कलंकी मालपोतको कामबारे सेवाग्राहीले घरैमा बसेर जानकारी लिन सक्ने

कलङ्कीस्थित मालपोत कार्यालयलाई नमूना मालपोत कार्यालय घोषणा

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ महानगरपालिका–१४ स्थित कलङ्कीस्थित मालपोत कार्यालयलाई नमूना मालपोत कार्यालय घोषणा गरेका छन् । अपाङ्गमैत्री उक्त कार्यालयमा सहयोगी कक्ष, सेवा केन्द्र, टोकन प्रणाली, सेवाग्राहीले लिन चाहेको  कामबारे घरैमा बसेर जानकारी प्राप्त गर्न सकिनेलगायत व्यवस्था छ । कार्यालयमा गरिएका काममाथि भूमि व्यवस्था, सहकारी र गरीबी निवारण मन्त्रालयमा बसेर अनुगमनसमेत गर्न सकिने छ । 

कलंकी मालपोतको कामबारे सेवाग्राहीले घरैमा बसेर जानकारी लिन सक्ने

बुधबारआयोजित घोषणा कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारले विकास र सेवाका कार्यमा प्रविधिको अधिकतम उपयोग गरी सेवाग्राहीलाई छिटोछरितो सेवा दिने नीति सरकारले लिएको बताउँदै मुलुकलाई समृद्ध बनाउन भूमिमा आधुनिकीकरण तथा शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा प्रविधिको प्रयोग बढाउनुपर्नेमा जोड दिए । जनताको सहजतालाई ध्यान दिन निर्देशन दिँदै उनले भने ,“प्रविधिले सेवामा सहज, सुगम, पारदर्शिता ल्याउँछ, यसले उत्पादकत्व वृद्धि गर्छ, कृषि, औद्योगिकलगायत क्षेत्रमा यसको समुचित प्रयोग गरिनुपर्छ ।

जैविक विविधताले भरिपूर्ण मुलुकमा प्रकृतिले उपलब्ध गराएका हिमाल, तालतलैया, नदी, झरनालगायत स्रोतसाधनलाई उपयोग गरी देश विकास गर्न सकिने उनको भनाइ थियो । सरकारले आगामी वर्ष सन् २०२० मा २० लाख पर्यटक पुर्‍याउन भ्रमण वर्षसम्बन्धी आवश्यक गृहकार्य गरिरहेको बताउँदै आफूले फ्रान्स भ्रमणका समयमा यसबारे प्रचार गरेको जानकारी गराए ।

सो अवसरमा भूमि व्यवस्थामन्त्री पद्माकुमारी अर्यालले सरकारले जनताको सम्पत्तिलाई रक्षा गर्ने उद्देश्यले भूमि प्रशासनमा जग्गाका स्रेस्तालाई डिजिटलाइज्ड गरेको बताउँदै उक्त प्रणालीलाई आगामी दुई वर्षभित्र स्थानीय तहमा हस्तान्तरण गरिने जानकारी दिइन् । उनले जनताका काम परिरहने मन्त्रालय मातहतका सबै कार्यालयमा पारदर्शी रुपमा चाँडो काम हुने खालको परिवर्तन सेवाग्राहीले चाहेको बताए ।

मन्त्रालयका सचिव गोपीनाथ मैनालीले मालपोत कार्यालयमा सेवाग्राहीलाई सबै सुविधा एकद्वार प्रणालीअन्तर्गत उपलब्ध गराउन आजदेखि नमूना कार्यालय सञ्चालनमा ल्याइएको जानकारी दिए । भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक गोकर्णमणि भुर्तेलले अनलाइन सेवा प्रारम्भ भएपछि सेवाग्राही लाभान्वित भएको बताउँदै अहिले राजश्व सङ्कलनमा देखिएको वृद्धिले चालु आवमा ४० अर्ब राजश्वको प्रक्षेपण गरिएको जानकारी दिए ।

प्रकाशित : असार ४, २०७६ १४:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?