कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

सोलारको भरमा स्थानीय तह 

एलिसा श्रेष्ठ

भोजपुर — भोजपुरका ९ वटा स्थानीय तहहरुमा अहिलेसम्म विद्युतको पहुँच पूर्ण रुपमा पुग्न सकेको छैन । जिल्लाका साल्पासिलिछो गाउँपालिका र आमचोक गाउँपालिका विद्युतबिहीन छन् । गाउँपालिका कार्यालयसम्म विद्युत नपुग्दा पालिकाका दैनिक काम गर्न समस्या भइरहेको छ ।

सोलारको भरमा स्थानीय तह 

केन्द्रीय प्रसारणको विद्युत नहुँदा स्थानीयस्तरमै बिद्युत उत्पादन गरे पनि उक्त विद्युत रातिमात्र प्रसाण गर्ने भएकाले आमचोक गाउँपालिकाको कार्यालयको काम प्रभावित बनेको हो । पालिकामा विद्युत नहुँदा पालिकाको सम्पुर्ण काम सोलार सेटकै भरमा कार्यालयको प्रिन्टिङ, फोटोकपी, कम्प्युटर, इन्टरनेट, डकुमेन्टेसन जस्ता अत्यावश्यक काममा असहजता भएको आमचोक गाउँपालिकाका सूचना प्रविधि अधिकृत नवीन श्रेष्ठले बताए ।


‘भौगोलिक विकटता सँगै आमचोकमा बढी मात्रामा हुस्सु लाग्ने राम्ररी घाम नलाग्ने भएकाले सोलारको व्याट्रीले पनि काम गर्दैन । केन्द्रिय प्रसारणको विधुत विस्थारका लागि पहल भई रहेता पनि अहिले सम्म साल्पासिलिछो गाउँपालिकामा केन्द्रिय प्रसारणको विधुत जडान हुन सकेको छैन ।


स्थानीय स्तरमा विद्युत उत्पादन गरेनि उक्त विद्युतले गाउँपालिकाको एक सय ५० घर धुरिलाई मात्र पुग्ने भएकाले गाउँपालिकाको कार्यालयको कामकाज भने सोलारकै भरमा सञ्चालन भैरहेको साल्पासिलिछो गाउँपालिकाका प्रमुख महेश राईले बताए । विद्युत नहुँदा कम भोल्टेजको सोलारको भर पर्दा कतिपय जरुरी काम गर्न समेत गाह्रो भइरहेको राईले बताए । उनले भने ‘ कष्टकर तरिकाले कार्यालयको काम गर्नु परिरहेको छ । काम गर्दा गदै कति खेर सोलार को ब्याट्री सकिने हो टुंगो हुँदैन ।’


विद्युत नभएका कारण स्थानीयले धेरै सास्ती खेप्दै आएका छन् । आफ्नो ठाउँमा विद्युत नभएका कारण एक कपी सादा फोटोकपी गर्न पनि १० रुपैयाँ तिर्नुपर्ने बाध्यता रहेको साल्पासिलिछोका उत्तरकुमार राईले बताए । उनले भने, ‘महंगो सुल्क त छदैछ भनेको बेला त्यो फोटोकपी पनि गर्न पाईदैन । विद्युत नहुँदा सञ्चारबाट समेत टाठा हुनुपरेको छ । भनेको बेला मोबाइल समेत चलाउन पाईदैन ।’


प्रायः स्थानीय तहहरुले सडकलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेका कारण समेत विद्युत सेवा विस्तारले महत्व पाउन सकेको छैन । भोजपुरका दुई वटा गाउँपालिका विद्युत विहिनै छन् । भोजपुर नगरपालिकाका दुईवटा वडामा विद्युत विस्तारकै क्रममा छ । त्यसै गरी षडान्नद नगरपालिकाका पाँचवटा वडाहरुमा विद्युत विस्तार भएको छैन ।


पौवादुङमा गाउँपालिकाका दुईवटा वडाहरुमा विद्युत विस्तार भएको छैन । टेम्केमैयुङ गाउँपालिकाका चारवटा वडाहरुमा विस्तार हुन बाँकी नै छ । अरुण गाउँपालिकामा एउटा वडामा विद्युत विस्तार भएको छैन । रामप्रसादराई गाउँपालिकाका दुईवटा वडा बाँकी रहेका छन् । हतुवागडी गाउँपालिकामा दुईवटा वडाहरुमा मात्र विद्युत विस्तार भएका छन् ।


विद्युत सेवा नभएकै कारण गाउँपालिका कार्यालय मात्रै नभएर बैंकीङ सेवा, विद्यालय, स्वास्थ्य केन्द्र समेत प्रभावित भएका छन् । सडकलगायत पूर्वाधारको विकाससँगै विद्युतको समेत नियमित र सहज उपभोग गर्न पाए भोजपुरको ग्रामिण भेगका स्थानीयको जनजीवनमा पक्कै पनि नयाँ ऊर्जा आउने थियो ।

प्रकाशित : असार ५, २०७६ २०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?