कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

हुम्लामा जिप दुर्घटना, गाउँपालिका उपाध्यक्षसहित कम्तीमा १० जना बेपत्ता*[अपडेट]

छपाल लामा

(सिमकोट) — खार्पुनाथ गाउँपालिका–५ कैलावालुमा जिप दुर्घटना हुँदा गाउँपालिका उपाध्यक्षसहित कम्तीमा १० जना बेपत्ता भएका छन् । खार्पुदेखि गाउँपालिकाको केन्द्र याङचु जाने क्रममा मंगलबार लु१ज ७१६६ नम्बरको जिप सडकबाट करिब २० मिटर तल कर्णाली नदीमा खसेको थियो । 

हुम्लामा जिप दुर्घटना, गाउँपालिका उपाध्यक्षसहित कम्तीमा १० जना बेपत्ता*[अपडेट]

जिपमा कति सवार थिए, यकिन हुन नसकेको प्रहरीले बताएको छ ।


बेपत्ता हुनेहरूमा खार्पुनाथ गाउँपालिका उपाध्यक्ष सिन्धु हमाल शाही, जिप चालक मणिराज शाही, काठमाडौं थानकोटका राजु श्रेष्ठ, खार्पुनाथ–४ का चन्द्र हमाल, नैनसिंह भण्डारी, खार्पुनाथ–५ की वसन्ती शाही, नन्ददेवी सिंह, गोकुल सुनार, खार्पुनाथ–१ का कौर दमाई र उनका दुई वर्षीय छोरालगायत छन् । काठमाडौंका श्रेष्ठ हुम्लामा वेल्डिङ व्यवसायमा संलग्न थिए ।


घटनास्थलमा सेना र प्रहरीले उद्धार गरिरहेका छन् । दिउँसो साढे १२ बजे दुर्घटना भए पनि सूचना ढिला आएकाले उद्धारमा कठिनाइ भएको हो । सेना र प्रहरीको टोली घटनास्थलमा खटिए पनि गोताखोर नहुँदा समस्या भएको खार्पुनाथ–५ का जनकबहादुर शाहीको भनाइ छ ।


दुर्घटनास्थल सिमकोटदेखि १४ किमि टाढा छ । उद्धारका लागि सदरमुकाम सिमकोटबाट हेलिकप्टरमा सेना, सशस्त्र र नेपाल प्रहरीलाई घटनास्थलमा पठाइएको हुम्लाका निमित्त प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले बताए ।


दुई वर्षअघि नेपाली सेनाको हेलिकप्टरबाट ल्याइएको जिप दुर्घटनामा परेको हो । उक्त जिप खार्पॅनाथ यातायात प्रालिले सञ्चालन गरेको थियो । प्रालिका नाममा चारवटा बोलेरो छन् । सबै गाडीमा १६ जना यात्रु अटाउने क्षमता रहेको प्रालिका अध्यक्ष सरोज रावतले बताए ।


सडकको अवस्था राम्रो भए पनि कसरी दुर्घटना भयो भनेर आफू अचम्ममा परेको उनको भनाइ छ । दुर्घटनास्थलको सडक ८ मिटर चौडा छ ।


२ महिनामा १५ को ज्यान गयो

पछिल्ला दुई महिनामा कर्णालीमा सडक दुर्घटनामा परी १५ जनाले ज्यान गुमाएका छन् । वैशाख र जेठमा मात्र सुर्खेतमा ९ सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको र ४ जना गम्भीर घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ । दैलेखमा ३ सवारी दुर्घटनामा ४ जनाले ज्यान गुमाएको र दुई जना गम्भीर घाइते भएका छन् ।


सल्यानमा ५ सवारी दुर्घटनामा चार जनाले ज्यान गुमाएको र दुई जना गम्भीर घाइते भएको प्रहरीको भनाइ छ । जुम्ला, कालिकोट र पश्चिम रुकुममा १/१ जनाको ज्यान गएको र १/१ जना गम्भीर घाइते भएको ट्राफिक प्रहरीले बताएको छ । साँघुरो र कच्ची सडकका कारण दुर्घटना बढदै गएको ट्राफिक प्रहरी प्रमुख विमल बस्नेतले जानकारी दिए ।


*बेपत्ता हुनुपर्नेमा यसअघि अन्यथा भएकोले सच्याइएको छ । - सम्पादक

प्रकाशित : असार ३, २०७६ १५:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?