२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

प्रधानमन्त्री ‌ओली र सभापति देउवा मध्ये कसले पहिला सम्बाेधन गर्ने भन्ने विवाद, कांग्रेसद्वारा संसद अवराेध

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले पहिला सम्बाेधन गर्ने कि प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा बोल्ने भन्ने विषयमा विवाद भएपछि मंगलबार बिहानको संसद बैठक स्थगित भएको छ। सामान्यतया प्रधानमन्त्रीले बोल्नका लागि समय माग गरेपछि उनलाई नै मात्र बोल्न दिने यसअघिको संसदीय अभ्यासलाई नै सभामुखले लागु गर्न खोजेपछि का‌ंग्रेसका सा‌ंसद रोस्टम नै घेर्न पुगेका थिए ।

प्रधानमन्त्री ‌ओली र सभापति देउवा मध्ये कसले पहिला सम्बाेधन गर्ने भन्ने विवाद, कांग्रेसद्वारा संसद अवराेध

नेपाली कांग्रेसका सभापति देउवाले प्रधानमन्त्री अघि समसामयिक विषयमा कुरा राख्नका लागि समयको माग गरेपनि प्रधानमन्त्री ओलीलाई मात्रै समय दिइएकोले कांग्रेस सांसदहरु विरोधमा उत्रिएको दाबी कांग्रेस सांसद बालकृष्ण खाँडको थियो ।

'हामीले सभामुखलाई बिहानै शेरबहादुर देउवा बोल्नुहुन्छ भनेर समय माग गरेका थियौं । तर, उहाँले प्रधानमन्त्रीले बोल्नुहुन्छ भन्दै समय दिनु भएन,' उनले भने, 'उहाँहरुले प्रतिपक्षको बोल्न पाउने अधिकारलाई कुण्ठित गर्ने काम गर्नुभएको छ ।'

यस्तै नेकपाका सांसद योगेश भट्टराईले कांग्रेसले आफूलाई संसदीय पार्टी भनेर दाबी गरे पनि संसदीय मर्यादाको ख्याल भने नराखेको टिप्पणी गरे । 'प्रधानमन्त्री, मन्त्रीहरुले बोल्न समय माग गरेपछि उहाँहरुलाई समय दिनै पर्छ र हामीले सुन्नुपर्छ,' उनले भने ।


सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्रीको सम्बोधन पछि विपक्षी दलका सा‌ंसदहरुलाई बाेल्न समय दिने बताए पनि उनीहरुले नाराबाजी जारी राखेका थिए ।

प्रधानमन्त्रीले संसदमा विभिन्न विधेयक र विशेष गरेर गुठी विधेयकका बारे केही कुरा राख्ने अपेक्षा गरिएको थियो । यस्तै उनले आफ्नो युरोप भ्रमणका बारे पनि संसदलाई यसै सम्बोधन मार्फत जानकारी दिने स्रोतले जानकारी दिएको थियो ।

प्रधानमन्त्री ओली युरोप भ्रमणबाट फर्किएसँगै गुठी विधेयकको विरोधमा भइरहेको आन्दोलनलाई मथ्थर गर्नका लागि छलफलमा व्यस्त थिए । उनले हिजै नेकपाका शीर्ष नेताहरुसहित उपत्यकाका सांसद, प्रदेश सांसद तथा मेयर र वडा अध्यक्षहरुलाई भेटेका थिए ।



प्रकाशित : असार ३, २०७६ १२:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?