मेलम्चीको ठेक्का आह्वान, ११ महिनामा पानी आउने

याङ्ग्री र लार्केको कामसमेत अघि बढाइने 
दीपेन्द्र विष्ट

काठमाडौँ — खानेपानी तथा सरसफाइ मन्त्रालयले मेलम्ची खानेपानी आयोजनाको सुरुङसहित बाँकी निर्माणको काम गर्न ठेक्का आहवान गरेको छ । करिब ६ महिनादेखि ठप्प रहेको आयोजनाको काम अघि बढाउन ठेक्का आहवान गरिएको हो । 

मेलम्चीको ठेक्का आह्वान, ११ महिनामा पानी आउने

मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माका अनुसार १० वटा प्याकेजमा टेन्डर आहवान गरिएको छ । ‘व्ययभार नबढ्ने गरी टेन्डर आहवान गरेका छौं,’ उनले भने, ‘चाँडै सबै प्रक्रिया पुर्‍याएर काम अघि बढाउँछौं ।’


सचिव शर्माका अनुसार मेलम्चीको बाँकी कामलाई मुख्य दुइटा प्याकेजमा विभाजन गरिएको छ । त्यसभित्र ससाना गरी १० वटा प्याकेजमा बाँडिएको छ । पहिलो प्याकेजभित्र हेड वर्क्सअन्तर्गतको ड्याम निर्माण, पुल निर्माणलगायत छन् भने दोस्रो प्याकेजमा सुरुङभित्रको फिनिसिङ, गेट, भेन्टिलेटरलगायत निर्माण कार्य छन् । विभिन्न प्याकेजमा काम गर्दा करिब ११ महिनाभित्र पानी उपत्यकामा ल्याउन सकिने सचिव शर्माले बताए । सुरुङलगायतका काम सम्पन्न गर्न करिब २ अर्ब ५२ करोड रुपैयाँ लाग्ने आयोजनाको अनुमान छ ।


इटालियन कम्पनी सीएमसीले ठेक्का सम्झौता तोडेपछि करिब एक महिनाअघि सरकारले स्थानीय ठेकेदारलाई परिचालन गरी मेलम्ची आयोजनाको काम सम्पन्न गर्ने निर्णय गरेको थियो । सरकारले बाँकी काम सीएमसीद्वारा नै गराउने प्रयास गरे पनि २ अर्ब ५२ करोड दिएर पुनः १ अर्ब दिनुपर्ने माग राखेपछि स्थानीय ठेकेदारलाई परिचालन गरेर काम अघि बढाउन लागिएको हो ।


गत पुसमा सीएमसीले आफू आर्थिक रूपमा ‘टाट पल्टेको’ घोषणा गर्दै काम छाडेपछि बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको काम ठप्प छ । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी उपत्यकामा ल्याउने खानेपानी मन्त्रालयको लक्ष्य छ ।


सुरुङ निर्माणको काम अघि बढ्ने भएपछि एसियाली विकास बैंक (एडीबी) याङ्ग्री र लार्के सुरुङलगायत अन्य संरचनामा लगानी गर्न इच्छुक भएको शर्माले बताए । काम अघि नबढेसम्म याङ्ग्री र लार्केमा लगानी गर्न एडीबी यसअघि इच्छुक थिएन । ‘अब सबै काम सहज भएको छ,’ सचिव शर्माले भने, ‘मेलम्चीअन्तर्गतका सबै काम तीव्रताका साथ अघि बढ्छन्, कुनै किसिमको अवरोध नआए समयमै पानी उपत्यकामा आउँछ ।’ परामर्शदाता कम्पनी इप्टिसाले याङ्ग्री र लार्केको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) मेलम्ची खानेपानी आयोजनालाई बुझाइसकेको जानकारी शर्माले दिए । उनले डीपीआरअनुसार काम अघि बढाइने बताए । ‘अन्तर्राट्रिय विज्ञले यस विषयमा छलफल गरेर डीपीआरलाई अन्तिम रूप दिइएको छ,’ सचिव शर्माले भने ।


सिन्धुपाल्चोकको याङ्ग्री र लार्के खोलाबाट १७/१७ करोड लिटर पानी उपत्यकामा ल्याउने लक्ष्य आयोजनाको छ । यी खोलाबाट थप पानी आपूर्तिका लागि सुरुङको संरचना निर्माण सुरु भइरहेको ती अधिकारीले बताए । मेलम्चीदेखि लार्केबीच निर्माण गर्नुपर्ने सुरुङको लम्बाइ ११ किमि छ । मेलम्चीको अम्बाथान (हेडवर्क्स) बाट २ किलोमिटर पर लार्के खोला छ । लार्केबाट याङ्ग्रीको मुहानसम्म २ किलोमिटर सुरुङ बनाएर ल्याइने पानी सिधै मेलम्चीको हेडवर्क्स अम्बाथानमा मिसाइन्छ । तीनवटै खोला मेलम्ची, याङ्ग्री र लार्केबाट गरी दैनिक ५१ करोड लिटर पानी अम्बाथानदेखि २६ किलोमिटर टाढाको सुन्दरीजलमा सुरुङबाट ल्याइनेछ ।

प्रकाशित : असार ४, २०७६ २२:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?