काठमाडौँ महानगरको बजेट १५ अर्ब ५० करोड, ‘मेयर उज्यालो’ कार्यक्रम 

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि रु १५ अर्ब ५० करोड ७० लाखको बजेट प्रस्तुत गरेको छ । महानगरको नगरसभाको पाँचौँ अधिवेशनको मंगलबारको दोस्रो बैठकमा उप–प्रमुख हरिप्रभा खड्गी श्रेष्ठले चालू आव २०७५/७६ को भन्दा १९ प्रतिशत बढी बजेट प्रस्तुत गरेकी हुन् । चालू आवमा रु १३ अर्ब दुई करोड १२ लाख ३७ हजार बजेट प्रस्तुत गरिएको थियो । 

आन्तरिक आयतर्फ काठमाडौँ महानगरपालिकाको आफ्नै स्रोतबाट रु सात अर्ब ५६ करोड ६ लाख ३७ हजार प्रस्ताव गरिएको छ । जुन कूल बजेटको ५२ दशमलव ५८ प्रतिशत हो । बाह्य स्रोतबाट रु चार अर्ब १८ करोड ९० लाख महानगरको नाममा बैँकमा रहेको मौज्दातबाट रु दुई खर्ब ६२ करोड ९० लाख ९७ हजार तथा महानगरअन्तर्गतका आयोजनाबाट रु एक अर्ब १२ करोड ८२ लाख ७० हजार छ ।

यसैगरी बजेटको व्ययतर्फ पूँजीगत खर्च रु एक अर्ब ५५ करोड ३५ लाख, तलब पारिश्रमिक र सुविधा खर्च रु एक अर्ब ४१ करोड ५ लाख, कार्यालय सञ्चालन खर्च रु ५९ करोड ४३ लाख ५० हजार, पूर्वाधार सुधार तथा अन्य विकास खर्च रु सात अर्ब ४३ करोड ९७ लाख ९२ हजार, सशर्त अनुदानबाट पूँजीगत खर्च रु तीन अर्ब ३८ करोड ६ लाख र जग्गा एकीकरण आयोजनातर्फ रु एक अर्ब १२ करोड ८२ लाख ७० हजार रहेको छ ।
दोस्रो बैठक सञ्चालन गर्दै महानगर प्रमुख विद्यासुन्दर शाक्यले उप–प्रमुख खड्गीलाई बजेट प्रस्तुत गर्न निर्देशन दिएका हुन् । बजेटमा शिक्षातर्फ रु एक अर्ब ३४ करोड ९० लाख ५० हजार, सामाजिक विकास कार्यक्रमतर्फ रु एक अर्ब ५२ करोड १५ लाख ९० हजार, जनस्वास्थ्य सेवा कार्यक्रमतर्फ रु १२ करोड ३५ लाख ८२ हजार तथा प्रधानमन्त्री रोजगार कार्यक्रमतर्फ रु पाँच करोड चार लाख ७७ हजार विनियोजन गरिएको छ ।

‘मेयर उज्यालो’ कार्यक्रम
बजेटमा सडकको मुख्य मुख्य चोकमा ‘मेयर उज्यालो’ कार्यक्रम सञ्चालन गर्ने कुरा उल्लेख छ । ‘मेयर उज्यालो’ कार्यक्रमअन्तर्गत ‘हाइमास’ बत्ती जडान गर्ने कार्यक्रम रहेको बजेटमा उल्लेख गरिएको छ । यस्तै सडक चोकमा ‘फ्लाई ओभर, आकाशे पुल, महानगर ज्येष्ठ नागरिक अस्पताल, बालाजु बाइसधारा उद्यानको आधुनिकीकरण, महानगरका क्षेत्रबाट सङ्कलन गरिने फोहरबाट ऊर्जा उत्पादन, नदीहरुको शुद्धीकरण गर्नेलगायत योजना उप–प्रमुख खड्गीले बजेटमा समेटेकी छन् । आगामी आवको बजेटमा महानगरपालिकाको केन्द्रीय कार्यालय भवन निर्माण, भर्टिकल पार्किङका लागि भवन निर्माण, पर्यटन पदमार्ग, कोटेश्वर–तीनकुने बुद्ध पार्क निर्माण, मेघा हल निर्माण, मोनो रेललगायत योजना समेटिएको छ ।
आगामी आवमा शहिद धर्मभक्त माथेमा महानगर मानवसेवा आश्रम, महानगरस्तरीय एकीकृत सीप विकास प्रतिष्ठान निर्माण तथा सञ्चालनमा ल्याइने उल्लेख छ । महानगरले आगामी आवलाई अभियानका रुपमा सम्पदा संरक्षण तथा संवद्र्धन र पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार विकास वर्षको रुपमा सञ्चालन गर्न बजेट विनियोजन गरिएको उप–प्रमुख खड्गीले जानकारी दिइन् । बैठकमा महानगर प्रमुख शाक्यले आर्थिक विधेयक–२०७६ र महानगरपालिका विनियोजन विधेयक–२०७६ समेत प्रस्तुत गरेका थिए । नगरसभा असार ५ गतेदेखि राष्ट्रिय सभागृहमा जारी छ ।

प्रकाशित : असार १०, २०७६ २०:१५
प्रतिक्रिया
पठाउनुहोस्

अन्तरिक्ष यात्री सकुशल फिर्ता

एएफपी

कजाखस्तान/वासिङटन — अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट तीनजना अन्तरिक्ष यात्री मंगलबार सकुशल पृथ्वीमा फर्केका छन् । अन्तरिक्ष यान प्रक्षेपणका क्रममा दुर्घटना भएपछि रुसको अन्तरिक्ष कार्यक्रमको भविष्यबारे आशंका उत्पन्न भइरहेका समयमा रूसी वैज्ञानिकलाई सफलता प्राप्त भएको हो ।

अन्तरिक्ष यात्रीहरु कजाखस्तानको झेखाजगान सहरनजिकै सकुशल अवतरण गरेका हुन् । पहिलो चरणमा पृथ्वीमा आइपुगेका अन्तरिक्ष यात्रीमा नासाका आन क्याकक्लेन, वरिष्ट रूसी अन्तरिक्ष यात्री ओलेग कोनोनेन्को र क्यानाडाली अन्तरिक केन्द्रका डेभिड सेन्ट–ज्याक्स छन् ।

नासा टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिएको अवतरणको दृश्यमा तीनै जना यात्रु पृथ्वीमा अवतरण गरेपछि साथीहरुसँग मुस्काइरहेका देखिन्छन् । क्यानाडाली र अमेरिकी अन्तरिक्ष यात्री कजाखस्तानबाट मस्को हुँदै स्वदेश फर्किने जनाइएको छ ।

अन्तरिक्ष यात्रीहरू सन् २०१८ को डिसेम्बर ३ मा रूसी यान सोयुजबाट अन्तरिक्षमा गएका थिए । तर रूसी अन्तरिक्ष यात्री अलेक्सी ओभ्चिनीन र अमेरिकी अन्तरिक्ष यात्री निक हेग चढेको यान भने दुर्घटनाग्रस्त भएको थियो । उड्नासाथ दुर्घटना भएपछि उनीहरूले आपत्कालीन अवतरण गरेका थिए ।

चालीस वर्षीया अन्तरिक्ष यात्री म्याकक्लेनले गरेको ट्वीटमा पृथ्वीमा अवतरण गर्नुअघि आफूले अन्तिम पटक अफ्रिकी आकाशमाथिबाट गुज्रेको बताए । अन्तरिक्ष केन्द्रमा रहँदा उनी दुई पटक अन्तरिक्षमा हिँडेका थिए ।

सन् २०११ देखि रुसले मात्र अन्तरिक्ष केन्द्रमा मानिस पठाएको छ । अमेरिका समेतका मुलुकले अन्तरिक्ष यात्रा खर्चिलो भएको भन्दै हाल स्थगित गरेका छन् । हालसम्म ७ पर्यटकलाई अन्तरिक्ष केन्द्रमा पठाइसकेको रूसले सन् २०२१ देखि यसमा वृद्धि गर्ने जनाएको छ ।

२४ भूउपग्रह एकै दिन प्रक्षेपण
अमेरिकाको एक निजी कम्पनीले एकै साथ २४ भूउपग्रह पृथ्वीको कक्षमा राख्न सफलता हासिल गरेको छ ।

विश्वकै धनाढ्य एलन मस्कको अगुवाइमा स्थापित स्पेस एक्स कम्पनीको फाल्कन हेभी रकेट मंगलबार सफलतापूर्वक प्रक्षेपण गरिएको थियो । यसअघि निकै कठिन मानिएको अभियान सफल भएको कम्पनीले जनाएको छ ।

अमेरिकाको फ्लोरिडा राज्यको केनेडी अन्तरिक्ष केन्द्रबाट फाल्कन हेभी रकेट प्रक्षेपण गरिएको हो । फाल्कन हेभीको यो तेस्रो प्रक्षेपण हो । ‘स्पेस एक्स कम्पनीको इतिहासमा यो निकै चुनौतीपूर्ण प्रक्षेपण हो र यस अभियानका लागि करिब ६ घण्टा लागेको थियो,’ कम्पनीले भनेको छ ।

स्पेस एक्सका अनुसार गत अप्रिलमा फाल्कन हेभीको परीक्षण उडानमा प्रयोग गरिएको बुस्टरलाई पनि यसपटक पुनः प्रयोग गरिएको हो । अन्तरिक्षमा उपग्रह स्थापनामा केन्द्रित स्पेस एक्सले अन्तरिक्षमा पर्यटनमा लैजाने योजना अघि सारिसकेको छ ।

प्रकाशित : असार १०, २०७६ २०:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्