कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

जहाँबाट जिप खस्यो

‘हामीले सडक नखनेर आफ्नै दाजुभाइको खाल्डो खनेका रहेछौं’

बझाङ — १० जनाको ज्यान जाने गरी सोमबार जिप दुर्घटना भएको सडक कुनै पनि इन्जिनियरिङ मापदण्ड पूरा नगरी निर्माण भएको पाइएको छ । जयपृथ्वी नगरपालिकाको पानकोटदेखि मस्टा गाउँपालिकाको भुस्या जोड्ने यो सडक बिनाकुनै सर्भे डिजाइन दुई–दुई पटक निर्माण गर्दा लाखौं रकम खर्चिएको थियो । 

जहाँबाट जिप खस्यो

२०७२ सालमा पहिलो पटक निर्माण थाल्दा पानकोटदेखि डुग्राकोट हुँदै साविक कोटदेवल गाविसको भुवाँढुस्कासम्म डोजरले खनेको थियो । जिविसको डोजर प्रयोग गरेर सडक खनिए पनि यसमा प्राविधिक प्रयोग गरिएको थिएन । स्थानीय अपरेटरको सल्लाहका आधारमा डोजरले सडक खनिएको थियो ।


त्यतिबेला कोटदेवल गाविस र साविक जिल्ला विकास समिति बझाङको करिब ४० लाख रकम खर्च भएको थियो । त्यसमध्ये सोमबार दुर्घटना भएको बिन्दु डौठीबाट डुग्राकोटसम्मको साढे तीन किलोमिटर सडकखण्डमा मात्र २० लाख रुपैयाँ हाराहारीमा रकम डोजरलाई तिरिएको थियो । यति धेरै खर्च गरेर खनिए पनि डौठी–डुग्राकोट खण्डमा गाडी चल्न सकेनन् ।


‘हामीसँग प्राविधिकको सल्लाहअनुसार सडक खन्न पर्याप्त रकम थिएन । जसरी पनि रोड रनाडासम्म पुर्‍याउनुपर्ने थियो,’ तत्कालीन सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष कलकबहादुर खड्काले भने, ‘त्यसैले गाउँले र डोजर ड्राइभरको सल्लाहमा जताजता छोटो पर्छ त्यतैत्यतै खन्यौं ।’


छोटो दूरीमा सातवटा घुम्ती बनाएर काटिएको सडक काम नलाग्ने भएपछि डौठीबाट डुग्राकोटतिरका घुम्ती छाडेर पछिल्लो पटक सोझै कोटदेवलसम्म बाटो काटिएको थियो । त्यसका लागि मस्टा गाउँपालिकाले २०७४ सालमा पुनः ९२ लाख रुपैयाँ खर्चिएको थियो ।


अर्को पटक सडक काटदा पनि प्राविधिक पक्षको ख्याल गरिएन । गाउँले र डोजर अपरेटर नै इन्जिनियर बने । फलस्वरूप सोमबार दुर्घटना भयो । डौठीको घुम्तीबाट खसेको जिप करिब एक किलोमिटर तल रहेको अनागाड खोला किनारको भीरमा खस्यो । १० जनाले घटनास्थलमै ज्यान गुमाए ।


दुर्घटनामा ज्यान गुमाउनेमध्ये सात जना मानिस तत्कालीन उपभोक्ता समिति अध्यक्ष खडकाकै आफन्त परे । ‘हामीले सडक नखनेर आफ्नै दाजुभाइको खाल्डो खनेका रहेछौं,’ खडकाले भने, ‘राम्रा इन्जिनियरलाई देखाएर निर्माण गरिएको भए आज यो दिन देख्नुपर्ने थिएन । हाम्रो अल्पज्ञानले आफैंलाई पिरोल्यो ।’


डौठीको घुम्ती अत्यन्तै साँघुरो र ठाडै उकालो भएका कारण सोमबारको दुर्घटना भएको सुरक्षा निकायको निष्कर्ष छ । छंगाछुर भीरमा बनाइएको साँघुरो र उकालो घुम्तीमा गाडीले नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारको भनाइ छ । मस्टा गाउँपालिका १ का वडाध्यक्ष राजेन्द्र खडकाले पनि उकालो घुम्तीमा ग्रेडिङ नमिलेकाले दुर्घटना भएको बताए । ‘इन्जिनियरले हेर्दा त्यो घुम्तीमा तीन मिटर ग्रेड घटाउनुपर्ने (उकालो ठाउँलाई तीन मिटर होचो बनाउनुपर्ने) सुझाएका थिए । त्यसका लागि आगामी वर्ष बजेट छुट्याउने सल्लाह भएको थियो, त्यसअघि नै यस्तो दुर्घटना भयो,’ उनले भने ।


मापदण्ड पूरा नगरेकैले दुर्घटना निम्तिएको र जिल्लाका अन्य सडकको अवस्था पनि यस्तै रहेको प्राविधिक बताउँछन् । ‘डोजर अपरेटरलाई इन्जिनियर मान्ने गरेका कारण बझाङमा महिनैपिच्छे यस्ता घटना हुने गरेका छन्,’ जिल्ला समन्वय समितिका इन्जिनियर लालबहादुर थापाले भने, ‘जसले जसरी सडक बनाए पनि कतैबाट अनुगमन हुन्न ।’

प्रकाशित : असार ६, २०७६ ०७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?