तातोपानी बजारका व्यवसायी भन्छन्, 'अहिले टुलुटुलु हेरेर बस्नुपर्ने बाध्यता आयो,’

अनिश तिवारी

(सिन्धुपाल्चोक) — भूकम्पको चार वर्षपछि औपचारिक रूपमा मालवाहक सवारी साधन सञ्चालनमा आएको तातोपानी नाकामा व्यापारिक गतिविधि भने ठप्प छ । ऊन ल्याउँदै आंशिक रूपमा खुलाइएको नाकामा अहिले मालवाहक कन्टेनरसमेत गुडेका छैनन् । बर्खासँगै सीमा झनै उराठलाग्दो देखिएको छ । 

चीनतर्फ भौतिक संरचना र व्यापारिक स्थल पुनर्निर्माण भइरहेकाले तत्कालका लागि मालवाहक सवारी मात्रै सञ्चालन गरिएका थिए। ‘व्यापारिक तयारी भइरहेकाले कन्टेनर पनि खासै नेपाल भित्रिएका छैनन्, सबै संरचना यत्तिकै थन्किएझैं बसिरहेका छन्,’ भोटेकोसी गाउँपालिकाका प्रमुख राजकुमार पौडेलले भने। सर्वसाधारणका लागि नाका नखुलाइएपछि चहलपहल नबढेको उनले सुनाए।

तातोपानी नाकाका व्यापारी भूकम्पअघिझैं व्यापारिक रूपमा तातोपानी नाका खुल्ने आसमा बसिरहेका छन्। ‘३ महिनापछि मात्रै कन्टेनर आउने भएपछि नाका बन्दजस्तै छ, नखुलेमा नाकाको कुनै अर्थ छैन,’ उनले भने। चिनियाँ राजदूत होउ याङ छिसँग जनप्रतिनिधिले विद्यालय, स्वास्थ्य, सडकलगायत पूर्वाधार निर्माण र सर्वसाधारणका लागि नाका खुलाउन अनुरोध गर्दै आएको पौडेलले बताए।

नाका खुल्ने र व्यापार हुने आसमा लिपिङ पुल छेउ होटल, पसल थापेर बसिरहेका व्यवसायी निराश छन्। भोटेकोसी– २ तातोपानीका वडाध्यक्ष दीपेन्द्रकुमार श्रेष्ठका अनुसार नाकालाई पूर्ण रूपमा खुलाउन पूर्वाधार बलियो बनाउन थालिएको छ।

चिनियाँ प्रतिनिधिले दर्जनौं भेट, छलफलमा भौतिक पूर्वाधार तयारी गरिरहेको र आफ्नो सरकारलाई यसबारे अनुरोध गरिरहेको बताउँदै आएका छन्। नाका खुलाउँदा नेपालबाट झन्डै १ सय ८२ प्रकारका सामग्री (मुडा, खाद्यान्न, गलैंचा, ह्यान्डिक्राफ्टलगायत) चीनको ल्हासा पुग्ने सहमति गरिएको थियो। चीनबाट भने ऊन, जुत्ता, इलेक्ट्रिक सामान, कपडाजस्ता सयौं प्रकारका सामग्री नेपाल भित्रिने अनौपचारिक सहमति भएको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष वेदबहादुर श्रेष्ठले बताए।

‘नाका खुलेर पनि नखुलेजस्तो अनुभव भइरहेको छ, सर्वसाधारणले गरेर खाने ठाउँ भएन,’ तातोपानी बजारमा चार वर्षदेखि व्यवसाय गरिरहेकी सुनमाया शेर्पाले भनिन्। ‘भूकम्प, भोटेकोसी बाढी, बर्खैपिच्छेको पहिरोले भागाभाग बनाए पनि व्यवसाय छोडेनौं। अहिले टुलुटुलु हेरेर बस्नुपर्ने बाध्यता आयो,’ शेर्पाले भनिन्।

सातादेखि थन्कियो कन्टेनर
चीनको आर्थिक तथा प्राविधिक सहयोगमा लार्चामा निर्माण गरिएको अन्तर्राष्ट्रियस्तरको सुक्खा बन्दरगाह अझै सञ्चालनमा आएको छैन। चाइना रेलवे कन्सट्रक्सन कम्पनी (सीआरसीसी) ले बनाएको बन्दरगाहमा सातादेखि ऊन बोकेको एउटा कन्टेनर थन्किएको छ।

‘बल्ल साँचो लियौं, हप्तादिनपछि बन्दरगाह पूर्ण रूपमा सञ्चालनमा ल्याउनेछौं, प्राविधिक, सञ्चारलगायत पूर्वाधार तयार गर्नुपर्‍यो,’ तातोपानी भन्सारका प्रमुख अधिकृत कृष्ण बस्नेतले भने। नाका खुलेसँगै बन्दरगाह जिम्मा लिएको सुनाउँदै उनले शुक्रबारबाट सातजना कर्मचारी आउने बताए।

प्रकाशित : असार १०, २०७६ २०:५७
प्रतिक्रिया
पठाउनुहोस्

पृतनापति ट्रफीको उपाधि भवानी बक्सलाई

कान्तिपुर संवाददाता

धनगढी — नेपाली सेनाको सुदुरपश्चिम पृतनापति खेलकुद प्रतियोगिताको ट्रफि भवानीबक्स गणले जितेको छ । सोमबार सम्पन्न  प्रतियोगितामा ४६ स्वर्ण पदक प्राप्त गरेर भवानीबक्स गणले प्रथमस्थान प्राप्त गरि उपाधी जितेको हो । 

प्रतियोगितामा दोस्रो र तेस्रोस्थानमा क्र्रमस रुद्रध्वज गण र भवानी दल गणका खेलाडी बिजयी भएका थिए । शनिबारदेखि सञ्चालित संचालित पृतनापति ट्रफी खेलकूद प्रतियोगिताको अन्तिम दिन सोमबार कैलालीको तेघरीस्थित सैनिक खेल मैदानमा बिजेत टिम र खेलाडीहरुलाई पृतनापति उपरथी बालकृष्ण कार्कीले ट्रफि र पुरस्कार प्रदान गरेका हुन् ।

सुदूर पश्चिम प्रदेश अन्तर्गत नौ वटै जिल्लामा तैनाथ नेपाली सेनाका गण तथा गुल्महरुबीच कैलाली र कञ्चनपूरमा सञ्चालित खेलकुद प्रतियोगितामा ७ वटा खेल र ६५ वटा ईभेन्टमा ३ सय २१ जना पुरुष सैनिक र २५ जना महिला सैनिक खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगितामा भवानीबक्स गणले फुटबल, एथलेटिक्स, बक्सिङ, पौडी र तेक्वान्दो खेलतर्फको उपाधि जित्न सफल भएको थियो । प्रतियोगितामा सर्वाधिक पदक जित्ने पूरुष खेलाडी भवानीबक्स गणका प्युठ राम बहादुर पुन हुन् ।

प्रकाशित : असार १०, २०७६ २०:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्