कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

१७ वर्षअघि हराएको चार्ली युनिफर्म हेलिकप्टरको खोजी हुने

सुरज कुँवर

काठमाडौँ — नागरिक उड्डयन प्राधिकरणले मकालु हिमालको आधार शिविरबाट १७ वर्षअघि लुक्लातर्फ उडेपछि हराएको रसियन हेलिकप्टरको खोजीमा चासो देखाएको छ । सोलुखुम्बुका एक युवकले हेलिकप्टरको अवशेष तथा घटनास्थल भेटेको दाबी गरेपछि प्राधिकरणले चासो देखाएको हो ।

१७ वर्षअघि हराएको चार्ली युनिफर्म हेलिकप्टरको खोजी हुने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको खोज तथा उद्धार समन्वय केन्द्रका प्रबन्धक सञ्जयकुमार साहले त्यससम्बन्धी समाचार सार्वजनिक भएपछि खोजी प्रक्रिया अघि बढाइएको बताए । ‘चार्ली युनिफर्म नामको हेलिकप्टरको अवशेष भेटिएको समाचार कान्तिपुरमा पढेपछि त्यसको खोजीका लागि मैले फेरि फाइल खोलेको छु,’ प्रबन्धक साहले भने ।


उनले बबरमहलस्थित तालुक निकाय नागरिक उड्डयन प्राधिकरणलाई तत्काल घटनास्थलमा गएर अनुसन्धान गर्न लेखी पठाइसकेको बताए । यस विषयबारे प्राधिकरणका कार्यवाहक महानिर्देशक राजन पोखरेलले जहाज दुर्घटनामा छानबिन तथा जाँच गर्ने अधिकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको भएकाले मन्त्रालयसँग समन्वय गरिने बताए ।


‘यो घटना १७ वर्षअघिको हो, उक्त हेलिकप्टरको स्वामित्व रहेको एसियन एयरलाइन्स बन्द भइसकेको छ’, पोखरेलले भने, ‘मन्त्रालयलाई लेखी पठाउँछौं ।’ गत चैतमा कान्तिपुरको शनिबारे विशेषांक कोसेलीमा ‘कहाँ हरायो चार्ली युनिफर्म’ शीर्षक लेख प्रकाशित भएपछि सोलुखुम्बुको महाकुलुङ गाउँपालिका ३, छेस्कामका चतुर कुलुङ राई जेठ ९ गते मकालु क्षेत्रमा खोजीमा हिँडेका थिए । उनले मकालु बरुण राष्ट्रिय निकुञ्जनजिकैको करिब ५ हजार मिटर उचाइमा रहेको वात्लेमा क्षेत्रमा हेलिकप्टर दुर्घटना भएको दाबी गरेका छन् । उनले त्यस क्षेत्रबाट सय किलो हाराहारी तारको गुजुल्टो फेला पारेको बताएका छन् ।


०५९ जेठ १७ गते बिहान मकालु हिमाल आरोहण गर्न गएका स्पेनिस आरोहीलाई लुक्ला विमानस्थल पुर्‍याइसकेपछि एसियन एयरलाइन्सको रसियन हेलिकप्टर एमआई–१७ दोस्रो उडानका क्रममा दुर्घटनामा परेको थियो ।

दोस्रो खेपका लागि ६ जना भरिया, गाइड तथा शेर्पा आधारशिविरमा थिए । चार्ली युनिफर्म कलसाइन भएको उक्त चार्टर उडानको कमान्डर रसियन क्याप्टेन ग्रेभिनिकोभ र कोपाइलट सोलुखुम्बुका सोनाम टासी शेर्पा थिए । चार जना चालक दलको टिमका रसियन फ्लाइट इन्जिनियर ए गुमार र फलाइट एटेन्डेन्ट डी. अमात्य थिए ।

त्यस्तै आरोहण दलका सहयोगी शेर्पा सरदारहरूमा सोलुखुम्बु खरिखोलाका वाङछु शेर्पा, निमा दोर्जी तामाङ, प्रकाश कार्की, सिन्धुपाल्चोकका कर्मा तामाङ, ओखलढुंगाका प्रमोद सुनार र ताप्लेजुङका सार्की शेर्पा थिए ।


मकालुदेखि लुक्लासम्मको हेलिकप्टर यात्राको समय १७ मिनेट हाराहारी थियो तर आधारशिविरबाट उडेको केही मिनेटपछि चार्ली युनिफर्म हराएको थियो । खोज तथा उद्धार हुन नसकेको यो गुमनाम हवाई दुर्घटना आज पनि नेपालको नागरिक उड्डयन क्षेत्रको पहिलो र एक मात्र रहस्यमय कथा हो । नेपालमा हालसम्म भएका सय हाराहारी हवाई दुर्घटनाको सूचीमा यो ४६ औं घटना हो । हेलिकप्टर विधाअर्न्तगत यो १३ औं दुर्घटना थियो भने रसियन उत्पादनअन्तर्गत चौथो हेलिकप्टर दुर्घटना थियो ।


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको खोज तथा उद्धार समन्वय केन्द्रका अनुसार यो दुर्घटनाको खोजी अहिले पनि रोकिएको छैन । त्यतिबेला दुर्घटनास्थल फेला पार्नेलाई २५ हजार रुपैयाँबाट थालिएको पुरस्कार राशीको रकम १ लाख पुर्‍याइयो । अहिले पनि यो इनाम खुला नै छ ।


एसियन एयरलाइन्सका तत्कालीन अध्यक्ष आङछिरिङ शेर्पाका अनुसार हराएको हेलिकप्टर खोज्न मात्रै त्यसताका ५/६ करोड रुपैयाँभन्दा बढी खर्च भएको थियो । एक वर्षसम्म नभेटिएपछि खोजी कार्य बन्द गरिएको थियो ।

त्यसताका बिमा कम्पनीले ३ करोड हाराहारी खोज/उद्धारको खर्च ब्यहोर्‍यो भने १० लाख डलर (सटही दर ७७ रुपैयाँका आधारमा ७ करोड ७० लाख) हेलिकप्टरको बिमाबापत शोधभर्ना गरेको थियो । उक्त यात्रामा बेपत्ता भएकाका आफन्तजनले जनही २५ लाख हाराहारी क्षतिपूर्ति दिइएको थियो ।

प्रकाशित : असार ७, २०७६ २१:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?