१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

भाइरल ‘कुर्सी सलामी’ मेयरको स्पष्टोक्ति : 'अञ्जानमा गल्ती भो’

धनकुटा — जब खेलकुदको धुन बज्न थाल्यो, नगर प्रमुख भने कुर्सी माथि चढेर सलामी दिन थाले । भेला भएका सर्वसाधारण अनौठो मानेर दृश्य नियालिरहे । महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपालले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्नेक्रममा बुधबार जितपुरस्थित खेल मैदानमा सलामी दिएका हुन् ।

भाइरल ‘कुर्सी सलामी’ मेयरको स्पष्टोक्ति : 'अञ्जानमा गल्ती भो’

उपप्रमुख मञ्जु अधिकारी सहित अन्य अतिथि भूइँमा उभिएका थिए । तर, प्रमुख नेपाल मात्र कुर्सीमा उभिएर सलामी दिए । उनी प्लाष्टिकको कुर्सीमा टेकेर सलामी दिन टेबल माथि उभिएका थिए ।

पछिल्लो केही दिनमा उनले सलामी दिएको तस्बिर र शैलीबारे सामाजिक सञ्जालमा टिप्पणी आउनेक्रम तीव्र बनेको छ । गणतान्त्रिक व्यवस्थाका जनप्रतिनिधिले विगतको राजतन्त्रात्मक शैलीको व्यवहार देखाउने गरिएको भन्दै सर्वसाधारणबाट गुनासो चुलिएको छ । खासगरी विगत दुई दिनदेखि सामाजिक सञ्जालमा ‘कुर्सी सलामी’ को तस्बिर भाइरल हुँदै गएपछि खैलाबैला मच्चिएको छ । नगर प्रमुखले त्यसप्रकारको शैली अपनाउने कार्यलाई पचाउन नसकिने स्थानीय रविन बुढाथोकी बताउँछन् । ‘उक्त कार्य सामान्तवादी शैलीको छ,' उनले भने, ‘यो जनप्रतिनिधिले सुहाउने तौरतरिका होइन ।’

जिल्लाका ७ स्थानीय तहमध्ये सबैमा तत्कालिन एमालेले क्लीन स्वीप जीत हात पारेको थियो । त्यसमध्ये प्रभावशाली मेयरको रुपमा देखिएका नेपालले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा देखाएको शैली अपच्य सावित भएको स्थानीयको गुनासो छ ।

पछिल्लो समय सामाजिक सञ्जालको टिप्पणी र सलामीको तस्बिरलाई आवश्यकता भन्दा बढि नकारात्मक बनाइएको उक्त नगरपालिका अन्तर्गत प्रधानमन्त्री स्वरोजगार कार्यक्रमका अधिकृत गौरब कार्कीको भनाई छ । उनले मनशाय खराब नगरि गरिएको कार्यलाई क्षम्य हुनु पर्ने तर्क राखे । उक्त कार्यबारे प्रतिक्रिया लिन बारंबार सम्पर्क गर्दा नेपालले टेलिफोन उठाएनन् ।

तर, महालक्ष्मी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहदेव रायामाझी र स्रोत व्यक्ति पुष्पबहादुर कटुवालद्वारा संयुक्त रुपमा हस्ताक्षरित विज्ञप्ति मार्फत उक्त टिप्पणी प्रति आफुहरुको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

खेलकुद प्रतियोगितामा उपस्थितिका आधारमा सबैभन्दा वरिष्ठ व्यक्तिको हैसियतमा आयोजकको आग्रहमा टेबलमा उभिन आग्रह गरिएको विज्ञप्तिमा उल्लेख छ । विगतमा जस्तै नियमित सलामीको कार्य भएकोले भ्रम फैलाउने काम नगर्न नगर कार्य पालिकाको कार्यालयको तर्फबाट आग्रह गरिएको विज्ञप्तिमा उल्लेख छ । खेलाडीलाई प्रोत्साहन दिन अरु भन्दा माथि उभिएर सलामी दिइएको दाबी समेत गरिएको छ ।

यस्तै, नगरपालिकाका प्रमुख नेपालले समेत सोमबार सामाजिक सञ्जाल मार्फत आफूले गरेको कार्यप्रति आत्मालोचना गरेका छन् । उनले आफूबाट अञ्जान गल्ती गरेको बताएका छन् । ‘म बाट गल्ती भएको महसुस भइरहेको छ,' उनले भने, ‘आगामी दिनमा यसलाई पाठ ठानेर सुधार गर्ने छु ।’ आफूले तल बसेरै सलामी दिने भनेपनि आयोजकले चलन रहेको भन्दै टेबल ल्याएपछि सोही बमोजिम गरेको उनले उल्लेख गरेका छन् । सामान्तवादको सिको गर्न खोजेको आरोपलाई भने स्वीकार गर्न नसक्ने उनले जनाएका छन् ।

पढ्नुहोस् विज्ञप्ति:

प्रकाशित : असार ९, २०७६ १८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?