कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

दुई अधिकृत र इन्स्पेक्टरसहित ८ जनाविरुद्ध मुद्दा

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई शाखा अधिकृत र इन्स्पेक्टरसहित ८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजना, नेपालगन्जका तत्कालीन अनुगमन तथा मूल्यांकन अधिकृत देवराज भुसालसहित ३ विरुद्ध मुद्दा दायर गरेको हो । 

दुई अधिकृत र इन्स्पेक्टरसहित ८ जनाविरुद्ध मुद्दा

मुद्दा दायर गरिएकामा आयोजनाका कृषि प्राविधिक मोतीप्रसाद न्यौपाने, दैलेखको नारायण नगरपालिका–१, कुइकानास्थित श्रीस्थान ताजा तरकारी उत्पादन कृषक समूह, व्यावसायिक अदुवा उत्पादन उपआयोजना कृषक समूहका अध्यक्ष रामकुमारी केसी छन् । खेती नै नगरेका कृषकहरूको भर्पाइसमेतको नक्कली बिललगायतका कागजात तयार गरी अनियमितता गरेकाले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।


त्यस्तै, अख्तियारले इलाका प्रहरी कार्यालय रन्यौरा, रूपन्देहीका प्रहरी निरीक्षक केशवबहादुर बस्नेतविरुद्ध मुद्दा दायर गरेको छ । ट्याक्टरबाट नियमानुसारको प्रक्रिया पूरा गरी गैडहवा गाउँपालिकाबाट नदीजन्य पदार्थ ढुवानी गरिरहेका सेवाग्राहीसँग बस्नेतले १५ हजार रुपैयाँ घूस लिएको पुष्टि भएकाले उनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनायो ।


अख्तियारले शिक्षा विकास तथा समन्वय इकाई सल्यानका प्रमुख (शाखा अधिकृत) धनबहादुर वलीलाई घूस रकमसहित पक्राउ गरेको छ । शिक्षक सरुवा प्रक्रिया सहज बनाइदिने बहानामा सेवाग्राहीसँग लिएको २५ हजार रुपैयाँ घूस रकमसहित वली रंगेहात पक्राउ परेको अख्तियारले उल्लेख गरेको छ ।


अख्तियारले २ करोड रुपैयाँभन्दा बढी गैरकानुनी आर्जन गरेको अभियोगमा कञ्चनपुर भन्सार कार्यालयका तत्कालीन नायब सुब्बा रामप्रसाद भट्टराईविरुद्ध मुद्दा दायर गरेको छ । अर्थ मन्त्रालयअन्तर्गत विभिन्न कार्यालयमा कार्यरत रहँदा भट्टराईले ३ करोड १५ लाख रुपैयाँ कमाइ गरेको, तर १ करोड १५ लाखको मात्र स्रोत खुलेकाले २ करोड अकुत सम्पत्ति आर्जन गरेकामा उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । अख्तियारले भट्टराईलाई २ करोड बिगो कायम गरी जरिवाना र जेल सजाय गर्न अभियोगपत्रमा मागदाबी गरेको छ ।


अख्तियारले रत्न कन्या आधारभूत विद्यालय, सिर्सिया, रौतहटका प्रधानाध्यापक राकेशकुमार सिंहविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सिंहले विद्यालयको कम्प्युटर खरिद, सरकारबाट प्राप्त अनुदान, छात्रवृत्ति, पाठ्यपुस्तक खरिद रकम गरी १ लाख ५६ हजार रुपैयाँ हिनामिना गरेकाले उनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।


अख्तियारले श्री निम्न माध्यमिक विद्यालय, राघोपुर, सिरहाको भवन निर्माण समितिका अध्यक्ष जागेश्वर धुरझार (यादव) विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । यादवले विद्यालय भवन निर्माणका क्रममा ४ लाख ६१ हजार रुपैयाँ हिनामिना गरेकाले उनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले उल्लेख गरेको छ । मुद्दा दायर भएसँगै दुई शाखा अधिकृत, इन्स्पेक्टरसहित ५ सरकारी कर्मचारी सेवाबाट निलम्बित भएका छन् ।

प्रकाशित : असार १०, २०७६ १९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?