वाग्मती ब्युटिफिकेसन : दुई महिनादेखि काम ठप्प, मन्त्रालय बेखबर

मुआब्जाका विषयमा सुनुवाइ नभएको भन्दै स्थानीयले पुनः काम रोकेका हुन् । त्यसअघि पनि स्थानीयले एक महिना काम ठप्प पारेका थिए । 
दीपेन्द्र विष्ट

काठमाडौँ — ‘वाग्मती ब्युटिफिकेसन’को काम दुई महिनादेखि ठप्प छ । सहरी विकास मन्त्रालयले मुआब्जा माग्दै आएका स्थानीयसँग छलफलसमेत नगर्दा ब्युटिफिकेसनको काममा अन्योल देखिएको हो । मुआब्जा नदिएसम्म काम अघि बढन नदिने भन्दै स्थानीयले काम रोकेका छन् । 

सडकछेउमा ठेकेदार कम्पनीले निर्माण सामग्री अलपत्र पारेको छ । तीन महिनाअघि सहरी विकास मन्त्रालयका सचिव रमेशप्रसाद सिंह र काठमाडौं ३ का सांसद कृष्ण राई, स्थानीय जनप्रतिनिधिबीच एक महिनाभित्र मुआब्जा विवादबारे मन्त्रिपरिषद्मा लगेर टुंग्याउने सहमति भएको थियो । मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने सहमतिपछि स्थानीयले गर्दै आएको अवरोध हटाएका थिए । तर मुआब्जाका विषयमा सुनुवाइ नभएको भन्दै स्थानीयले पुनः काम रोकेका हुन् । त्यसअघि पनि स्थानीयले एक महिना काम ठप्प पारेका थिए ।

काम ठप्प भएको दुई महिना भएको र मन्त्रालयले गाँठो नफुकाएसम्म केही भन्न नसकिने अधिकारसम्पन्न वाग्मती एकीकृत विकास समितिका अध्यक्ष नरेन्द्र बस्नेतले बताए । ‘छानबिन गरेर दिनुपर्ने/नपर्ने काम मन्त्रालयको हो,’ उनले भने, ‘समितिले सहजीकरण गरिदिने काम हो, आफ्नो क्षेत्राधिकारबाहेक अन्य काम गर्न मिल्दैन ।’ मागेअनुसार मुआब्जा दिन नसकिने र केही व्यक्ति वास्तविक पीडित भएको उनको भनाइ छ । ‘ठप्प भएको काम जसरी पनि काम पुनः सुरु गराउनपर्छ,’ उनले भने, ‘जति दिन काम रोकियो, त्यति नै सरकारलाई क्षति हुन्छ ।’

वास्तवीक पीडित पत्ता लगाएर मात्र मन्त्रालयले मुआब्जा दिनुपर्ने उनले बताए । एसियाली विकास बैंक (एडीबी)ले वाग्मती ‘ब्युटिफिकेसन’ आयोजनाको प्रगतिप्रति असन्तुष्टि जनाएको उल्लेख गर्दै हात झिक्ने चेतावनी दिइसकेको छ । यसअघि पनि मुआब्जा विवादले लामो समयदेखि काम ठप्प भएपछि एडीबीले सहरी विकास मन्त्रालयलाई सहयोग रोक्ने चेतावनीसहितको पत्र पठाएको थियो ।

स्थानीयले वाग्मती नदीभित्रको १ सय ८८ रोपनीको मुआब्जा मागेको र मन्त्रालयले तत्काल समस्या नसुल्झाए आयोजना अलपत्र पर्ने उनले बताए । ‘४१ रोपनीको मात्र प्रमाण छ, अरूसँग केही पनि छैन, १ सय ४७ रोपनीको लालपुर्जा छैन, कसरी मुआब्जा दिने ?’ उनले भने, ‘४१ रोपनीमा पनि राम्रोसँग छानबिन गर्नुपर्छ ।’ २२ वर्षअघि तत्कालीन अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले किनारका जग्गाको मुआब्जा दिइसकेको छ ।

आयोजनाले २०७३ देखि परम्परागत शैलीको हरित उद्यान निर्माण अघि बढाएको हो । नदीको बीचबीचमा ‘चेकड्याम’ निर्माण गरिने अध्यक्ष बस्नेतले बताए । नदी र सडकबीचको खाली १० मिटर भागमा हरित उद्यान बन्दै छ । सडक दुई लेनको बनाइनेछ । तीन स्थानमा परम्परागत भकारी आकारका संरचना निर्माण गरिनेछ, जसबाट मानिस सजिलै नदीसम्म पुग्न सक्नेछन् । २७ महिनाभित्र उद्यान सम्पन्न गर्ने लक्ष्य रहेको उनले बताए ।

गोकर्ण ब्यारेजदेखि जोरपाटी पुलसम्म ३५ मिटर, त्यहाँबाट गुह्येश्वरीसम्म ४० मिटर र गुह्येश्वरीदेखि सिनामंगलसम्म करिब ३० मिटर बहाव कायम गर्दै दायाँबायाँ हरित उद्यान निर्माण गरिने आयोजनाको भनाइ छ । टेकुतिरका २३ वटा पुराना मन्दिरको जीर्णोद्धार र बल्खुमा ढल प्रशोधन केन्द्र निर्माण गरिनेछ । हरियालीको बीचमा साइकल लेन, फुटपाथसमेत रहनेछन् । गोकर्ण ब्यारेज रहेको स्थानमा पुलसमेत बनाइने अधिकारसम्पन्न वाग्मती आयोजनाका प्रमुख आशिष घिमिरेले बताए ।

‘आकर्षक उद्यान निर्माण गरिँदै छ,’ उनले भने, ‘पहिलो चरणमा यो क्षेत्र छानिए पनि त्यसपछि गोकर्णदेखि सुन्दरीजलसम्मको क्षेत्रसम्म हरित उद्यान निर्माण भइरहेको छ ।’ गुह्येश्वरीदेखि पशुपतिनाथ मन्दिर क्षेत्रमा भने कुनै संरचना निर्माण नगरिने उनले जानकारी दिए । गोकर्ण–सुन्दरीजल खण्ड र सिनामंगल–बल्खु खण्डमा समेत परम्परागत शैलीको आधुनिक हरित उद्यान रहनेछ ।

‘फुटपाथमा मर्निङवाक गर्न सजिलो हुन्छ,’ उनले भने, ‘प्रत्येक स्थानमा चौतारी बनाउँछौं, जहाँ बसेर नदीको बहाव नियाल्न सजिलो होस् ।’ धाप क्षेत्रमा बर्खाको पानी संकलन गर्न २४ मिटर अग्लो ड्याम बनाइँदै छ ।

‘वर्षातको पानी संकलन गरेर सुक्खायाममा वाग्मतीमा बगाइन्छ,’ उनले भने, ‘नदीको विशेषता पानी हुनु हो । त्यसकारण पानीको बहाव बढाउनैपर्छ ।’ सुन्दरीजलदेखि बल्खुसम्म एडीबीले करिब १३ अर्ब रुपैयाँ सहयोग गर्ने आयोजनाले जनाएको छ । काम ठप्प भएकोबारे आफूलाई जानकारी नभएको सहरी विकास मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद दवाडीले बताए । ‘मन्त्रालयलाई त्यसबारे थाहा छैन, अब बुझ्छौं’ उनले भने ।

८ लाख ५० हजार घनमिटर पानी संकलन गरेर सुक्खायाममा ४ सय लिटर प्रतिसेकेन्डका दरले नदीमा छाडिने र यसका लागि अहिले शिवपुरी वन्यजन्तु आरक्षभित्र काम भइरहेको आयोजना प्रमुख घिमिरेले बताए । ड्याम बनाउन एडीबीले करिब ५२ करोड रुपैयाँ सहयोग गरेको छ । वाग्मतीको नागमतीमा ९० मिटर उचाइको ड्याम निर्माणको अध्ययन भइरहेको छ । त्यहाँबाट दुई सय मेगावाट विद्युत् उत्पादन गर्न सकिने आयोजनाको अनुमान छ ।

यो पनि पढ्नुहोस्ः
प्रतिक्रिया
पठाउनुहोस्

समता अस्पतालभित्रै कर्मचारीद्वारा आत्महत्या

कान्तिपुर संवाददाता

काठमाडौँ — शिक्षासेवीका रूपमा ख्याति कमाएका उत्तम सञ्जेलले बौद्धमा सञ्चालन गरेको समता अस्पतालमा कार्यरत कर्मचारीले आत्महत्या गरेको घटनामा सञ्जेल तानिएका छन् । मंगलबार राति रामेछाप, दोरम्बा घर भएकी २७ वर्षीया विमला तामाङले अस्पताल हाताभित्रै झुन्डिएर आत्महत्या गरेकी थिइन् ।

मृतकका आफन्तले घटनामा सञ्जेललाई दोषी देखाउँदै नाराबाजी गरेपछि प्रहरीले सञ्जेलकी पत्नी र एक कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले अस्पतालभित्र तोडफोड हुन थालेपछि सञ्जेललाई सुरक्षा दिंदै बाहिर निकालेको र अन्य दुईलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जनाएको छ । प्रहरी स्रोतका अनुसार मृतकका साथबाट सुसाइड नोट फेला परेको छ जसमा आत्महत्याको कारणबारे केही संकेत गरिएको छ । प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले सञ्जेल पक्राउ नपरेको प्रस्ट पार्दै सुरक्षा दिन प्रहरीको गाडीमा राखेर अस्पतालबाट बाहिर ल्याइएको दाबी गरे ।

प्रकाशित : असार ३, २०७६ २०:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्