२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

मकालुमा जताततै पहिरो

 सडक पुरियो, आउजाउ बन्द    ढुवानी हुन नसक्दा उपभोग्य सामग्री अभाव   ५० करोडभन्दा बढीको क्षति 
दीपेन्द्र शाक्य

संखुवासभा — मनसुन सुरु हुँदै गर्दा मकालु गाउँपालिका पहिरोले जताततै चिरिइसक्यो । नुमको फ्याक्सिन्दाबाट उत्तरी क्षेत्र जाने सडक पुरिएको छ । हिँड्ने बाटोसम्म नहुँदा गाउँलेले वारपार गर्न सकेका छैनन् । 

मकालुमा जताततै पहिरो

गाईबस्तु हिँडाउने बाटो पहिरोले पुरेको छ । गाडी गुड्ने कच्ची सडक बगाएको छ । सडक अवरुद्ध भएपछि उत्तरी क्षेत्रमा ढुवानी गर्न नुममा राखिएका दैनिक उपभोग्य सामग्री अलपत्र परेका छन् । अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले जानकारी दिए । ‘पहिरो खसिरहे पनि सडक खुलाउन सकिएको छैन,’ उनले भने, ‘जतासुकै पहिरो गएको छ ।’


चार दिनअघि आएको पहिरोले मकालुमा ५० करोड रुपैयाँभन्दा बढीको क्षति भएको प्रहरीको अनुमान छ । निर्माणाधीन अरुण तेस्रो परियोजनाको निर्माण सामग्री र उत्तर–दक्षिण कोसी सडकको मात्रै ५० करोडभन्दा बढीको क्षति भएको हो । रातभर पानी पर्ने र दिउँसो घाम लाग्ने भएकाले पहिरो झर्ने क्रम निरन्तर छ । प्रहरी, सेना र गाउँपालिकाको सहयोगमा सर्वसाधारणलाई वारपार गराउन पुरानो बाटो खोल्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी मिमबहादुर लामाले बताए ।


प्रमुख जिल्ला अधिकारीसमेतको टोलीले पहिरोको स्थलगत अनुगमन गरेर फर्किएको उनको भनाइ छ । ९० स्थानभन्दा बढी ठाउँ पहिरो खसेको उनको भनाइ छ ।


पहिरो गएपछि अन्य गाउँसँग सम्पर्कविच्छेद भएको हेदान्नाका स्थानीय देउमान राई बताउँछन् । ‘हामी वारपार गर्न सकिरहेका छैनौं’, उनले भने, ‘पहिरो गएको ४ दिन बित्यो, मान्छे हिँड्न सक्ने बाटो खुलाउन पनि हम्मेहम्मे भएको छ ।’ यसले खाद्यान्न संकट हुन थालेको छ ।


‘भोट खोलाबाट विशेष कामले सदरमुकाम खाँदबारी आएकाहरू अलपत्र परेर हेदान्नामा बसिरहेका छन्,’ उनले भने, ‘पानी पर्न छाडेको छैन, त्यसैले समस्या भएको हो, गाउँका पसलमा पनि दैनिक उपभोग्य सामग्री सकिन थालेका छन् ।’ पहिरोले खच्चडसमेत हिँडाउन नसकिने भीर बनेको छ ।


‘गाउँ नै चिराचिरा हुने गरी पहिरो गएको देखिन्छ,’ नुमका दुर्गाबहादुर पराजुलीले भने, ‘भीरपहरा जताजतै चिथोरेको जस्तो देखिएको छ । नुमवासी पनि पहिरोको चिन्तामा छन् ।’ बाढीले निर्माणाधीन अरुण तेस्रो जलविद्युत् परियोजनाको मात्रै करिब ४० करोड रुपैयाँबराबरको क्षति भएको छ । ड्यामसाइड फ्याक्सिन्दामा राखिएको निर्माण उपकरण पनि बाढीले बगाएको छ । अरुणको काम पनि अवरुद्ध भएको छ । परियोजनाको करोडौं रुपैयाँबराबरको निर्माण सामग्री बगाएपछि काम रोकिएको हो ।


बाढीले मकालु गाउँपालिकामा निर्माणाधीन ९ सय मेगावाट अरुण तेस्रो जलविद्युत् आयोजनाको ड्यामसाइड क्षेत्रको सडक र निर्माण सामग्रीसमेत बगाएको छ । सुरुङ खन्ने बुमर मेसिन, एस्काभेटर, लोडर, ट्र्याक्टर, टक, कम्प्रेसर मेसिन र २ सय क्विन्टल रड पनि बगाएको छ । बाढीले आयोजनाको ड्यामसाइड आसपासमा पनि क्षति पुर्‍याएको छ ।


मकालु ४ र ५ मा मात्रै ५३ परिवार बाढीपहिरोबाट प्रत्यक्ष प्रभावित भएका छन् । अधिकांशको पाकेको अलैंची पहिरोले बगाएको छ । उनीहरू छिमेकीका घरमा आश्रय लिई बसिरहेका छन् । बाढीले डाँडाटोलमा खानेपानीको ट्यांकी बगाउँदा ११ परिवारका ७६ जना समस्यामा छन् ।


गैरीटोलका १९ घरपरिवारका ४८ जनाले खुला चौरमा त्रिपाल टाँगेर रात कटाइरहेका छन् । सिरान टोलका ७ परिवारको पनि घरमा क्षति भएपछि छिमेकी जसबहादुर राईको जग्गामा अस्थायी बसोबास गरिरहेको प्रहरीले जानकारी दिएको छ ।


क्षति विवरण संकलन हुँदै

नुम र हेदान्नाका प्रहरीको सक्रियतामा बाढीपहिरोको क्षति विवरण संकलन थालिएको हो । मकालु गाउँपालिका ५ को पेपुवा, सवाङ, सेक्तेमानेडाँडा, सोक्देम्मालगायत गाउँमा प्रहरीले क्षतिको विवरण संकलन गरिरहेको जिल्ला प्रहरीका डीएसपी मिमबहादुर लामाले बताए ।


विवरण संकलनका लागि इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक टीकाराम राई र इलाका प्रहरी हेदान्नाका प्रहरी नायब निरीक्षक अशोककुमार सिंहको टोली घटनास्थल पुगेको छ । टोलीले रुक्छोङ र पेपुवामा पनि क्षतिको विवरण संकलन गरिरहेको लामाले जानकारी दिए ।

प्रकाशित : असार ८, २०७६ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?