मेडिकल कलेज छानबिन गर्न म्याद थप

काठमाडौँ — मेडिकल कलेजहरूको शुल्कका विषयमा छानबिन गर्न प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले गठन गरेको उपसमितिको म्याद दोस्रो पटक थपिएको छ । एक महिनाभित्र प्रतिवेदन बुझाउने गरी गत चैत २६ गते बनेको उपसमितिको बुधबार पुनः म्याद थप गरिएको हो ।

यसअघि पनि वैशाखमा एक महिना म्याद थपिएको थियो ।


विद्यार्थी, अभिभावकको उजुरीका आधारमा उपसमितिले सरकारी/निजी मेडिकलसहित स्वास्थ्य विज्ञान प्रतिष्ठानका सञ्चालक र पदाधिकारीसँग छलफल गरिसकेको छ । धेरै मेडिकल कलेज भएकाले तोकिएको समयसीमाभित्रै प्रतिवेदन तयार पार्न नसकिएको उपसमिति संयोजक सुरेशकुमार राईले जानकारी दिए ।


‘उपसमिति बनेलगत्तै संसद स्थगित भयो, सांसदहरू जिल्ला गएपछि काम गर्न सकिएन,’ उनले भने, ‘पछिल्लो समय तीव्रताका साथ काम गरिरहेका छौं ।’


मेडिकल कलेजहरूले सरकारले तोकेभन्दा बढी शुल्क असुलेर विद्यार्थी अभिभावकलाई ठगी गरेको विषयमा उपसमितिले छानबिन गरेको हो । ‘लगभग सबै मेडिकल कलेज र सरोकारवाला पक्षसँग छलफल भइसकेको छ,’ उपसमिति संयोजक राईले भने, ‘अब एक महिनाभित्रै प्रतिवेदन तयार पार्ने गरी काम गर्छौं ।’


त्रिभुवन र काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन लिएका निजी मेडिकल कलेजहरूले विद्यार्थीसँग लाखौं रकम ठगी गरेको भन्दै उपसमितिमा दजनौं उजुरी परेको थियो । सञ्चालकहरूले सरकारले तोकेको शुल्कमा चिकित्सा शिक्षा अध्यापन गराउन नसक्ने दाबी गर्दै मेडिकल कलेजहरूको छाता संगठनको निर्णयमा शुल्क वृद्धि गरेको स्वीकार गरेका थिए ।


शिक्षा मन्त्रालयले फागुनमै बढी शुल्क फिर्ता गर्न कलेजहरूलाई ताकेता गरे पनि कार्यान्वयन हुन सकेको छैन ।

प्रकाशित : असार ४, २०७६ १९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?