नेटवर्किङमा फसाइँदै सयौं युवा, भारतमा रहेको कम्पनीले नेपालमा ठग्दै

गोरखपुरमा कार्यालय रहेको एक कम्पनीले ८ हजार भारुमा एक साता तालिम दिई औषधि खरिद गर्न लगाएर गाउँगाउँमा सदस्य बनाउन परिचालन गर्दै, नेपालबाट करोडौं रकम बाहिरिएको अनुमान
माधव ढुंगाना

(भैरहवा) — रोल्पा नगरपालिका–६ का सन्तकुमार घर्तीमगर कक्षा १२ मा पढ्दै थिए । काकाका छोरा दुर्गासिंह घर्तीमगरले स्वास्थ्यसम्बन्धी काम गर्न बोलाएपछि भारतको गोरखपुर गए । दुर्गासिंहले सन्तकुमारलाई गोरखपुरस्थित ओरियन्टस ग्लोबल मार्केटिङ प्रालिमा पुर्‍याए ।

त्यहाँ उनले ‘मल्टिलेभल मार्केटिङ’ गर्न ८ हजार भारु तिरेर एक साताको तालिम लिए र भारु १ लाख रुपैयाँ बराबरको औषधि बोकेर फर्किए । त्यसपछि उनको काम भयो, औषधि गाउँगाउँमा बेच्ने र उक्त कम्पनीमा पुर्‍याएर अरूलाई सदस्य बनाउने ।

दुर्गासिंह भने गोरखपुरको कुडाघाटस्थित भारतीय सेनाको क्याम्पमा भर्ती हुन जाँदा असफल भएपछि एक नेपालीकै प्रलोभनमा परेर उक्त कम्पनीमा पुगेका थिए । दुर्गा पनि ८ हजार भारु तिरी एक साताको तालिम लिएपछि २० हजार भारुको औषधि किनेर गत पुसमा कम्पनीको सदस्य बनेका थिए ।

राजविराज नपा–१४ का रामकृष्ण ठाकुर प्यूठानको भिंग्री भन्ने ठाउँमा कपाल काट्ने व्यवसाय गर्छन् । नजिकको साथीले लोभ्याएपछि उनी पनि त्यस कम्पनीको कार्यालयमा पुगे । तालिम लिए । औषधि किनेर सदस्य बने र अरूलाई सदस्य बढाउन जुटे । सन्तकुमार, दुर्गासिंह, रामकृष्ण अहिले प्रहरी नियन्त्रणमा छन् । प्रतिबन्धित नेटवर्क व्यवसायमा संलग्न भएको र अरूलाई पनि आबद्ध गराएको आरोपमा उनीहरू पक्राउ परेका हुन् ।

उनीहरूको यसमा आबद्धताको सूचना भने प्रहरीलाई ओरियन्टस ग्लोबल मार्केटिङको तालिममा जान लागेकाहरूले दिएका हुन् । गत जेठ १० गते सुनौली नाका हुँदै आउँदै गरेका ८ जना नेपाली युवतीलाई प्रहरीले सोधपुछ गर्दा गोरखपुरको ओरियन्टस ग्लोबल मार्केटिङबाट तालिम लिएर फर्केको जवाफ आयो । प्रहरीले थप चासो देखायो ।

ती युवतीले दिएको सूचनाका आधारमा प्रहरीले भोलिपल्टै सिद्धार्थनगर–७ स्थित एउटा घरमा खनतलासी गर्दा १३ जना युवा भेटिए । ती सबै तालिम लिएर उक्त कम्पनीको सदस्य बन्न गोरखपुर जाने तयारीमा थिए । घरको फ्ल्याट कम्पनीबाटै भाडामा लिइएको थियो । जेठ २४ गते पनि सुनौली नाका हुँदै भारततर्फ जान लागेका आठ/नौ जना नेपाली युवतीको समूह देखेपछि बेलहियामा प्रहरीले रोकेर सोधखोज गर्‍यो । सबैले गोरखपुरको ओरियन्टस ग्लोबल मार्केटिङमा तालिम लिन जान लागेको बताए । प्रहरीले थप सोधखोज गर्‍यो ।

युवतीको समूहबाट प्राप्त सूचनाका आधारमा तत्कालै देवदह–११ शखरपुरस्थित एक घरमा खनतलासी गर्दा १४ जना युवती र १४ जना युवक फेला परे । उनीहरू सबै नेपाली थिए । तीमध्ये कोही अधिकांश ओरियन्टस ग्लोबल मार्केटिङमा तालिम लिन र सदस्य बन्न जाने क्रममा थिए भने कोही तालिम लिएर फर्केका थिए । त्यहाँ पनि एउटा सिंगै घर उक्त कम्पनीले भाडामा लिएर प्रयोग गरेको थियो । फेला परेकामध्ये अधिकांशलाई अभिभावकको जिम्मा लगाएर प्रहरीले घर पठाइदिएको थियो ।

तालिम लिन र सदस्य बन्न उक्साउने तीन जनालाई नियन्त्रणमा लिई कारबाही थालेको छ । ती हुन्, सन्तकुमार, दुर्गासिं र रामकृष्ण । ‘सोधपुछका क्रममा हजारौं नेपाली त्यस कम्पनीमा पुग्ने गरेको थाहा पायौं । सातादस दिनमै करोडौं नेपाली रुपैयाँ त्यहाँ जम्मा भइरहेको अनुमान छ,’ रूपन्देहीका एसपी हृदय थापाले भने । उनका अनुसार उनीहरूले आफू जसरी सदस्य बनेका छन्, त्यसरी नै प्रलोभन देखाएर गाउँका युवालाई कम्पनीमा पुर्‍याउने गरेका छन् ।

नेटवर्किङ व्यवसाय सञ्चालन गर्ने भारतीय कम्पनीका लागि नेपालमा सञ्जाल विस्तारमा सक्रियको संख्या कति छ भन्ने कतै लेखाजोखा छैन । सदस्य बनिसक्दा पनि धेरैलाई कम्पनी कस्तो हो भन्ने थाहै छैन । ‘जति धेरै सदस्य बनाउन सक्यो उति धेरै कमिसन बढदै जाने भनिएकाले म लोभिएँ,’ भैरहवास्थित जिल्ला प्रहरी कार्यालय परिसरमा भेटिएका सन्तकुमारले सुनाए ।

नेपालमा नेटवर्किङ व्यवसाय प्रतिबन्धित छ । तर कारोबारीले भारतको गोरखपुर, बनारस र कुशिनगरलगायतमा विभिन्न नामका कम्पनी खडा गरेर नेपालीलाई नै नेटवर्किङ व्यवसायको जालोमा पारिरहेका छन् । यस्ता कम्पनीले नेपालमा घर नै भाडा लिएर सेल्टरका रूपमा प्रयोग गर्ने गरेका छन् ।

यस्ता सेल्टर कहाँ कति छन्, खुलिसकेको छैन । उनीहरूले औषधि र कपडा व्यवसाय देखाउँछन् । कम्पनी भारतमा रहे पनि त्यहाँका नागरिक सदस्य बनेको पाइँदैन । ‘नेटवर्किङ व्यवसाय चलाउने भारतीय कम्पनी गाउँ केन्द्रित देखिन्छन्,’ एसपी थापाले भने, ‘उनीहरूले गाउँका सोझासाझा युवायुवतीलाई धेरै कमाइ हुने लोभ देखाएर फसाइरहेका छन् ।’

यसअघि पनि धेरै भारतीय कम्पनीबाट नेपाली ठगिने गरेका थिए । प्रहरीले कुनै एक क्षेत्रमा निगरानी बढाएपछि अर्को क्षेत्रमा उही कम्पनी वा अर्को कम्पनीका नाममा सञ्जाल विस्तार गर्ने गरेको देखिन्छ । एसपी थापाका अनुसार ओरियन्टसमा सदस्य बन्न नेपालीले ८० हजारदेखि २ लाख भारुसम्म तिरेका छन् । अधिकांशले आफ्ना नातेदार र नजिकका साथीभाइलाई सदस्य बनाउने गरेका छन् । धेरैअघि सदस्य बनेको भए पनि ठूलो परिमाणमा कमिसन र धेरै तलब पाएको कोही पनि भेटिएका छैनन् ।

प्रहरी अनुसन्धानअनुसार रोल्पा, रुकुम, प्यूठान, कालिकोट, दाङ, सप्तरी, नवलपरासी, कपिलवस्तु, धादिङ, गोरखा, स्याङ्जा, अर्घाखाँची, बागुलङ, पर्वत, काभ्रे, झापा, ललितपुरलगायत जिल्लाका युवा भारतीय नेटवर्किङ कम्पनीको सदस्य बनेका छन् । ‘हजारौं नेपाली युवाले करोडौं लगानी गरिसकेका छन्,’ एसपी
थापाले भने ।

पाँच सञ्चालकविरुद्ध मुद्दा
रूपन्देही प्रहरीले डेढ वर्षअघि भारतीय भूमिबाट नेटवर्किङ व्यवसाय सञ्चालन गरी हजारौं नेपालीलाई ठग्दै आएका पाँच जनालाई पक्राउ गरी कारबाही अघि बढाएको थियो । ती पाँचैजना नेपाली नागरिक थिए । प्रहरीले संगठित रूपमा ठगी अभियोगमा चलाएको उक्त मुद्दा अदालतबाट फैसला हुन बाँकी छ ।

मुद्दा चलाइएकामध्ये लमजुङ दोर्दी गाउँपालिका–५ का दर्पण लामा र दाङ लमही नगरपालिका–४ का कुशलराम चौधरी, धादिङ रोराङ गाउँपालिका–३ का ज्ञानेन्द्र मगर धरौटीमा छुटेका छन् ।

काभ्रेपलाञ्चोक खानीखोला गाउँपालिका–३ का चन्दितसिंह मोक्तानलाई पाल्पा र बाराको निजगढ नगरपालिका–१२ का दावा लामालाई कपिलवस्तु कारागारमा चलान गरिएको छ । लामा र चौधरी गोरखपुरमा ड्रिम डेभलपर्स ट्रेडमार्ट प्रालि, मगर बनारसमा विन विन ट्रेडमार्ट प्रालि तथा मोक्तान र दावा कुशिनगरस्थित फुलटन ट्रेडमार्ट प्रालिका सञ्चालक रहेको दाबी प्रहरीको थियो ।

एकै व्यक्तिबाट ३ लाखभन्दा धेरै रकम असुल्ने गरेको बयान पीडितले प्रहरीसमक्ष दिएका थिए । दर्पण लामा र कुशलराम चौधरीबाट ठगिएको भन्दै जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा ३९ जनाले जाहेरी दिएका थिए । यस्तै, ज्ञानेन्द्र मगरविरुद्ध २३ र र दावा लामाविरुद्ध १८ जनाले ठगिएको भन्दै पीडितले उजुरी गरेका थिए ।

उनीहरूले ८ हजारदेखि १० हजार भारु लिएर सदस्य बनाउने र साता दिन तालिम दिएर सदस्य खोज्न लगाउने गरेका थिए । उनीहरूलाई थप सदस्य बनाउन सके रकम फिर्ता हुने र नबनाए सबै लगानी फिर्ता नहुने बताइएको थियो । सदस्य बन्न जानेलाई कुनै स्थानको ठूलो महल देखाएर कम्पनीबाट कमिसन आउन थालेपछि खरिद गरेकोभन्ने गरिन्थ्यो ।

५ नम्बर प्रदेश योजना आयोग उपाध्यक्ष प्रकाश श्रेष्ठ नेटवर्किङ व्यवसायमा कसैलाई संलग्न गराउनु गलत रहेको बताउँछन् । ‘नेटवर्किङ व्यवसाय नेपालमा प्रतिबन्ध छ । विदेशी विनिमय ऐनअनुरूप नेपाली नागरिकले बाहिरी देशमा पुँजी जम्मा गर्न पनि मिल्दैन,’ श्रेष्ठले भने । उनले भारतमा रहेका नेटवर्किङ कम्पनीका कारण स्वदेशको पुँजी पलायन हुँदा शोधनान्तर घाटामा असर पुग्ने र लगानीयोग्य पुँजीको अभाव खेपिरहेका स्वदेशी वित्तीय संस्थालाई अझ समस्या हुने बताए ।

प्रकाशित : असार ४, २०७६ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

सिमेन्टमा आत्मनिर्भर

पर्यटन-पूर्वाधार
‘उपयुक्त औद्योगिक नीति बनाएर उद्योग सञ्चालनका लागि सरकारले पूर्वाधार तयार गरिदिने हो भने नेपाली सिमेन्टको बजार भारतको उत्तर प्रदेश र बिहारसम्म विस्तार गर्न सकिन्छ’
माधव ढुंगाना

डेढ दशकअघिसम्म मुलुक ९० प्रतिशतभन्दा धेरै भारतीय सिमेन्टमा निर्भर थियो  । अहिले त्यो अवस्था अन्त्य भएको छ  ।

एक वर्षदेखि नेपाल सिमेन्ट उत्पादनमा आत्मनिर्भर बनेको छ । लगानीकर्ताका अनुसार आगामी दुई वर्षमा नेपाली सिमेन्ट भारतीय बजारमा निर्यात गर्ने तयारी भइरहेको छ । स्वदेशमै उपलब्ध चुनढुंगाबाट क्लिंकर उत्पादन गरेर आधुनिक रोटोरी प्रविधिबाट सिमेन्ट उत्पादन गर्ने ठूला उद्योग सञ्चालन हुने क्रम बढेको छ । भारतबाट आयात गरिएको कच्चा पदार्थ (क्लिंकर) पेलेर निजी क्षेत्रबाट स्थापित नेपाली उद्योगले भीएसके प्रणालीबाट सिमेन्ट उत्पादन सुरु गरेका हुन् । सरकारले उपयुक्त नीति र भौतिक पूर्वाधार तयार पारेमा तीन–चार वर्षभित्रमा नेपाली सिमेन्ट भारत निर्यात गर्न सक्ने दाबी व्यवसायीले गरिरहेका छन् ।


भारतको उत्तरप्रदेश र बिहारमा नेपाली सिमेन्टले राम्रो बजार पाउने सम्भावना रहेको उद्योगीको भनाइ छ । त्यो नेपालका लागि राम्रो अवसर भएको उनीहरूको दाबी छ । व्यवसायीका अनुसार चुरे पहाडमा उपलब्ध चुनढुंगाबाट उत्पादित सिमेन्टको गुणस्तर भारतबाट आयातित क्लिंकरको भन्दा धेरै राम्रो छ । ‘उपयुक्त औद्योगिक नीति बनाएर उद्योग सञ्चालनका लागि सरकारले पूर्वाधार तयार गरिदिने हो भने अब नेपाली सिमेन्टको बजार भारतको उत्तर प्रदेश र विहारसम्म विस्तार गर्न सकिन्छ,’ उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा सिद्धार्थ औद्योगिक समूहका प्रबन्ध निर्देशक राजेश अग्रवालले भने, ‘भारतका ती स्थानसम्म नेपाली सिमेन्ट निर्यात गर्न सकिने प्राकृतिक सम्पदा र भौगोलिक अवसर नेपालसँग छ ।’ अग्रवालका अनुसार भारततर्फ नेपाल–भारत सिमानादेखि सबैभन्दा नजिकको चुनढुंगाको खानी मध्यप्रदेशमा छ । नेपालको सिमानादेखि मध्यप्रदेश कम्तीमा पनि एक हजार किमि टाढा छ । नेपालमा चुरे क्षेत्रमा खानी छन् । जुन सिमानादेखि २५ देखि ४० किमि दूरीमा छ । नेपालका खानी र भौगोलिक दूरीको फाइदा उठाउँदै सिमेन्टमा अगाडि बढ्ने अवसर छ । यसका लागि शतप्रतिशत ऊर्जा पाउनुपर्ने र खानीबाट उद्योगसम्म चुनढुंगा ल्याउन भौतिक पूर्वाधार निर्माण गर्नुपर्ने उद्योगीको माग छ । सडक निर्माण, औद्योगिक कच्चा पदार्थ ओसार्न रोपवेको व्यवस्था सरकारले गर्नुपर्ने र ब्याज मिनाहाको सुविधा दिनुपर्ने व्यवसायी बताउँछन् ।


भारतको उत्तर प्रदेश र विहारका सिमेन्ट उद्योगलाई कच्चा पदार्थ क्लिंकर बनाउन चुनढुंगाको खानी मध्यप्रदेश भएकाले नेपालको चुनढुंगा प्रयोग गरी उत्पादन गर्ने उद्योगलाई भन्दा धेरै ढुवानी भाडा लाग्नाले उत्पादन लागत महँगो पर्छ । यही कारणले नेपाली सिमेन्ट उद्योगलाई विदेश निर्यात गर्न सम्भावना र अवसर जुटेको हो । पछिल्ला दिनमा चुरेमा रहेको चुनढुंगा खानीलाई नै आधारित बनाएर नेपालमा ठूलठूला सिमेन्ट उद्योग सञ्चालनमा आउन थालेपछि सिमेन्टमा नेपालको भारतसँगको परनिर्भरता घटेको हो । क्लिंकरको परनिर्भरता पनि घट्दै जान थालेको छ । नेपालमा हाल साना र ठूला गरी कुल ५६ वटा सिमेन्ट उद्योग सञ्चालनमा छन् । जसमध्ये भैरहवामा मात्रै ११ वटा सञ्चालनमा छन् । भैरहवा आसपासको क्षेत्र परासीमा तीन, कपिलवस्तुमा ६ वटा सञ्चालनमा छन् । प्रदेश ५ अन्तर्गत अर्घाखाँचीमा एक, रोल्पामा एक, दाङमा दुई र बाँकेमा दुईवटा सञ्चालनमा छन् । भैरहवा आसपासको नवलपुरमा होङ्सी सिमेन्ट उद्योग सञ्चालनमा छ । पाँचवटा ठूला रोटरी प्रविधिका उद्योग थपिँदै छन् ।


‘अबको दुई वर्षमा नेपालले सिमेन्ट निर्यातको बाटो खोज्नुपर्ने हुन्छ,’ अर्घाखाँची सिमेन्ट उद्योगका महाप्रबन्धक उद्धवबहादुर कार्कीले भने, ‘दुई वर्षमा आवश्यकताभन्दा बढी ८० लाख टन सिमेन्ट उत्पादन हुनेछ ।’ उनले हाल ५८ अर्ब ९९ करोड २० लाख रुपैयाँ बराबरको सिमेन्ट आयात रोकिएको बताए । उत्पादन धेरै भएपछि निकासीको बाटो खोज्न जरुरी छ । त्यो बाटो भनेको नेपालदेखि करिब ३ सय किमि पर भारतकै बजार हो । उनका अनुसार यस वर्ष नेपालमा ७० लाख टन सिमेन्ट उत्पादन भयो । आउँदो वर्ष ८५ लाख टन उत्पादन हुनेछ । आउँदो वर्षबाट नेपालका कुनै पनि सिमेन्ट उद्योगले बाहिरबाट कच्चा पदार्थ आयात गर्नुपर्ने छैन ।


भैरहवा भन्सार कार्यालयको तथ्यांकअनुसार पछिल्लोपटक यो नाका हुँदै ०७५ असार १९ गतेसम्म भारतीय सिमेन्ट आयात भएको थियो । आव ०७४/०७५ मा १३ करोड १२ लाख रुपैयाँ बराबरको १३ हजार १ सय ३३ टन आयात भएको थियो । नेपालमा सिमेन्ट उत्पादन बढ्न थालेपछि त्यो परिमाण घट्दै आएको छ । विशेषगरी भैरहवा क्षेत्र र प्रदेश ५ मा सिमेन्ट उद्योग बढी स्थापना हुनुमा सीमा नजिक र कच्चा पदार्थ क्लिंकरका लागि चुनढुंगा खानी सबैभन्दा नजिक र धेरै भएकाले हो । ‘सीमा नजिक भएकाले औद्योगिक मेसिनरी र कच्चा पदार्थको आयात गर्न सहज भयो,’ अर्घाखाँची सिमेन्ट उद्योगका महाप्रबन्धक कार्कीले भने, ‘यहाँ औद्योगिक वातावरण र पूर्व मेचीदेखि पश्चिम महाकालीको बीचमा पर्ने भएकाले सहज भएको हो ।’

प्रकाशित : जेष्ठ २०, २०७६ ११:३८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT