१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

कार्यकर्तालाई प्रशिक्षण दिन का‌ंग्रेसका आधा दर्जन नेता डेनमार्क पुगे 

काठमाडौँ — कांग्रेसको जनसम्पर्क समितिमा आवद्ध पार्टी कार्यकर्ताहरुका लागि तीन दिने प्रशिक्षण शनिबारबाट सुरु भएको छ । कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान विभागले कार्यक्रम आयोजना गरेको हो ।

कार्यकर्तालाई प्रशिक्षण दिन का‌ंग्रेसका आधा दर्जन नेता डेनमार्क पुगे 

कांग्रेस उपसभापति समेत रहेका विभागका संयोजक विमलेन्द्र निधिले प्रशिक्षणको उद्घाटन गरे । प्रशिक्षण दिन कांग्रेसका एक दर्जन केन्द्रीय नेताहरु डेनमार्क पुगेका छन् ।


पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यहरु रामशरण महत, मिनेन्द्र रिजाल, भिष्मराज आङदम्बे, धनराज गुरुङ, गोविन्द भट्टराई, प्रतिष्ठान विभागका कार्यकारी निर्देशक पुरुषोत्तम दाहाललगायतले कार्यपत्र प्रस्तुत गर्दै छन् ।


प्रचार–प्रसार समितिका संयोजक एवं पत्रकार प्रकाश ढकालका अनुसार पार्टीको अनुशासन, विधानदेखि पार्टीको नीति सिद्धान्तका बारेमा १६ वटा कार्यपत्र प्रस्तुत गर्ने तयारी छ ।


‘लोकतान्त्रिक समाजवादको कांग्रेसको नीतिलाई कसरी प्रभावकारी बनाउने ? सैद्धान्तिक र व्यवहारिक पक्षलाई कसरी जोड्ने लगायतका बिषयमा गहन ढंगको छलफल हुने भएको छ’ प्रतिष्ठानका कार्यकारी निर्देशक दाहालले टेलिफोनमा भने, ‘यो कार्यक्रमको उद्देश्य पार्टीभित्रको आन्तरिक संगठनसँगै अर्न्तराष्ट्रिय सम्बन्धमा पनि बलियो बनाउने हो ।’


विश्वभर रहेका ३३ जनसम्पर्क समिति मध्ये २३ जनसम्पर्क समितिका २ सय १५ प्रतिनिधि प्रशिक्षणमा सहभागी छन् ।


कार्यक्रमको सुरुवातमा डेनमार्कको प्रमुख राजनीतिक दल सोस डेमोक्रेटकी पूर्व सांसद यील्डिज एकदोंगानले नेपालको शिक्षा र स्वास्थ्यको बारेमा नेपालले सिक्न सक्ने विशेषताका बारेमा बोलेकी थिइन् ।


त्यस्तै डेनिस इन्स्टिच्यूट फर पार्टीज एण्ड डेमोक्रेसीका व्यौंन फोर्डले नेपालका राजनीतिक दलले लिनपर्ने वातवरण सम्बन्धी नीति र विश्वमा बढ्दै गएको तापक्रम सम्बन्धका धारणा राखेका थिए ।


डेनमार्कमा रहेका नेपाली विज्ञहरुले समेत त्यस क्रममा नेपालले वातावरण, सडक र कृषि विकासमा डेनमार्कबाट सिक्न सकिने विषयहरुका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।


चिकित्सक अमृत राई, इन्जिनियर रमेशकुमार श्रेष्ठ र विभिन्न क्षेत्रमा पिएचडी गरेका सुरज ढकाल, उमाकान्त सापकोटा, शैलस मल्ल, राजन ढकाल, असिका निरौला, राजेश्वर आचार्य र खेमबहादुर अधिकारीलगायतले स्रोत साधनको व्यवस्थापन, फोहरको व्यवस्थापन, सडक, कृषि, वातवरणको विकासलगायतका क्षेत्रमा नेपालले लिनुपर्ने नीति र कार्यक्रमका बारेमा प्रकाश पारेका थिए ।


प्रशिक्षण कार्यक्रम सुरु हुनुअघि जनसम्पर्क समिति डेनमार्कको वार्षिकोउत्सव कार्यक्रमको उद्घाटन उपसभापति निधिले गरेका थिए । त्यस क्रममा उनले विदेशमा रहेका पार्टीका कार्यकर्ता र नेताबाट नेपालले सिक्ने सक्ने सीप र ज्ञानलाई नेपालमा कार्यान्वयन गराउने सन्दर्भमा पार्टीले नीतिगत तहमै छलफल चलाउने चाहेको बताए ।

महामन्त्री सशांक कोइरालाले सरकारका गतिविधिले नेपालको संघीयतालाई कमजोर बनाउने काम भइरहेको बताए । उनले सरकारले ल्याएको बजेटले समेत संघीयता कमजोर बनाउने संकेत गरेको बताए ।


प्रशिक्षण कार्यक्रममा पार्टीको केन्द्रीय स्तरका नेतासहित २२ जनाको जम्बो टोली पुगेको छ । उनीहरुको आउजाउको टिकटको बन्दोबस्त पार्टीबाट र डेनमार्कमा रहँदा खानेबस्ने व्यवस्था स्थानीय जनसम्पर्क समितिबाट गरिएको प्रचार समितिका संयोजक ढकालले बताए ।


‘टिकटको व्यवस्था पार्टीले गरेको हो, उहाँहरुले कसरी गर्नु भयो हामीलाई जानकारी भएन’ उनले भने, ‘डेनमार्कस्थित जनसम्पर्क समितिले खाने, बस्ने प्रबन्ध मात्रै गरेको हो ।’ जनसम्पर्क समिति डेनमार्कका अध्यक्ष विरेन्द्रसि‌ंह कार्कीकाे सभापतित्वमा भएकाे प्रशिक्षण कार्यक्रम सोमबार सकिनेछ ।

प्रकाशित : असार ७, २०७६ १७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?