१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

निलम्बित सांसद चौधरीको नेल हटाइयो

काठमाडौँ — वीर अस्पतालमा उपचाररत राष्ट्रिय जनता पार्टीका निलम्बित सांसद रेशम चौधरीको खुट्टामा लगाइएको फलामे सिक्री (नेल) हटाइएको छ । अन्तर्राष्ट्रिय कानुन र मानवअधिकारको विश्वव्यापी मान्यताविपरीत चौधरीलाई अस्पतालको शय्यामा समेत नेल लगाएर राखिएकामा चौतर्फी विरोध भएपछि शुक्रबार रातिबाटै नेल हटाइएको जानकारी अस्पताल स्रोतले दिएको छ ।

निलम्बित सांसद चौधरीको नेल हटाइयो

फोक्सो र बोनम्यारोमा समस्या देखिएपछि बिहीबार अस्पताल भर्ना गरिएका चौधरीलाई खुट्टामा १४ किलोग्रामको नेल र हातमा हत्कडी लगाएर राखिएको थियो । हतियारधारी प्रहरीले चौधरी भाग्न नसकून् भनेर सुरक्षासमेत दिइरहेका छन् ।


यसैबीच प्रधानमन्त्री केपी ओलीले चौधरीलाई अस्पतालमा नेल लगाएर राख्न आदेश दिने जेल प्रशासनका अधिकारीलाई कारबाही गर्न निर्देशन दिएका छन् । ओलीले मुख्यसचिव लोकदर्शन रेग्मीलाई शनिबार फोन गरी बिरामी चौधरीलाई नेल लगाएर राखिएकामा तीव्र असन्तुष्टि व्यक्त गर्दै त्यसका लागि जिम्मेवार अधिकारीलाई कारबाही गर्न निर्देशन दिएका हुन् । डिल्लीबजार कारागारबाट अस्पताल लगिएका चौधरीलाई कारागार प्रमुखको आदेशमा नेल लगाइएको जानकारी स्रोतले दिएको छ ।


मुख्यसचिव रेग्मीले गृहसचिव प्रेमकुमार राईलाई फोन गरी चौधरीलाई अस्पतालमा नेल लगाएर राख्न लगाउने जेल प्रशासनका सम्बन्धित अधिकारीलाई कारबाही गर्न निर्देशन दिएका छन् । सचिव राईले गृह मन्त्रालयले आन्तरिक छानबिन गरी दोषीमाथि कारबाही गर्ने आश्वासन मुख्यसचिव रेग्मीलाई दिएको स्रोतले जनाएको छ ।


चौधरीलाई नेल लगाएर राखिएको तस्बिर शुक्रबार दिउँसोदेखि सामाजिक सञ्जाल र अनलाइनमार्फत सार्वजनिक भएपछि तीव्र विरोध भएको थियो । चौधरीको कम्मर र ढाडको दुखाइ कम गर्न चिकित्सकले फिजियोथेरापी गराउन सुरु गरेका छन् । चिकित्सकले दुई साता अस्पतालमै राखेर उपचार गर्नुपर्ने जानकारी उनको परिवारलाई दिएका छन् । चौधरी बैशाखीको सहारामा आएको जानकारी अस्पताल स्रोतले दिएको छ ।


स्रोतका अनुसार मुलुकमा कैद सजाय भुक्तान गरिरहेका जुनसुकै व्यक्तिलाई जेल कारागार प्रशासनको आदेशमा अस्पतालमा नेल लगाएरै राख्ने चलन छ ।


समाजवादी पार्टी नेपालका नेता एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवले शनिबार चौधरीलाई अस्पतालमा भेटी उनको स्वास्थ्य स्थितिबारे जानकारी लिएका छन् । भट्टराईले चौधरीलाई नेल लगाइएकोमा विरोध गरेका थिए ।

संविधान सभाबाट संविधान जारी हुनुअघि थरूहट आन्दोलनक्रममा २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको प्रदर्शनक्रममा एसएसपी र नाबालकसहित नौ जनाको हत्या भएको घटनामा चौधरी संलग्न रहेको निष्कर्षसहित जिल्ला अदालत कैलालीले उनलाई जन्मकैदको सजाय सुनाएको थियो ।


टीकापुर घटनापछि भारतमा लुक्दै आएका चौधरी २०७४ मंसिरमा भएको प्रतिनिधिसभा चुनावमा कैलाली–१ बाट सांसद निर्वाचित भएका थिए । सरकारले राजपाको दबाबमा हिरासतमा रहेका चौधरीलाई गत पुस ११ मा संसद् सचिवालयमा ल्याई सांसद पदको शपथग्रहण गराएको थियो । जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएपछि भने उनी सांसद पदबाट निलम्बित छन् ।

प्रकाशित : असार ७, २०७६ १९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?