कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उपमेयरकै नेतृत्वमा नगरपालिकामा  तोडफोड

सुनिता बराल

महोत्तरी — महोत्तरीको औरही नगरपालिकाको कार्यालयमा उपमेयरकै नेतृत्वमा शनिबार राति तोडफोड भएको छ । मेयरले बिदाको दिन शनिबार पनि कार्यालयमा बसेर कागजपत्र मिलाएर भ्रष्टाचार गरेको आरोप लगाउँदै उपमेयर रेणु झाको नेतृत्वमा कार्यालयमा पुगेको एक समूहले तोडफोड गरेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक किशोर आचार्यले जानकारी दिए । 

उपमेयरकै नेतृत्वमा नगरपालिकामा  तोडफोड

आर्थिक वर्षको अन्त्यमा काम गर्न नभ्याएको भन्दै शनिबार साँझसम्म पनि मेयर सुनिलकुमार यादव कार्यालयमा बसेर काम गरिरहेका बेला राजपाका २० जना नेता/कार्यकर्तासहित उपमेयर झा कार्यालयमा पुगेकी थिइन् ।


भनाभनबाट सुरु भएको विवाद चर्किँदै गएपछि कार्यालय तोडफोड गरिएको प्रहरीले जनाएको छ । कार्यालयको योजना शाखा र प्रशासनिक शाखाका २ थान कम्युटर, २ थान प्रिन्टर, २ थान स्क्यानर मेसिन, १ थान मल्टिप्लग बोर्ड, तोडफोड गरिएको छ भने काजगपत्र च्यातिएका छन् ।


कार्यालयमा तोडफोड भएसँगै विवाद चर्किदा हातपात सुरु भएपछि राजपाका एक विद्यार्थी नेता (उपमेयरका देवर) ज्ञानु झा घाइते भएका छन् । विवादले उग्र रूप लिएपछि नगरपालिकामा भेला भएका करिब ४ सय मानिसलाई औरही प्रहरीले नियन्त्रण गर्न नसकेपछि इलाका प्रहरी कार्यालय गौशाला, इलाका प्रहरी कार्यालय बर्दिबास, रामगोपालपुरको प्रहरी र सशस्त्र प्रहरीको टोलीले करिब ४ घण्टापछि घटनालाई साम्य बनाएको प्रहरी निरीक्षक आचार्यले बताए ।


मेयर यादवले भने आफूले आर्थिक वर्षको अन्त्यमा कामको चाप भएकाले शनिवार पनि कार्यालयमा काम गर्नुपरेको बताएका छन् । भ्रष्टाचार गरेको प्रमाण कसैले दिएमा सजाय भोग्न तयार रहेको मेयर यादवले बताए ।

प्रकाशित : असार ८, २०७६ १८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?