१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

त्रिवि परिसरमा बन्यो प्रहरी कार्यालय

शैक्षिक गतिविधि खलबलिने भन्दै विद्यार्थी विरोधमा
सुदीप कैनी

काठमाडौँ — त्रिभुवन विश्वविद्यालय परिसरमा शैक्षिक गतिविधिलाई समेत असर पुग्ने गरी प्रहरी कार्यालय सार्न लागिएको छ । जथाभावी बाँडेर साँघुरिँदै गएको जग्गामा महानगरीय प्रहरी वृत्त कीर्तिपुरको भवन बनाइएको छ । 

त्रिवि परिसरमा बन्यो प्रहरी कार्यालय

क्याम्पसका भवनसँगै ४ रोपनी जग्गामा प्रहरी कार्यालय राख्न लागिएको हो । भवन निर्माण कार्य अन्तिम चरणमा पुगिसकेको छ ।


प्रहरी स्रोतका अनुसार कीर्तिपुर बजारमा रहेको प्रहरी वृत्त छिट्टै नवनिर्मित भवनमा सर्ने तयारीमा छ । विभिन्न शैक्षिक गतिविधि सञ्चालन हुने क्षेत्रको बीच भागमा प्रहरी वृत्त स्थापना गर्न लागिएको हो । विद्यार्थीले विरोध जनाए पनि निर्माण कार्य रोकिएको छैन । आयुर्वेद शिक्षण अस्पतालको अगाडि, विज्ञान तथा प्रविधि प्रयोगशाला (बीपी संग्रहालय), चिकित्सा शिक्षा अध्ययन संस्थानअन्तर्गतको प्रयोगशाला र बागवानी केन्द्रको बीचभागमा प्रहरी कार्यालय स्थापना गर्न लागिएको हो ।


महानगरीय वृत्तमा प्रहरी नायब उपरीक्षक (डीएसपी) को कमान्ड रहन्छ । कार्यकारी परिषद्ले सुरुमा कीर्तिपुर बजारतर्फ जाने तीनकुने (आँखा अस्पतालअगाडि) स्थित त्रिविकै जग्गामा प्रहरी भवन निर्माणको तयारी गरेको थियो । ३ वर्षअघि नेपाल विद्यार्थी संघ र अनेरास्ववियुले विरोध गरेपछि तीनकुनेभन्दा करिब ५ सय मिटर तल बनाउन लागिएको हो ।

‘त्रिविको जग्गा पदाधिकारीकै मिलेमतोमा अतिक्रमण गरिँदै आएको छ,’ अनेरास्ववियूका त्रिवि कमिटी अध्यक्ष मदन बिष्टले भने, ‘हामीले विरोध गर्दागर्दै प्रहरी कार्यालयको भवन निर्माण भइरहेको छ, प्रहरीलाई टीयूको जग्गामा सर्न नदिन दबाब दिइरहेका छौं ।’ विश्वविद्यालयभित्रै प्रहरी कार्यालय स्थापना भए पठनपाठनमा बाधा पुग्ने विद्यार्थी/प्राध्यापकहरू बताउँछन् । ‘चारैपट्टि विद्यार्थीले पढ्ने भवनहरू छन्, बीचमा ल्याएर प्रहरी कार्यालय राख्न लागिएको छ,’ उनले भने ।


कार्यकारी परिषदको २०७३ मंसिर २२ को निर्णय नम्बर ९२५ बाट जग्गा उपलब्ध गराइएको हो । रजिस्ट्रार डिल्लीराम उप्रेतीले भने यसभन्दा अघिकै पदाधिकारीको पालामा प्रहरीलाई जग्गा उपलब्ध गराउने निर्णय भएको दाबी गरे । ‘पहिले खोल्सापट्टि जग्गा दिने भनिएको रहेछ, भवन बनाउन नमिल्ने भएपछि माथिबाट अनुमति दिइएको हो,’ उनले भने । उनले विद्यार्थीको विरोध बढ्न थालेपछि प्रहरीलाई बस्न दिने/नदिने विषयमा छलफल चलिरहेको जनाए ।


त्रिविलगायत कीर्तिपुर क्षेत्रको शान्ति सुरक्षा कायम राख्ने उद्देश्यले विश्वविद्यालयको जग्गा प्रहरीलाई दिने निर्णय गरिएको पदाधिकारी बताउँछन् । त्यस्तै प्रहरी वृत्त कालीमाटीको कार्यालय त्रिविको १ रोपनी जग्गामा स्थापना गरिएको छ । कार्यकारी परिषदको २०७२ चैत ४ गतेको निर्णय नम्बर ४१५ बाट उक्त जग्गा उपलब्ध गराइएको हो ।

कलंकी(कोटेश्वर सडक विस्तारका कारण विस्थापित भएको प्रहरी कार्यालय पुनःस्थापित गर्न त्रिविले जग्गा उपलब्ध गराएको परिषदको निर्णयमा उल्लेख छ । त्यहाँ प्रहरी बसिसकेका छन् । बल्खुस्थित त्रिविको अनुसन्धान केन्द्र (सेरिड) नजिकै प्रहरी कार्यालय राखिएको हो ।


विश्वविद्यालयजस्तो प्राज्ञिक अनुसन्धानको थलोमा प्रहरी कार्यालय खडा गर्दा शैक्षिक गतिविधिमा खलल पुग्ने विद्यार्थी नेताहरू बताउँछन् । विद्यार्थीहरूले प्रहरी नराख्न आग्रह गरेपछि गृह मन्त्रालयसँग छलफल थालिएको उपकुलपति तीर्थराज खनियाँले बताए । दुवै स्थानमा गृह मन्त्रालयले नै प्रहरी कार्यालय निर्माण गरेको हो ।


‘क्याम्पसको बीचमा प्रहरी कार्यालय हुनुहुँदैन भन्ने विद्यार्थीहरूको कुरा पनि जायज छ,’ उनले भने, ‘हामीलाई हरेक समय प्रहरी अत्यन्तै आवश्यक हुन्छ, त्यसैले जग्गा दियौं, विद्यार्थीको विरोधपछि गृह मन्त्रालयसँग कुराकानी गरिरहेका छौं ।’

विद्यार्थीले बनेको भवन शैक्षिक गतिविधिका लागि प्रयोग गरेर प्रहरी अन्यत्र स्थानान्तरण गर्नुपर्ने सर्त राखेका छन् । नेविसंघ, अखिल र अखिल क्रान्तिकारीलगायत विद्यार्थी संघ/संगठनले विश्वविद्यालयभित्र प्रहरी कार्यालय नराख्न आग्रह गरेका हुन् ।

प्रकाशित : असार ७, २०७६ १९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?