कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

एक लाख भुटानी पुनर्वास जाँदैमा शरणार्थी समस्या समाधान भएको ठहर्दैन : नेता रिजाल

काठमाडौँ — भुटानी मानवअधिकारवादी नेता टेकनाथ रिजालले भुटानबाट जबरजस्ती लखेटिएका एक लाखभन्दा बढी नेपालीभाषी नागरिकलाई नेपालबाट पुनर्वासमा लैजाँदैमा शरणार्थी समस्या समाधान भएको मान्न नमिल्ने बताएका छन् ।

एक लाख भुटानी पुनर्वास जाँदैमा शरणार्थी समस्या समाधान भएको ठहर्दैन : नेता रिजाल

‘शरणार्थी समस्या समाधानको पहिलो आधार र विश्वव्यापी मापदण्ड भनेको स्वेच्छिक घरफिर्ती हो,’ विश्व शरणार्थी दिवसको अवसरमा नेता रिजालले कान्तिपुरसाग बिहीबार भने, ‘तर, घरफिर्तीका पक्षमा एकजना शरणार्थी पनि भुटान फर्कन नपाएको अवस्थामा यो समस्या समाधान भैसक्यो भनेर नेपाल, भुटान वा अन्तर्राष्ट्रिय समुदायले बोल्न मिल्दैन ।’


रिजालले झापा–मोरङमा राखिएका शिविरहरुमा रहेकामध्ये शरणार्थी र गैर–शरणार्थी छुट्ट्याउने भन्दै वर्गिकरणको प्रपन्च रचिएबाटै भुटान सरकारको ‘मनसाय स्पष्ट भएको’ भन्दै पछि शरणार्थी समस्या समाधानको वार्तास्थलबाटै भागेर भुटानले अन्तर्राष्ट्रिय समुदायमाझ विश्वास गुमाइसकेको प्रतिक्रिया दिए ।


‘शरणार्थी समस्या समाधानमा लागेका हामी अगुवाहरुबीच पनि साझा सहमति जुट्न नसकेको यथार्थलाई आत्मसात गर्नैपर्ने हुन्छ,’ रिजालले भने, ‘तेस्रो मुलुकमा पुनर्वास कार्यक्रम सुरु भएपछि शरणार्थीहरुबीच पनि समस्या समाधानमा एकमत जुट्न सकेन ।’


तर, पुनर्वासका नाममा भुटानी घर–परिवारको समाजिक र मानसिक स्थिती बिथोलिने गरी बाबुआमा शिविरमा र छोराछोरीलाई अमेरिका–अष्ट्रेलिया पुर्‍याइएको अवस्था मानवअधिकार दृष्टिमा पनि ‘दयनीय’ देखिन थालेको उनले बताए । अहिले पनि झापाको दमक र मोरङको पथरीमा झण्डै ७ हजार भुटानी शरणार्थी ‘घरफिर्ती न पुनर्वास’को स्थितीमा रहेको बताउँदै यी नागरिकका लागि विश्व खाद्य संगठनले रासनपानी समेत दिन बन्द गरिसकेको बताए ।


‘अझै पनि शरणार्थी शिविरमा राष्ट्रसंघीय एजेन्सी (युएनएचसीआर) र अन्य निकायले अनेक कारण देखाएर सर्वेक्षण गर्ने, फर्म भराउने काम गरिरहेकै छन्,’ रिजालले भने, ‘राष्ट्रिय र अन्तर्राष्ट्रिय छवि बिस्तार गर्नका लागि भएपनि नेपाल सरकारले शरणार्थी घरफिर्तीको पहललाई जोड दिनु जरुरी छ, शिविरमा रहेका र घरफिर्ती चाहने भुटानीलाई घरफिर्ता गर्न नेपाल सरकारले बुद्धिमत्ता देखाउनु आवश्यक छ ।’


शरणार्थी शिविरबाहेक बाहिर पनि ठूलो संख्यामा भुटानी शरणार्थी ‘परिचय पत्रबिहिन’ अवस्थामा रहेको ध्यानाकर्षण गराउँदै रिजालले मानव अधिकार र अन्तर्राष्ट्रिय सन्धी/प्रावधानअनुसार पनि सरकारले भुटानी नागरिकको निराशाजन्य अवस्थालाई तत्काल सम्बोधन गर्न समेत उनले आग्रह गरेका छन् ।


प्रकाशित : असार ५, २०७६ १७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?