१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

गुठी विधेयकविरुद्ध प्रदर्शन : ‘विधेयकको पाना पानामा मार्सी भात देख्छौं, होली वाइन देख्छौं’

तीन मन्त्रीको राजीनामा माग
दामोदर न्यौपाने

काठमाडौँ — सरकारले संघीय संसद्‌मा दर्ता गरेको गुठी विधेयक खारेजीको माग गर्दै गुठीयार, सम्पदा संरक्षण अभियन्ता, संरक्षणविद् बुधबार सडकमा आएका छन् । गुठी विधेयक खारेजी हुनुपर्ने भन्दै उनीहरुले राजधानीको माइतीघर ४ घण्टा ठप्प पारेका हुन् ।

गुठी विधेयकविरुद्ध प्रदर्शन : ‘विधेयकको पाना पानामा मार्सी भात देख्छौं, होली वाइन देख्छौं’

विधेयक खारेज नगरेसम्म आन्दोलन जारी राख्ने उनीहरुको चेतावनी थियो । प्रदर्शनकारीले आफ्नो धर्म, संस्कृतिमाथि आक्रमण गर्ने प्रयास गरेर सुतेको बाघलाई जिस्काएको प्रतिक्रिया दिए ।


परापूर्वकालदेखि चल्दै आएको गुठी परम्परालाईं ध्वस्त पार्न खोज्ने सरकारविरुद्ध सडकमा आउँदा भाडाका मान्छे आएको, गुठी प्रथालाई सामन्तवाद भनेको प्रति उनीहरुले चर्को आक्रोश पोखे । ‘तपाईहरु हामीलाई भाडाका मान्छे देख्नुहुन्छ । उक्साहटमा आएको देख्नुहुन्छ । सामन्तवादी देख्नुहुन्छ,’ नेवा देय दवुका अध्यक्ष नरेश ताम्राकारले भने, ‘हामीचाहिँ तपाईले ल्याएको विधेयकको पानापानामा मार्सी भात देख्छौं । होली वाइन देख्छौं ।’


चौतर्फी दबाब भएपछि भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले मंगलबार विधेयक फिर्ता गरेकी थिइन् । अर्यालले फिर्ता लिएको केहीबेरपछि प्रधानमन्त्री केपी ओलीले पत्रकार सम्मेलनमा विधेयक फिर्ता गरेको घोषणालाई उनीहरुले षड्यन्त्रको संज्ञा दिए । विधेयकमा भएको कुरालाई भ्रमपूर्ण ढंगले उचालेर प्रचार गरेको भन्दै प्रधानमन्त्रीले आक्रोश पोखेका थिए । ‘प्रधानमन्त्री उल्टै गुठियारप्रति आक्रामक भएका छन् । यो विधेयक फिर्ता लिए भनेर अर्को षड्यन्त्र गरेको हो,’ ज्यापु महागुठीका अध्यक्ष राजभाइ जकमीले भने, ‘नेवारलाई कुनै जातिको पुच्छर भनेर आरोप लगाउँछन् । हामी कसैको पुच्छर होइनौं । हामी तीन सहिदका सन्तान हौं । गणेशमानसिंह, पुष्पलालजस्ता योद्धाका सन्तान हौं । कहिले सामन्तवाद, कहिले भाडाका मान्छे भनेर हामीलाई जिस्काइयो । हामी अब उठ्यौं । नेवार उठ्दै उठ्दैन, उठेपछि छाड्दैन’ गुठी सुरक्षित भएको प्रत्याभूति नभएसम्म आन्दोलन नरोकिने उनले बताए । ‘विधेयक खारेज गरी गुठी सुरक्षित हुने वातावरण सरकारले निर्माण गर्नु पर्छ,’ उनले चेतावनी शैलीमा भने, ‘नत्र हामी छाड्दैनौं ।’


मानवअधिकारवादी नेता मल्ल के सुन्दरले केन्द्रीय प्रशासनमा नेवारको उपस्थिति प्रभावकारी नभएकाले राज्यले नेवार समुदायविरुद्ध निरन्तर षड्यन्त्र गरिरहेको आरोप लगाए । ‘शाहकालदेखि, राणाकाल हुँदै गणतन्त्रसम्ममा नेवार शासनमा नहुनुको फाइदा यो राज्यले उठाएको हो,’ उनले भने, ‘काठमाडौंमा नेवार राज्य नभएसम्म यस्तो षड्यन्त्र भइरहन्छ । नेवारको अधिकार रहँदैन ।’


तीन मन्त्रीको राजीनामा माग

खबरदारी सभामा बोल्ने अधिकांश वक्ताले तीन मन्त्रीको राजीनामा माग गरेका छन् । गुठी विधेयक संसद्‌मा दर्ता गराउने मन्त्री अर्याल, गुठीको विरोधमा सडका आएका गुठीयार, अभियन्ता माथि दमन गर्ने गृहमन्त्री रामबहादुर थापा र गुठीलाई सामन्त भन्ने सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको राजीनामा मागेका हुन् ।


काठमाडौं सडक विस्तार संघर्ष समिति संयोजक सुमन सायमी, राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समिति संयोजक गणपतिलाल श्रेष्ठ, अभियन्ता शैलेश शाक्य, सेभ नेपा भ्यालीका सुरज महर्जन, राजाराम तण्डुकार, यादवलाल कायस्थले मन्त्रीलाई तत्काल राजीनामा दिन माग राखे । ‘प्रधानमन्त्री उखान भनेर हँसाउनु हुन्छ । मलाई पनि हाँस उठ्छ,’ ताम्राकारले भने, ‘गुठी चलाउन उखान भने जस्तो सजिलो छैन । जोक गरेर जस्तै हेपेर विधेयक ल्याउनु भयो । गुठी नबुझी तपाईं मर्नु भयो भने तपाईंको जीवन खेर गए जस्तो हुन्छ । गुठी बुझ्नुस् । यहाँ भित्रका विशाल सांस्कृतिक पक्ष बुझ्नुस् ।’ श्रेष्ठले बालुवाटार समेत बेचेकाले अब गुठीसमेत बेच्न लागेको आरोप लगाए ।


‘फोहोरी मान्छेले हाम्रो देश विगारे,’ श्रेष्ठले भने, ‘अब युवा सफाइ अभियानमा लाग्छ । यो अभियानले गलत नियतले काम गर्नेलाई कुर्सीबाट झार्नेछ । मन्त्रीको कुर्सी पनि अब हल्लिदै छ ।’ पहिचानको लडाइँमा लाग्नेहरुको एकता भाँड्न सरकार लागेको तर त्यो सफल नहुने उनले बताए । ‘हाम्रो धर्म, संस्कृति, सम्पदा मास्न लाग्ने सरकारलाई हामी छाड्दैनौं,’ उनले भने, ‘यो लडाइँ तीन करोड नेपालीको पहिचानको लडाइँ हो ।’


अत्याचारविरुद्ध लड्न शपथ

सम्पदामाथिको आक्रमण, माफिया, भ्रष्टाचारलगायत वेथितीविरुद्ध लड्न उनीहरुले सामूहिक शपथ पनि खाएका छन् । अभियन्ता अनिश वैद्यले ‘आत्मसम्मानको लागि जोसुकै विरुद्ध लड्नु परे पनि, जोसुकै विरुद्ध बोल्नु परे पनि आफ्नो सामर्थ्यले भ्याएसम्म साथ दिन्छु’ भनेर सभामा सहभागीहरुलाई शपथ खुवाएका थिए । ‘यो देशका जनता एकजुट भयो भने देशलाई खोक्रो बनाउने एउटा कुनामा बसेर रुनु पर्छ,’ वैद्यले भने, ‘दलाल सरकारले मातृभूमिका विरुद्ध गरेको षड्यन्त्र हो यो । देशको पहिचान मेटाउने षड्यन्त्रविरुद्ध हामी एक हुनेछौं ।’


सभामा नेपाल भाषाका कवि दुर्गालाल श्रेष्ठ, गायक योगेश्वर अमात्य, हरिश माथेमा, प्रकाशचरण श्रेष्ठ, प्रवेशमान शाक्य, न्हु बज्राचार्य लगायतले ऐक्यबद्धता जनाएका थिए । प्रदेश ३ का सांसद विराजभक्त श्रेष्ठ, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, जनजाति नेता लक्ष्मण थारु लगायतले ऐक्यबद्धता जनाएका थिए । ललितपुर, भक्तपुर लगायत नेवार बस्तीबाट बाजगाजासहित सर्वसाधारणसभामा सहभागी थिए । ‘हाम्रो हात चोखो छ, भ्रष्टाचार गरेका छैनौं’ भन्दै सबैले हातमा सेतो पञ्जा लगाएका थिए ।

प्रकाशित : असार ४, २०७६ १५:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?