१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

असार १६ देखि त्रिभुवन विमानस्थल २१ घण्टा सञ्चालन हुने

सुरज कुँवर

काठमाडौँ — नागरिक उड्डयन प्राधिकरणले बढीमा ११ दिनभित्र धावनमार्ग जीर्णोद्धारको पहिलो चरणको काम सम्पन्न गर्दै असार १६ देखि एकमात्र अन्तर्राष्ट्रिय विमानस्थललाई २१ घण्टा सञ्चालनमा ल्याउने भएको छ । प्राधिकरणले चैत ११ देखि विमानस्थलको ३ हजार ५० मिटर (१० हजार ७ फिट) लामो धावनमार्ग सुधार्न १० घण्टा आंशिक उडान बन्द गर्दै जीर्णोद्धार थालेको थियो । 

असार १६ देखि त्रिभुवन विमानस्थल २१ घण्टा सञ्चालन हुने

‘असार १६ देखि काठमाडौं विमानस्थल पुनः २१ घण्टा सञ्चालनमा ल्याउँदै छौं,’ विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीले कान्तिपुरसँग भने । उनका अनुसार भदौ १४ सम्म २१ घण्टा विमानस्थल सञ्चालन हुनेछ । त्यसपछि दोस्रो चरणमा धावनमार्गसँग जोडिएका ‘प्यारलल ट्याक्सी–वे’ तथा अन्य बाटोको सुधार थालिनेछ । यो काम भदौ १६ देखि पुस १५ सम्म चार महिना हुने भए पनि विमानस्थल अहिलेजस्तो १० घण्टा बन्द गरिनेछैन । ‘मुख्य काम सकिइसक्यो, धावनमार्ग र पार्किङ–वे जोड्ने बाटाहरूको जिर्णोद्धार गर्न चार महिना राति ११ः३० देखि बिहान ६ः३० सम्म ७ घण्टा उडान सेवा बन्द गरिनेछ,’ महाप्रबन्धक क्षत्रीले भने, ‘तर त्यसबेला अहिलेजस्तो उडान अवरोध हुनेछैन ।’ विमानस्थल २१ घण्टा सञ्चालन हुदा दैनिक ३ सय ५० हाराहारी आन्तरिक र अन्तर्राष्ट्रिय उडान हुन्छन् । अहिले १० घण्टा आंशिक बन्द भएका कारण दैनिक ७० वटासम्म उडान कटौती भएका छन् । यो कुल उडानको २० प्रतिशत हाराहारी हुन आउँछ ।


४५ वर्षपछि भइरहेको धावनमार्ग जीर्णोद्धार ग्लोबल टेन्डरबाट छानिएको चाइना नेसनल एरो टेक्नोलोजी इन्टरनेसनल इन्जिनियरिङ कर्पोरेसनले गरिरहेको छ । कम्पनीले यस पटक तोकिएकै समयमा काम सम्पन्न गरेको प्राधिकरणले जनाएको छ । ‘वर्षा भइहाले ११ दिन लाग्ला, होइन भने एक सातामा अब मुख्य धावनमार्ग जीर्णोद्धारको काम सकिनेछ,’ प्राधिकरण मातहतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका इन्जिनियर दीपेन्द्र श्रेष्ठले भने । उनका अनुसार पहिलो चरणमा चिनियाँ ठेकेदारले ३ हजार ५० मिटर लामो तथा ४५ मिटर चौडाइको धावनमार्गमा मध्यरेखाबाट दायाँबायाँ २० मिटर चौडाइ तथा २० सेन्टिमिटर खनेर नयाँ अलकत्रा राख्ने कार्य थालेको थियो । उसले अलकत्रा खनेर उच्च गुणस्तरको बिटुमिन राख्ने काम सकिसकेको छ ।


अहिले पुरै धावनमार्गको माथिल्लो तहमा उच्च गुणस्तरयुक्त अलकत्रा राख्ने काम भइरहेको छ । ‘११ सय मिटर सकिइसक्यो, बाँकी काम एक हप्ता हाराहारीमा सकिएला । अनटाइम काम भइरहेको छ,’ इन्जिनियर श्रेष्ठले भने । चिनियाँ कम्पनीले धावनमार्ग मात्रैको काम तीन महिनाभित्र सक्ने सम्झौता गरेको थियो । यसबाहेक ट्याक्सी–वे र ड्रेनलगायत पूर्वाधार सुधार्न १८ महिना दिइएको छ । यो ठेक्का चिनियाँ कम्पनीले ३ अर्ब ७८ करोड रुपैयाँमा सकारेको थियो ।

आयोजनाका अनुसार अब घामपानीका कारण धावनमार्गको पिच उप्किने, जहाज होल्डमा राख्नुपर्ने समस्या हुनेछैन । सबै कार्य समयभित्रै सकिए पुस १५ पछि काठमाडौं विमानस्थल चौबिसै घण्टा पनि सञ्चालन गर्न सकिनेछ । प्राधिकरणले यो जीर्णोद्धारले धावनमार्ग कम्तीमा २० वर्षसम्म चौबिसै घण्टा सञ्चालन गर्न सकिने क्षमताको बन्ने जनाएको छ । अहिले विमानस्थलले नोटाम (नोटिस फर एयरम्यान) जारी गर्दै राति १० देखि बिहान ८ बजेसम्म उडान रोकेको छ । काठमाडौंमा दैनिक ८० हाराहारी विदेशी उडान/अवतरण र २ सय ८० हाराहारी आन्तरिक उडान/अवतरण हुन्छन् ।

प्रकाशित : असार ४, २०७६ २२:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?