, धरपकड गर्ने, गाडी नियन्त्रणमा लिने कार्यबाट ढुवानी प्रक्रियामा अवरोध भएको भन्दै उद्योगहरूका तर्फबाट लिखित र मौखिक गुनासो आएको उल्लेख छ । स्रोतका अनुसार एक महिनाअघि मात्रै भन्सार पास भएको गाडी रोकेको भन्दै व्यवसायीले गृह मन्त्रालयमा सूचना पुर्‍याएपछि गृहसचिव राईले तराईका एक प्रहरी अधिकारीसँग चासो राखेका थिए ।

मधेसको सुरक्षा कमान्ड सम्हालिरहेका प्रहरी अधिकारीहरूले भने गृहको निर्णयप्रति असन्तुष्टि जनाएका छन् । उनीहरूले भन्सार पास भएका गाडी निर्वाध छाडदा सुरक्षा खतरा हुन सक्ने, भन्सार छली नियन्त्रणको कारबाही प्रभावित हुने र व्यापारीहरूले भन्सारसँग सेटिङ मिलाएर सजिलै फाइदा लिन सक्ने दाबी गरे ।

गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले भने भन्सार पास भएका गाडी रोक्ने र जाँच गर्ने दायित्व प्रहरीको नभएको बताए । ‘औद्योगिक करिडरमा कच्चा पदार्थ लिएर आउने गाडी नेपाल प्रवेश गर्दा हेर्ने निकाय को हो ? गृह त होइन । नेपाल छिर्दा हेर्ने जुन निकाय हो त्यसैले हेर्नु पर्‍यो । जिम्मेवार निकायले प्रवेशद्वारमै हेर्नुपर्‍यो । त्यस्ता गाडीले कति सामान ल्याउँछन् भनेर हेर्ने निकाय पनि गृह मन्त्रालय होइन,’ उनले भने ।

उनले ओभरलोड भएर सडक बिग्रिए पनि त्यो भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको विषय हुने बताए । ‘हेभी लोडले सडक बिग्रियो भने स्थानीय प्रशासनसँग समन्वय गर्न सकिन्छ । तर ती गाडीलाई निर्वाध रूपमा आउन दिनुपर्‍यो,’ उनले भने ।

प्रदेश २ का एक उच्च प्रहरी अधिकारीले गृहको कदमलाई केही व्यापारीको स्वार्थमा भन्सारको सेटिङ बिग्रियो भनेर चालेको कदमका रूपमा अर्थ्याए । गत चैत २० मा मात्रै प्रहरीले ललितपुरको श्रीकृष्ण फोम इन्डस्ट्रिज प्रालिको ७५ ड्रम केमिकल्स बोकेर काठमाडौं आउँदै गरेको मालवाहक ट्रकबाट ठूलो परिमाणमा भन्सार राजस्व छलीको कपडा बरामद भएको थियो ।

वीरगन्ज–पथलैया सडकखण्डको जितपुरमा प्रहरीले ना५ख ७९८४ नम्बरको ट्रक जाँच गर्दा २२ पोका भन्सार छलीको कपडा भेटिएको थियो । प्रहरी जाँचमा ट्रकका चालक सरोज पटेलले गाडीभित्र केमिकल्स मात्रै रहेको बताउँदै सोहीअनुसारको भन्सार बिल देखाएका थिए । बरामद सर्टिङ सुटिङ र सुरुवाल–कुर्ताको बजार मूल्य करिब ४० लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।

गृहको बचाउ

गृहले सोमबार साँझ नै प्रेस विज्ञप्ति जारी गर्दै भन्सार पार गरेर आएका गाडी नजाँच्न गृहले निर्देशन नदिएको दाबी गर्दै आफ्नो कदमको बचाउ गरेको छ ।

गृहले विज्ञप्तिमा कुनै व्यावसायिक आग्रह पूर्वाग्रह राखी कसैप्रति लक्षित नभई परिपत्र गरिएको भन्दै गैरकानुनी ओसारपसार भएको खण्डमा प्रहरी र सशस्त्र प्रहरीले जुनसुकै समयमा र जुनसुकै स्थानमा जाँच गर्न सक्ने स्पष्ट पारेको छ ।

प्रकाशित : असार ३, २०७६ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?