कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

जाँच चौकीको ९५% निर्माण पूरा

देवनारायण साह

(मोरङ) — विराटनगर १८ बुधनगरस्थित एकीकृत भन्सार जाँच चौकीको भौतिक संरचना निर्माण पूरा भएको छ । सीसी क्यामरा, बत्तीलगायत इलेक्ट्रोनिक्स र इलेक्ट्रिकल सामान जडान तथा केही फिनिसिङ गरी ५ प्रतिशत काम मात्रै बाँकी छ ।

जाँच चौकीको ९५% निर्माण पूरा

नेपाल सरकारले अधिग्रहण गरेर उपलब्ध गराएको १ सय २९ बिघा जग्गामा भारत सरकारले २ अर्ब ८ करोड रुपैयाँ लागतमा जाँच चौकी निर्माण गरिरहेको छ । भारतको दिनेशचन्द्र आर अग्रवाल इन्फ्राकनले अत्याधुनिक सुविधा सम्पन्न जाँच चौकी निर्माणका लागि सन् २०१६ डिसेम्बरमा १ अर्ब ८३ करोड ३२ लाख ८० हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।


निर्माण कम्पनीका परियोजना प्रमुख इन्जिनियर अवधेशकुमार साहले भौतिक निर्माणको काम सम्पन्न भइसकेको र अब ५ प्रतिशत फिनिसिङ मात्रै बाँकी रहेको बताए । ‘चौकीको निर्माण ९५ प्रतिशत सकिएको छ सीसी क्यामेरा, बत्ती, फायर अलार्म, पब्लिक एडरेस सिस्टम जडान गर्न मात्रै बाँकी छ,’ उनले भने, ‘बाँकी काम एक साताभित्र सम्पन्न गर्छौं ।’


जाँच चौकीको प्यागोडा शैलीको मुख्य प्रशासनिक भवन, प्रवेशद्वार, सुरक्षा ब्लक, क्यान्टिन, चिलिङ सेन्टर, पशु र कृषि क्वारेन्टाइन चेक पोस्ट, ल्याब ब्लक, वाटर ट्यांक, पार्किङ स्थल, सडकलगायतका संरचना निर्माण सकिएको छ ।


जाँच चौकीबाट अब भारतलगायत तेस्रो मुलुकबाट मालवस्तु आयात निर्यात सहज हुने उद्योगी व्यापारीको भनाइ छ । भारत र नेपाल दुवैतर्फ आमनेसामने भन्सार जाँच चौकी हुँदा तत्काल जाँचपास भएर आयात निर्यात गर्न सहज हुन्छ । ल्याब परीक्षणका लागि पनि कोलकाता पुग्नैपर्ने झन्झटबाट यहाँका उद्योगी व्यवसायी मुक्त हुनेछन् ।


चौकी निर्माण सम्पन्न भएपछि विद्युतीय कार्गो रेल विराटनगर आउँछ । भारत सरकारले आमनेसामने नेपाल र भारत दुवैतर्फ एकीकृत भन्सार जाँच चौकी निर्माण गरेको हो । भारततर्फ ६४ हेक्टर क्षेत्रफलमा १ अर्ब ३१ करोड ९८ लाख ४० हजारको लागतमा सन् २०१६ नोभेम्बर १५ मा निर्माण सम्पन्न भएर जाँच चौकी सञ्चालनमा आइसकेको छ ।


अहिले व्यापारीहरूलाई भारतलगायत तेस्रो मुलुकबाट नेपालतर्फ मालसामान ल्याउँदा जोबनीमा रेलबाट अनलोड गरेर ट्रकमा पुनः लोड गरी विराटनगर भन्सार कार्यालयमा ल्याउनुपर्ने बाध्यता छ । एक सातासम्म लाइनमा बसेर जाँच पास गराउनुपर्ने अवस्था छ । जोगबनीस्थित रेलवे स्टेसनबाट विराटनगर भन्सार कार्यालयसम्म नै दुईतर्फी जामले ट्रक ल्याउन दिनभर लाग्ने गरेको छ । यो जाँच चौकी निर्माण भएपछि यस्ता सबै झन्झट सकिने उद्योगीको विश्वास छ ।


उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अविनाश बोहोराले जाँच चौकी निर्माण सम्पन्न हुनु खुसीको कुरा भएको बताए । सरकारले तदारुकताका साथ पहल गरेर तत्काल सञ्चालनमा ल्याउन उनले आग्रह गरे । ‘जाँच चौकी सञ्चालन भएपछि विराटनगर भन्सारमा भइरहेको अप्ठ्यारो समाधान हुने र आयाता निर्यात सहज हुन्छ,’ उनले भने, ‘यसले ढुवानी लागत घट्छ र उपभोक्ताले सामान सस्तोमा पाउँछन् ।’


मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले जाँच चौकीले नेपालबाट पनि निर्यात गर्न सहज हुने बताए । ‘नेपाली वस्तु निर्यात गर्नका लागि कोलकातास्थित ल्याबमा जाँच गराउनुपर्ने झन्झट समाप्त हुन्छ,’ उनले भने, ‘दुवैतर्फको जाँच चौकीमा अत्याधुनिक जाँच चौकी र सबै थोक डिजिटल रहने भएकाले सबै खाले सुविधा प्राप्त हुन्छ र आयात निर्यात सहज हुन्छ ।’


भारतको बथनाहादेखि विराटनगर १८ लावाघाटसम्म भारत सकरकारको सहयोगमा रेलमार्ग निर्माण भई कात्तिकमा नै परीक्षणसमेत भइसकेको छ । अहिले भारतको बथनाहामा विद्युतीय कार्गो रेलबाट मालवस्तु मालवाहक सवारीमा विराटनगर ल्याउन उद्योगी व्यवसायी बाध्य छन् । जाँच चौकी सञ्चालन भएपछि कोलकाताबाट कार्गो रेल सोझै विराटनगर आउने मुन्दडाले बताए ।

निर्माण कम्पनीका परियोजना प्रमुख इन्जिनियर साहले जाँच चौकीमा जडान गर्नका लागि ल्याएका सीसी क्यामरा, बत्ती, फायर अलार्म, पब्लिक एडरेस सिस्टमलगायतका सामानको अर्थ मन्त्रालयले मास्टर लिस्ट स्विकृत नगरिदिएकाले जोगबनीबाट ल्याउन नसकेको बताए । उनले मन्त्रालयले मास्टर लिस्ट स्वीकृत गरेपछि दुई दिनमा सबै सामान जडान गरेर चौकीको निर्माण पूरा हुने बताए ।


प्रकाशित : असार ४, २०७६ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?