कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

स्थानीयले फर्काए मेलम्चीका ठेकेदार

व्यवसायी र कामदारले पाउनुपर्ने १६ करोड ५० लाख ३८ हजार भुक्तानी नदिएसम्म काम गर्न नदिने चेतावनी 

सिन्धुपाल्चोक र काठमाडौं — मेलम्ची खानेपानी आयोजनाको ठेक्का पाएपछि आयोजनास्थल पुगेका ठेकेदारलाई स्थानीयले फर्काइदिएका छन् । सीएमसीले काम गर्दाको पारिश्रमिक नपाएका भन्दै पीडित व्यवसायीले बुधबार कार्यस्थल पुगेका श्रेष्ठ कन्स्ट्रक्सनका ठेकेदारलाई फर्काएका हुन् ।

स्थानीयले फर्काए मेलम्चीका ठेकेदार

सरकारले आफूखुसी मुहानको हेडवर्क्स स्थलमा काम गर्न ठेकेदारलाई पठाएको भन्दै उनीहरूले नाराबाजीसमेत गरे । ‘हाम्रो डुबेको सबै रकम भुक्तानी दिएपछि मात्रै काम गर्न दिन्छौं, अन्यथा आयोजना अगाडि बढदैन,’ सीएमसीपीडित संघर्ष समितिका सचिव राजकुमार भट्टराईले भने । व्यवसायी, कामदार सबैले आक्रोश पोखेपछि श्रेष्ठ कन्स्ट्रक्सनका ठेकेदार फर्किएको उनले सुनाए ।


स्थानीय व्यवसायी र कामदारले आफूहरूले पाउनुपर्ने १६ करोड ५० लाख ३८ हजार भुक्तानी नदिएसम्म काम गर्न नदिने चेतावनी दिएका छन् । ‘करोडौं मूल्यका दर्जनौं उपकरण र सवारीलगायतका मेसिन आयोजनास्थलमा यत्तिकै थन्क्याएर राखिएको छ, अझै झुक्याएर हाम्रो डुबेको रकमलाई नजरअन्दाज गरिनु कहाँको न्याय हो ?’ व्यवसायी दिनेश श्रेष्ठले प्रश्न गरे । त्यतिखेर सीएमसीले नदिए आफूले रकम दिलाउने भनेर मेलम्ची खानेपानी आयोजना बोर्डले ढुक्क बनाएको व्यवसायीले बताए । ‘अहिले न पैसा पाइयो न उपकरण,’ उनले भने । ७५ करोडबराबरको सामग्री र २० करोडभन्दा माथिको उपकरण आयोजनाले राखेको उनले प्रस्ट्याए ।


४६ दिनभित्र दैनिक १७ करोड लिटर पानी राजधानी लैजाने आयोजनाको ठेकेदार कम्पनी भागेपछि निर्माणमा संलग्न नेपाली कामदारले तलब भत्ता र सञ्चय कोषबापत १ अर्ब भुक्तानी पाएका छैनन् । त्यसमा जिल्लाका १२ फर्मवालाले मात्रै सीएमसीबाट १६ करोड ५० लाख ३८ हजार ५ सय रुपैयाँ लिन बाँकी छ । व्यवसायीसँगै स्थानीयले आयोजनाप्रति आक्रोश व्यक्त गरेको हेलम्बु गाउँपालिकाका प्रमुख निमाग्याल्जेन शेर्पाले बताए । ‘आयोजना सम्पन्न होस् भन्ने लक्ष्य लिएका हौं तर व्यवसायी र कामदारको पसिना मारिनु हुँदैन,’ उनले भने ।


५ प्रतिशत काम बाँकी

अन्तिम फिनिसिङलगायतका ५ प्रतिशत काम बाँकी रहँदा ठेकेदार कम्पनी भागेपछि मेलम्ची खानेपानी आयोजना अन्योलमा छ । मेलम्चीमा खनिसकेको साढे २७ किमि सुरुङमध्ये २ किमिमा फाइनल फिनिसिङ (पिच), ३ मध्ये २ वटा भेन्टिलेसन साफ्ट निर्माण, हाइड्रो मेकानिकल जडानको काम बीचैमा रोकिएको छ । ‘त्यसबाहेक सुन्दरीजल सप्लाई जडान, इन्ट्युमेन्टेसन जडान, पानी प्रशोधन केन्द्र(२ को निर्माण र मेलम्चीको पानी सुरुङमा लान इन्टेक निर्माण बाँकी थियो,’ एक कर्मचारीले भने । आयोजनाले ४६ दिनभित्र यी सबै निर्माण कार्य सम्पन्न गर्नका लागि सीएमसीलाई समय दिएको थियो ।


समन्वय अभावले १७ करोड बढीको पाइप क्षति

मेलम्ची खानेपानी आयोजनाले स्थानीय निकायले जथाभावी सडक खन्दा १७ करोड रुपैयाँको भन्दा बढीको पाइप क्षति पुगेको जनाएको छ । मेलम्चीअन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालयले विभिन्न निकायसँग समन्वय नगरी जथाभावी सडक खन्दा खानेपानी पाइपमा क्षति भएको हो । निर्देशनालय प्रमुख त्रिरेशप्रसाद खत्रीका अनुसार समन्वय नगरी सडक खन्ने हो भने आगामी दिनमा पाइप लाइनमा ठूलो क्षति हुनेछ ।


‘मेलम्चीको पानी आउन झन्डै एक वर्षजति लाग्ला जस्तो छ, तर पाइपको हालत नाजुक भइसकेको छ,’ उनले भने, ‘यसरी समन्वय नगरी जाने हो भने पाइप लाइनमा ठूलो क्षति हुन सक्छ ।’ ललितपुर र काठमाडौं महानगरले सडक कालोपत्रे र ढल बिछ्याउने क्रममा सडक खन्दा पाइप क्षतविक्षत भएको उनले बताए । साथै, सडक विभागले विभिन्न स्थानमा सडक खन्दा मुख्य तथा शाखा पाइप टुक्राटुक्रा भएको उनले बताए । ज्ञानेश्वर, नयाँ बानेश्वर, क्षेत्रपाटी, ठमेल, भीमसेनगोला, सानेपा, झम्सिखेल, कात्यानीचोक, मिलनचोकलगायत क्षेत्रमा ठूलो क्षति भएको छ ।


त्यसैगरी, अधिकार सम्पन्न वाग्मती एकीकृत विकास समितिले र काठमाडौं उपत्यका विकास प्राधिकरणले पनि ढल बिछ्याउँदा पाइपमा क्षति पुगेको उनले बताए । आयोजनाले सडक डिभिजन कार्यालय ललितपुरसँग १ करोड ८० लाखभन्दा बढी, सडक डिभिजन कार्यालय काठमाडौसँग ४ करोड १८ लाखभन्दा बढी, काठमाडौं महानगरपालिकासँग ४ करोड ९५ लाखभन्दा बढी, ललितपुर महानगरसँग ४५ लाखभन्दा बढी, अधिकार सम्पन्न वाग्मती एकीकृत विकास समितिसँग १ करोड ५१ लाखभन्दा बढी, काठमाडौं उपत्यका विकास प्राधिकरणसँग १ करोड ६६ लाखभन्दा बढी क्षतिपूर्ति माग गरेको छ ।


त्यसको जानकारी सम्बन्धित निकायलाई समेत गरिसकेको उनले बताए । काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रमुख आयुक्त भाइकाजी तिवारीले आफूहरूले ढल बिछ्याउँदा पाइप लाइनमा कुनै पनि क्षति नभएको दाबी गरे । ‘धोबीखोली करिडोरमा आयोजनाले पाइप लाइन बिछ्याउँदा उल्टै फुटपाथमा क्षति भएको छ,’ उनले भने, ‘हामीले क्षति माग्नुपरेको छ ।’


अधिकार सम्पन्न वाग्मती एकीकृत विकास समितिले पनि पाइप बिछ्याउँदा करिडोरमा क्षति भएको दाबी छ । समितिका आयोजना प्रमुख आशिष घिमिरेले पाइप बिछ्याउँदा विभिन्न स्थान क्षति भएको दाबी गरे ।


काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले विकास निर्माणका क्रममा केही स्थानमा क्षति भएको हुन सक्ने बताए ।

‘कतै क्षति भएको हुन सक्छ,’ उनले भने, ‘यदि क्षति भएको भए त्यसलाई सम्बोधन गर्न तयार छौं, तर स्पष्ट रूपमा जानकारी आउनुपर्‍यो ।’


पाइप बिछ्याउँदा महानगरसँग समन्वय गरेर अघि बढ्नुपर्ने पनि उनले बताए । ललितपुर महानगरपालिका प्रवक्ता राजु महर्जनले क्षति भएको स्थानमा पाइप मर्मत गर्ने काम गरेको बताए । ‘आयोजनाले गुनासोको स्थानमा पाइप मर्मत गरिदिएका छौं,’ उनले भने, ‘कहीँकतै भए त्यो पनि मर्मत गरिदिन्छौं ।’

प्रकाशित : असार ६, २०७६ ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?