कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

अतिक्रमित ३२ रोपनी हलेसी गुठीकै 

डम्बरसिं राई

खोटाङ — दशकअघिदेखि बसोबास र किनबेच गर्दै अतिक्रमणमा परेको हलेसी गुठीको जग्गा फिर्ता हुनुपर्ने ठहर भएको छ । हलेसी मन्दिर समितिले आफ्नो जग्गा अतिक्रमणमा परेपछि गुठी संस्थानलाई जानकारी पठाएको थियो । संस्थानले साबिक हलेसी महादेवस्थान गाविस–४ को ३२ रोपनी गुठीकै रहेको पत्राचार गरेपछि त्यसविरुद्ध स्थानीयले अदालतमा मुद्दा दायर गरेका थिए । 

जिल्ला न्यायाधीश किशोर घिमिरेको इजलासले गुठीकै निर्णयलाई सदर गरेको खोटाङ जिल्ला अदालतका स्रेस्तेदार लालबहादुर कार्कीले बताए । ‘गुठी संस्थानले हलेसीको जग्गा व्यक्तिको होइन गुठीको हो भनेको थियो । त्यो निर्णय चित्त नबुझाएकाको निवेदनमा अदालतले सबुत प्रमाणका आधारमा संस्थानकै निर्णय सदर गरेको छ,’ उनले भने, ‘स्वामित्वका विषयमा अदालतले प्रस्ट पारेपछि अब जग्गा संरक्षणको जिम्मा गुठीकै हो ।


हलेसी मन्दिर व्यवस्थापन समितिका पूर्वअध्यक्ष गजुरमान राईका अनुसार हलेसी महादेव गुठीको नाममा भएको साबिक हलेसी महादेवस्थान गाविस–४ का कित्ता नम्बर ५०, ५२, ७०, ७२, ३५१, ३७९, ८८, ८९, ९०, १७३, ३७१, २६८, ३७८, ३८३, ७९८, ८०१, ३७३, १०५७, १०५८, २८३, ३८२, ९८४, ९९५, ३२, १८८, २२५, २९७, १०४६, ८००, र ३६८ गरी ३२ रोपनी जग्गा अतिक्रमणमा परेको हो । ‘जग्गा फिर्ता गराउन समितिले लामो समयदेखि मुद्दा मामिला खेप्दै आएको थियो,’ उनले भने, ‘अब अदालतले पनि स्वामित्व प्रस्ट पारिदियो ।’ उक्त जग्गाबाहेक पनि हलेसी मन्दिरको नाममा २६ रोपनी १ आना जग्गा रहेको कागजातबाट देखिने उनले बताए ।


मन्दिरको जग्गा अतिक्रमण भएयता झन्डै एक दशकदेखि चल्दै आएको मुद्दाले बल्ल निकास पाएको स्थानीय गजुरमान राईको भनाइ छ । अदालतले स्वामित्वका विषयमा फैसला दिएकोबाहेक पनि जग्गाहरू विभिन्न कालखण्डमा अतिक्रमणमा परेकाले त्यसको समेत छिनोफानो हुने हलेसी तुवाचुङ नगरपालिका प्रमुख इवन राईले बताए ।


‘हामी अहिले गुरुयोजना बनाइरहेका छौं,’ उनले भने, ‘त्यसअनुसार हलेसीथान वरपरको दुई सय मिटरभित्रका घरजग्गाको उचित मुआब्जा दिएर अन्यत्र व्यवस्थान गर्छौं ।’


धेरै वर्षअघि राजा वीरेन्द्रको हलेसी भ्रमणका बेला गुरुयोजना बनाएर निश्चित क्षेत्रभित्र भएका आठ घरघडेरीलाई मुआब्जा दिएर बाहिर पठाइएको थियो । त्यसबेला मुआब्जा लिएर पनि घरजग्गा खाली नगरेकाहरूका कारण अहिलेसम्म समस्या रहेको स्थानीयले बताएका छन् ।


त्यसबेलाको गुरुयोजनाका लागि रोक्का गरिएका जग्गा पनि पछि फुकुवा गरेर किनबेच भएको हलेसी विकास समितिका पूर्वनिर्देशक तामन राईले बताए । ‘त्यसबेलाको समितिले कडाइ गर्न नसक्दा अहिलेसम्म गुठीको जग्गाबाट अतिक्रमण हट्न नसकेको हो,’ उनले भने ।


त्यसो त हलेसी मन्दिर आसपासमा घर तथा सडक निर्माणले समेत हलेसी महादेवस्थानको क्षेत्र साँघुरो पार्दै लगेको छ । हलेसी गुफाको मुखैमा बौद्धमार्गीको विशाल गुम्बा पनि बनाइएको छ । गत बिहीबारदेखि हलेसी महादेव गुफाका संरचना पुनर्निर्माण सुरु भएको छ । करिब ७३ लाखको बजेटमा गुफाभित्र भर्‍याङ र घेराबारा पुनर्निर्माण थालिएको नगरपालिकाले जनाएको छ ।

प्रकाशित : असार ३, २०७६ ०७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?