कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाढीले पैयुँका ८ परिवार विस्थापित, समन्वय समितिकाे भवन भाँसियाे 

दिप्ती सिलवाल

पर्वत — शनिबारदेखि परेको पानीसँगै मोटरबाटोबाट आएको बाढी घरभित्र पस्दा पैयुँ गाउँपालिका–४ का ९ घरमा क्षति पुगेको छ । स्थानीय गेउदीखोलामा आएको बाढी धरमपानी–पैयुँकोट सडकको बाटो हुँदै बस्तीमा पसेको हो । 

बाढीले पैयुँका ८ परिवार विस्थापित, समन्वय समितिकाे भवन भाँसियाे 

राति करिब २ बजेको समयमा बाढी घरभित्र पसेपछि सुतिरहेका सर्वसाधारणले भागेर ज्यान जोगाएकाे स्थानीयले बताए । बाढीले मोतीलाल पौडेल, गोपबहादुर सार्की, हिमलाल तिवारी, लिलादेवी पौडेल, विनोद हमाल, सोमनाथ तिवारी, मोतिलाल रिजाल र गोविन्द पौडेलको परिवार बिस्थापित भएको वडाध्यक्ष महेन्द्र श्रेष्ठले बताए ।


उनका अनुसार गोपबहादुर सार्की र विनोद हमालको घर बाढीले बगाएको छ । घर बगेपछि उनीहरु छिमेकीको आश्रयमा छन् । बाढीले करिव ८० रोपनी खेतीमा लगाएको बालीसहित खेत पुरेको छ ।


घटनास्थलमा इलाका प्रहरी कार्यालय हुवासबाट खटिएको प्रहरी टोली र स्थानीयले उद्दार र क्षतिको विवरण संकलन गरेका छन् । पछिल्लो वर्ष सडक स्तरोन्नतिका लागि पर्वतका सबैजसो वडाहरुमा काम भैरहेको छ ।


सडक खन्दा निस्केको माटो र ढुंगा व्यवस्थापन नगरिएका कारण त्यसले बाढी र पहिरोको रुप लिँदै आएको छ । जथाभावी खनिएका सडकबाट निस्केको माटो–ढुंगाका कारण मनसुन सक्रिय भएपछि बाढी र पहिरोको जोखिम बढेको छ ।


यस्तै वर्षाका कारण शनिबार राति जिल्ला समन्वय समितिको भवन भाँसिएको छ । समन्वय समितिको भवनभित्र पानी जमेपछि समितिका दुई कोठा भाँसिएको समन्वय समितिले जनाएको छ ।


समितिको मुख्य भवनभित्रका आपतकालीन कार्यसञ्चालन कक्षका दुई कोठा भाँसिएको समन्वय समितिका प्रमुख मनोहर विश्वकर्मा पौडेलले बताए ।


जिल्ला प्रशासन कार्यालयले जिल्ला आपतकालीन कार्यसञ्चालनका लागि प्रयोग गरेका कोठा भासिएपछि स्टोर गरेका सामानहरुमा समेत क्षति पुगेको छ । भाँसिएका कोठाहरुमा कुस्मा नगरपालिकाले बिभिन्न शाखाहरु स्थानान्तरण गर्ने तयारी गरेको थियो ।

प्रकाशित : असार ८, २०७६ १३:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?