कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अन्डाको ५०% बिचौलियालाई

पसलैपिच्छे मूल्य फरक
विमल खतिवडा

काठमाडौँ — आफूले बेच्दा लागत पनि नउठ्ने भाउमा अन्डा दिएर खुद्रा बिक्रीमा मनपरी भएको देख्दा काभ्रेको बनेपा–३ नालासुमाराका रत्नप्रसाद दाहाललाई दिक्क लाग्छ । डेढ दशकदेखि व्यावसायिक कुखुरापालन गर्दै आएका उनको ४ वटा फार्ममा १० हजार लेयर्स छन् । दैनिक ८ हजार ४ सयवटा अन्डा उत्पादन हुन्छ ।

अन्डाको ५०% बिचौलियालाई

बेच्नु परिरहेको भाउबाट उनी सन्तुष्ट छैनन् । ‘अन्डाको भाउ डामाडोल छ,’ बिक्रीका लागि क्रेटमा अन्डा राख्दै गर्दा भेटिएका उनले भने, ‘घाटा सहेर बेच्नुपरिरहेको छ ।’ शनिबारबाट दानाको मूल्य बढेपछि झन् तनाव थपिएको उनले दुःखेसो पोखे ।


१० रोपनी जग्गामा लेयर्स पालेका उनलाई ठूलो समस्या अन्डा उत्पादकले लागत नै उठाउन मुस्किल पर्ने बजार भाउको छ । फार्मबाट बेच्दा हातमा प्रतिगोटा अन्डाको ७ रुपैयाँ २१ पैसा पर्छ । ‘यो भाउले लागत नै उठदैन,’ उनले भने, ‘एउटा कुखराबाट अन्डा उत्पादन गर्न १० रुपैयाँ लगानी लाग्छ ।’ सानो अन्डा प्रतिगोटा ५ रुपैयाँमा बिक्री हुने गरेको छ ।


‘हामीले घाटा सहेर दिएको मूल्यअनुसार उपभोक्ताले अन्डा लिन पाए बरु सन्तोक हुन्थ्यो,’ उनले भने, ‘न हामीले भाउ पाएका छौं, न उपभोक्ताले सस्तोमा खान पाएका छन् । नाफा जति सबै बिचौलियाले खान्छन् ।’ ७ क्रेटमा २ सय १० वटा अन्डा भएको बक्सा २ हजार ५० रुपैयाँसम्म बिक्री हुने गरेको थियो । अहिले ठूलो अन्डा बक्साको १५ सय र सानो अन्डा १ हजारमा बिक्री हुने गरेको छ ।


‘अन्डाको मूल्य खस्किएको छ, ७ महिना भयो मूल्यमा समस्या झेलिरहेका छौं,’ उनले भने, ‘पहिला पनि समस्या थियो, अहिले झन् थपिएको छ ।’ भाउ पाइने आसमा शीत भण्डारमा कृषिउपज राखेजसरी अन्डा मौज्दात राख्न मिल्दैन । त्यसरी राखे ढुसी आउने र बिग्रिने भएकाले हातहातै बेचिहाल्नुपर्छ ।


देशभरका अन्डा उत्पादक कृषक सबैको यो साझा समस्या हो । लागतअनुसारको मूल्य नपाएको गुनासो गर्दै आएका किसानले बजार भाउमा एकरूपता नभएको पनि देखेका छन् । नजिक–नजिककै पसलमा समेत समान मूल्य छैन । किसानबाट बिचौलियाले सस्तोमा अन्डा उठाउने गर्छन् । उपभोक्तासम्म पुग्दा मूल्य दोब्बर हुन्छ ।


आइतबार कपनका तीनवटा पसलमा अन्डाको मूल्य फरक–फरक पाइयो । बिगमार्टमा क्रेट (३० वटा) को २ सय ६५ रुपैयाँ, प्रतिगोटा ११ रुपैयाँ । केही टाढा रहेको होलसेलमा क्रेटको २ सय ६० र प्रतिगोटा १० रुपैयाँमा बिक्री गर्दै आएको पाइयो । फ्रेस हाउसमा क्रेटको २ सय ५० रुपैयाँमा र प्रतिगोटा साढे ८ रुपैयाँमा बिक्री हुने गरेको पाइयो । खुद्रा बिक्री हुने काठमाडौं उपत्यकाका पसलहरूमा कतैको पनि मूल्यमा एकरूपता छैन ।


किराना पसलमा त झन् भाउमा मनपरी छ । कतै प्रतिगोटा साढे १२ र कतै १५ रुपैयाँसम्म तिरेर अन्डा किन्नुपरेको गुनासो उपभोक्ताको छ । फार्मबाट उठाउँदा बिचौलियाले ठूलो र सानो अन्डाको मूल्य फरक–फरक तिर्छन् । उपभोक्ताको हातसम्म पुग्दा सानो/ठूलो अन्डाको मूल्य एउटै कायम हुन्छ । ‘बजारमा अन्डाको मूल्य घटेको हल्ला आए पनि हामीले किन्ने पसलमा घटेको छैन,’ कपन सरस्वतीनगरकी राधिका कोइरालाले भनिन्, ‘सबैले बिचौलियाले बजार बिगारे भन्छन्, पसलेले जतिमा दिन्छन् उतिमा हामीले किन्नुपरेको छ ।’


कुखुरापालकहरूका अनुसार अहिले अन्डाको उत्पादन मनग्य छ । उत्पादन बढे पनि उपभोक्ताले महँगोमा किन्नुपरेको छ, कुखुरापालकका हातमा कम भाउ परेको छ । पोल्ट्रीविज्ञ तिलचन्द्र भट्टराईका अनुसार देशभर ४ सय ५० ठूला अन्डा उत्पादक किसान छन् । साना/ठूलासहित किसानको संख्या मुलुकभर करिब ६ हजार छ । दैनिक करिब ४० लाख गोटा अन्डा उत्पादन हुने गरेको छ ।


यता नेपाल अन्डा उत्पादक संघमा भने दुई धार देखिएको छ । यसको असर किसानमा परेको छ । संघको नेतृत्व गरिरहेका त्रिलोचन कँडेलविरुद्ध १५ औं साधारणसभामा अविश्वासको प्रस्ताव पर्‍यो । उक्त कार्यसमिति विघटन गरेको भन्दै सभाबाट बाहिरिएकाले किसानले आफूलाई अध्यक्ष बनाएको निवर्तमान अध्यक्ष शिवराम केसीले बताए । उनी नेतृत्वको टोलीले कृषि तथा पशुपन्छी विकास मन्त्रालय, पशु सेवा विभाग र गृह मन्त्रालयमा पुगेर नेपाल–भारत सीमा नाकाबाट अवैध रूपमा भित्रिने चल्ला र अन्डा रोक्नुपर्ने माग राखेको छ ।


त्यस्तै किसानले उत्पादन गर्ने अन्डाको लागत मूल्य निर्धारण गर्नुपर्ने माग राखेका छन । कँडेलले अन्डामा देखिएको असमान मूल्यको मुख्य कारण बढी उत्पादन रहेको औंल्याए । ‘सप्लायर्सलाई बिचौलिया भन्न मिल्दैन,’ उनले भने, ‘खुद्रा पसलमा लगेर बिक्री गर्नेले बढी नाफा खाने गरेकाले उपभोक्तालाई महँगो पर्ने गरेको हो ।’


अन्डाको मनपरी मूल्य नियन्त्रण गर्न जहाँ एकातिर संघले जोडबल गरेको देखिएको छैन, उपभोक्ता अधिकारकर्मीका संघ/संगठन पनि मौन देखिएका छन् । किसानबाट होलसेलमा ७ रुपैयाँ २१ पैसा, सबडिलरमा पुग्दा ७ रुपैयाँ ५५ पैसा र ठूला पसलमा साढे ८ रुपैयाँ प्रतिगोटामा अन्डा पुग्छ । खुद्रा बिक्रेताबाट भने उपभोक्ताले मनपरी मूल्य तिर्नु परिरहेको छ ।

प्रकाशित : असार ९, २०७६ ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?