१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

'भौतिक पूर्वाधारका कार्यक्रम कनिका छरेजस्तो'

तीन मन्त्रालयका विभिन्न शीर्षकमा छलफल

काठमाडौँ — विनियोजन विधेयकअन्तर्गत तीन मन्त्रालयका विभिन्न शीर्षकमा प्रतिनिधिसभाको बुधबारको बैठकमा छलफल जारी छ  । बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा, भौतिक पूर्वाधार तथा यातायात र ऊर्जा, जलस्रोत तथा सिँचाइ  मन्त्रालयअन्तर्गत विभिन्न शीर्षकमा छलफल भएको हो । 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी डिला सङ्ग्रौलाले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय शीर्षकको खर्च रकममा एक रुपैयाँ कायम गरियोस् भन्दै खर्च कटौती प्रस्ताव प्रस्तुत गरिन् । सरकारले नयाँ रोजगारीको क्षेत्र पहिल्याउन नसकेको आरोप लगाउँदै उनले श्रमका लागि विदेशिएका युवाले सामाजिक सुरक्षा नपाएको र सरकारले स्वदेशभित्र नै रोजगार सिर्जना गर्न नसकेको टिप्पणी गिरन् ।


सोही पार्टीका सञ्जयकुमार गौतमले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय शीर्षकको खर्च रकममा एक सय रुपैयाँ कायम गरियोस् भन्दै खर्च कटौती प्रस्ताव प्रस्तुत गरे । भौतिक पूर्वाधारका कार्यक्रम कनिका छरेजस्तो र सपनाको महल बनाउने खालको रहेको चर्चा गर्दै उनले जनताको आवश्यकताभन्दा सत्ता पक्षका नेताका पहुँचका आधारमा सडक पूर्वाधारमा रकम विनियोजन गरिएको आरोप लगाए ।


कांग्रेसकै ज्ञानेन्द्रबहादुर कार्कीले ऊर्जा मन्त्रालय शीर्षकको खर्च रकममा एक रुपैयाँ कायम गरियोस् भन्दै खर्च कटौती प्रस्ताव प्रस्तुत गरे । विद्युत् विकासका क्षेत्रमा नयाँ कार्यक्रम आउन सकेको छैन भन्दै उनले प्रसारण लाइन समयमा बन्न नसक्दा निजी क्षेत्र निरास भएको बताए । सांसद कार्कीले बूढीगण्ढकी जलविद्युत् आयोजना निर्माण अगाडि बढाउनसमेत माग गरे ।


नेपाल मजदूर किसान पार्टीका प्रेम सुवालले ती तीनवटै मन्त्रालयका विभिन्न शीर्षकको खर्च रकममा एक रुपैयाँ कायम गरियोस् भन्ने खर्च कटौती प्रस्ताव प्रस्तुत गर्दै हिमाल, पहाड र तराईलाई नयाँ सडक सञ्जालले जोड्नुपर्ने आवश्यकता औँल्याए । उनले सरकारले नै सार्वजानिक यातायातको व्यवस्था गर्न, सडक निर्माण गर्न तथा कालोपत्र गर्न स्थानीय निकायमा पठाउनुपर्ने र काठमाडौँ उपत्यकामा विद्युतीय सवारी साधनको व्यवस्था गर्नुपर्ने माग गरे ।


यसअघि शून्य समयमा संविधानको भावनाअनुरुप लोकसेवा आयोगको विज्ञापनलाई समावेशी र समानुपातिक बनाउन, कञ्चनपुरका सुकुम्वासी समस्या समाधान गर्न, मिडिया काउन्सिलसम्बन्धी विधेयक सच्याउन र भ्रष्टाचार नियन्त्रण गर्न सांसदहरूले सरकारको ध्यानाकर्षण गराए । सरकारी अस्पतालमा बिग्रिएका उपकरण मर्मतमा ध्यान दिन, सडक दुर्घटना हुन नदिन सचेतनाका कार्यक्रम सञ्चालन गर्न र शून्य समयमा उठाइएका समसामयिक विषय के कति पूरा भयो भन्नेबारेमा सरकारले सदनमा जानकारी दिन मागसमेत गरिएको थियो ।


यसरी शून्य समयमा आफ्नो भनाइ राख्ने सांसदहरूमा पुष्पा भुसाल, पार्वता डिसी चौधरी, पद्म गिरी, निरुदेवी पाल, नवराज सिलवाल, नमिताकुमारी चौधरी, देवप्रसाद तिमल्सिना, देवप्रसाद गुरुङ, दिलेन्द्रप्रसाद बडू, दिव्यमणिराज भण्डारी, तेजुलाल चौधरी, डिला सङग्रैला, टेकबहादुर बस्नेत, प्रेम आले, प्रेम सुवाललगायत थिए ।

प्रकाशित : असार ४, २०७६ १४:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?