कतारमा अलपत्र नेपाली भन्छन्-  ‘हामीलाई नेपाल फर्कन सहयोग गर्नुहोस्’

डम्बरसिं राई

खोटाङ — कतारमा अलपत्र ७ नेपाली अझै समस्याको सामना गरिरहेका छन् । मे २२ तारिख अर्थात् जेठ ८ गते त्यहाँ पुगेका उनीहरुले नेपाल फर्कन सहयोग मागेका छन् । मेनपावर कम्पनीले संझौताअनुसार काम नदिएकाले उनीहरु अलपत्र परेका हुन् । उनीहरु कतारको दोहा नज्मा भन्ने ठाउँमा छन् । दुई दिनअघिसम्म भने दोहाको अल्सादमा थिए ।

अलपत्र पर्नेहरुमा खोटाङ केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका २४ वर्षीय सुमन तामाङ, २१ वर्षीय तेजबहादुर अधिकारी, २४ वर्षीय टिकाराम खत्री, १९ वर्षीय कविराज खत्री छन्। त्यस्तै काठमाडौं थानकोटका २१ वर्षीय भुवन तामाङ, काभ्रे धुनिखेलका २३ वर्षीय सनकुमार तामाङ, रसुवाको कालिका गाउँपालिका–२ का २४ वर्षीय राजन मोक्तान समेत अलपत्र परेका छन्।

उनीहरु काठमाडौंको गोगंबुस्थित पश्चिम नेपाल ओभरसिज प्रालिमार्फत कतार पुगेको केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका सुमन तामाङले बताए। ‘हामीलाई १२ देखि १४ सयसम्म तलब दिने भनेर प्रतिव्यक्ति एक लाख ५० हजार रुपैयाँ लिए’ तामाङले भने–‘तर त्यसको बदला कतार ल्याएर हामीलाई अलपत्र पार्‍यो।’ तामाङले अनुरोध गरे–‘हामी नेपाल फर्कन चाहन्छौं, सहयोग गर्नु पर्‍यो।’

त्यहाँस्थित दूतावास जाने खर्चसमेत नहुँदा थप समस्यामा परेको उनीहरुले बताएका छन्। ‘दूतावास जाने खर्च पनि छैन।’ तामाङले भने–‘अब के गर्ने भन्ने नै थाहा छैन।’ आफूहरु अलपत्र परेको समाचार आएपछि तीन दिनदेखि सन्देश केसी नामको व्यक्ति आएर नेपाल पठाउँने आश्वासन दिए पनि अहिलेसम्म नपठाएको तामाङले सुनाए। ‘समाचार आएपछि सन्देश केसी भन्ने एजेन्ट आएर नेपाल फर्काउने आश्वासन दिएको छ।’ तामाङले भने–‘डुबेको पैसाको कुरा गर्दा यसको जिम्मेवारी नहुने भन्छ।’

यसबारेमा नेपाली दूतावासमा फोन गर्दासमेत बेवास्ता गरेको तामाङले गुनासो गरे। खोटाङ सेवा समाज कतारका अध्यक्ष रुद्र शर्माले आफूहरुको तर्फबाट सहयोग हुने बताए पनि पछिल्लो समय भेट हुन नसकेको तामाङको भनाइ छ।

प्रकाशित : असार ६, २०७६ २०:५०
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

दिक्तेल सडक खण्डको कालोपत्रे तीव्र

डम्बरसिं राई

खोटाङ — मध्यपहाडी लोकमार्ग अन्तर्गत बाझेच्यानडाडाँ–दिक्तेल सडक खण्डको कालोपत्रे तिब्र गतिमा भइरहेको छ । अवधि सकिए पनि काम अपूरै हुँदा चौतर्फी दबाब आएपछि कालोपत्रेको कामले गति लिएको हो ।

राष्ट्रिय गौरवको आयोजना अन्तर्गत पर्ने यो सडक खण्डको (८८ किलोमिटर) मध्ये दारुलाडाडाँ–दिक्तेलसम्मको १८ किलोमिटर सडकको कालोपत्रे यसै असारभित्र सक्ने गरी काम बढाइएको निर्माण कम्पनी सम्बद्ध साङ्गे सेर्पाले बताए । अन्य सडक खण्ड भने आगामी वर्ष मात्र सकिने सेर्पाले सुनाए ।

यो सडकको चारवटा प्याकेजमाठेक्का लागेको थियो । एक नम्बरर दुई नम्बर प्याकेजको २०७२ वैशाख२ गते, तीन नम्बर प्याकेज २०७२ असार १६ गते र चार नम्बर प्याकेजको २०७२ चैत १६ गते दुई वर्षभित्र सक्ने गरी रमण गोल्डेन गुड जेबी कम्पनीले सडक विभागसँग सम्झौता गरेको थियो ।

यसमध्ये एक र दुई नम्बरको प्याकेजको अवधि थपेर आगामी असारसम्म पुर्‍याइएको छ । तीन र चार नम्बर प्याकेजको अवधि आगामी चैतसम्मका लागि थपिएको छ । सेर्पाका अनुसार एक नम्बर च्यानडाडाँ–पेलुङसम्मको (१० किलोमिटर) ५० प्रतिशत, दुई नम्बर प्याकेज पेलुङ–दारुलासम्म (८ किलोमिटर) ६० प्रतिशत, तीन नम्बर प्याकेज दारुला–कालिखोला (९ किलोमिटर) ८० प्रतिशत र चार नम्बर प्याकेज कालिखोला–दिक्तेल (९ किलोमिटर) ९५ प्रतिशत काम सकिएको छ ।

त्यसो त करिब एक अर्ब, नौ करोड, १९ लाख रुपैयाँको लागतमा सम्पन्न हुनु पर्ने यो सडक बेलामा नसक्दा अब यसको लागत करिब सवा अर्ब पुग्ने भएको छ । पेटी ठेक्का, बेलामा सडक पुल नबन्नु लगायतका कारण ढिलाई भएको सेर्पाले बताए ।

यस सडक खण्डमा आठ पुलमध्ये चार वटा मात्र सकिएको छ । सकिएको चार वटा सडक पुलको ठेक्का गोल्डेन गुड निर्माण कम्पनीले लिएको थियो । उक्त निर्माण कम्पनीले ठेक्का लिएको कालिखोला, लप्सेखोला, दाम्देखोला र साप्सुखोला सडक पुल सकिएर सञ्चालनमा आइसकेको छ । अन्य चारवटा सडक पुल भने अत्तो पत्तो छैन ।

यो सडक खण्डमै पर्ने भुल्केखोलाको पुल निर्माण सुरु गर्नासाथ वर्षादा कारण बन्द भएको छ । यहाँ रहेको धार्मिकतथा पर्यटकीय भुलभुलेलाई असर पर्ने भएकाले उक्त पुल केही तल्तिर सार्नु पर्ने हुदाँ निर्माणमा ढिलाई भएको निर्माणमा संलग्न सगरमाथा घिमिरे निर्माण सेवा सम्बद्ध कृष्णप्रसाद घिमिरेले बताए । भालुखोला, छेपेखोला र मेवा खोलाको सडक पुलको भने ठेक्कै लागेको छैन । पुल नबन्दा सडक निर्माणमा समस्या भएकोसेर्पाले सुनाए ।

प्रकाशित : असार ५, २०७६ १०:१३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT