कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

जिप दुर्घटना : शोकमा सार्वजनिक बिदा

सबै मृतकको सामूहिक अन्त्येष्टि, परिवारलाई क्षतिपूर्तिबापत ३ लाख

बझाङ — जिल्लामा सोमबार भएको जिप दुर्घटनाका मृतकहरुको सामूहिक दाहसंस्कार गरिएको छ । कोटदेवल गाउँका ९ जनाको बुधबार सदरमुकामनजिक सेतीकिनारको धौलाबगरमा र जिन्नाडा घर भएका जिप चालक सुरेन्द्र थापाको जिन्नाडीगाडमा अन्त्येष्टि गरिएको हो ।

जिप दुर्घटना : शोकमा सार्वजनिक बिदा

बझाङमा भएको यो अहिलेसम्मकै ठूलो सडक दुर्घटना हो ।


कोटलदेवल तथा जिल्लाका विभिन्न ठाउँबाट सयौंको संख्यामा आएका स्थानीय शवयात्रामा सहभागी थिए । विभिन्न राजनीतिक दलका नेता, स्थानीय तहका जनप्रतिनिधिसमेत जिल्ला अस्पताल सिमखेतबाट धौलाबगर, आर्यघाटसम्म पुगे । दुर्घटनामा आमाबुबा र भाइ गुमाएका कोटदेवलका सन्देश खडाले मृतकहरुलाई सामूहिक दागबत्ती दिएका थिए ।


यस्तो दृश्य देख्दा मृतकका आफन्त र परिवार सदस्य मूर्च्छितजस्तै हुन पुगेका थिए । उनीहरुको स्थानीय स्वास्थ्यकर्मीले उपचार गरिरहेका छन् । ‘यस्तो डरलाग्दो घटना कहिल्यै नहोस्,’ कोटदेवलका ७० वर्षीय गोर्ख खडाले भने, ‘हाम्रो त गाउँ नै सोत्तर भयो ।’ एउटा परिवारका २ जना सदस्यबाहेक सबैको मृत्यु भएको र ५ परिवारका नाबालक केटाकेटीले अभिभावक गुमाएको उनले बताए ।


दुर्घटनाले गाउँपालिका शोकमा डुबेको भन्दै मष्टा गाउँपालिकाले बुधबार सार्वजनिक बिदा दिएको छ । मंगलबार बसेको गाउँ कार्यपालिका बैठकले शोक प्रस्ताव पारित गर्दै सरकारी, गैरसरकारी कार्यालय र विद्यालय बिदा दिने निर्णय गरेको थियो ।


बैठकले मृतकका परिवारलाई क्रिया खर्च बापत नगद ५ हजार र घाइतेको उपचारका लागि प्रतिव्यक्ति ५० हजार आर्थिक सहयोग गर्ने निर्णयसमेत गरेको गाउँपालिका अध्यक्ष कर्णबहादुर कठायतले बताए । अभिभावक गुमाएर बिचल्ली परेका बालबालिकाको पालनपोषण र शिक्षादीक्षाबारे पनि गाउँपालिकामा छलफल भइरहेको उनले जानकारी दिए ।


क्षतिपूर्ति र उपचारका विषयमा मंगलबार दिनभर भएको छलफलमा साँझ अबेर मात्र सहमति जुटेको थियो । जिल्ला प्रशासन र जिल्ला समन्वय समितिको रोहबरमा भएको छलफलमा जिप मालिकले मृतकको परिवारलाई नगद तीन लाख क्षतिपुर्ति र घाइतेको सम्पुर्ण उपचार खर्च व्यहोर्ने सहमति भएको मष्टा–१ का वडाध्यक्ष राजेन्द्र खडाले जानकारी दिए ।

प्रकाशित : असार ४, २०७६ २०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?