१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

कक्षामै यातना

गोरखा — गोरखा नगरपालिका–११ को सेन्ट जोसेफ बोर्डिङ स्कुलमा एक बालकलाई यातना दिएको दाबी गर्दै प्रहरीमा उजुरी दर्ता भएको छ । 

कक्षामै यातना

किताब नल्याएको भन्दै कक्षा ५ का १० वर्षीय श्रीयन्स श्रेष्ठलाई विज्ञान शिक्षिका मनीषा मगरले सोमबार कुटपिट गरेको पीडित पक्षको आरोप छ । ‘छोराको ढाडभरि नीलडाम छ,’ श्रेष्ठकी आमा सिर्जनाले भनिन्, ‘१२ बजेतिर मिसले कुट्नुभएको रहेछ । साँझ घरमा कपडा फेर्न लाग्दा नीलडाम देखेर छक्क परें ।’


सामान्य गल्तीमा यातना दिइएकाले शिक्षिकालाई कारबाही हुनुपर्ने उनले बताइन् । ‘गल्ती गर्‍यो भन्दैमा बच्चालाई यसरी पिट्न कहाँ पाइन्छ ?’ उनले भनिन् । आफूलाई ढाड र हातमा कुटिएको श्रीयन्सले बताए । ‘किताब छ कि छैन सोध्नुभयो, तल च्यापिएको रहेछ, पछि देखाएँ,’ उनले भने, ‘त्यही कारण स्केलले धेरैपटक पिट्नुभयो, सरी भन्दा पनि चाहिँदैन तेरो सरी भन्दै पिटिराख्नुभयो ।’


घटनाबारे साँझ मात्र थाहा पाएको सहायक प्रिन्सिपल फादर सुनीलले बताए । ‘बच्चालाई मैले पनि साँझ भेटें, दाग बसेको हिसाबले पिट्नचाहिँ पिट्नुभएकै रहेछ,’ सुनीलले भने । ‘प्रिन्सिपल पनि हुनुहुन्न, समितिको बैठक बसेर के गर्ने निर्णय लिन्छौं ।’ घटना प्रहरीकोमा पुगिसकेकाले छलफलकै क्रममा रहेको उनले बताए । निवेदन हेरेर कारबाही प्रक्रिया अघि बढाउने एसपी भोला रावलले बताए । ‘ठाडो निवेदन दर्ता भएको छ, अब कारबाही प्रक्रिया अघि बढाउँछौं,’ उनले भने ।

प्रकाशित : असार १०, २०७६ ०७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?