२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

सातै प्रदेशमा प्रहरीको सीसीटीभी

दीपेन्द्र विष्ट

काठमाडौँ — प्रहरीले शान्ति सुरक्षालाई नियाल्न स्थानीय तहसँग मिलेर मुलुकभर सीसीटीभी जडान गर्ने भएको छ । सडक दुर्घटना, समाजमा अपराध नियन्त्रण गर्न भन्दै प्रहरीले स्थानीय तहको समन्वय तथा सहयोगमा सीसीटीभी जडान प्रक्रिया अघि बढाएको हो । 

सातै प्रदेशमा प्रहरीको सीसीटीभी

‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रमअन्तर्गत १५ सय ८९ वटा सीसीटीभी जडान गर्न लागिएको हो । ‘सीसीटीभीले सडक दुर्घटना न्यूनीकरण गर्न सजिलो भएको छ,’ महानगरी ट्राफिक महाशाखाका प्रमुख वसन्त पन्तले भने, ‘अपराधीलाई कानुनी दायरामा ल्याउन पनि मद्दत पुगेको छ । ठाउँठाउँमा सीसीटीभी क्यामरा भएपछि जहाँ गए पनि प्रहरीले छाड्दैन भन्ने सन्देश प्रवाह हुन्छ ।’


उपत्यकाका विभिन्न स्थानमा सीसीटीभी जडानका लागि काठमाडौं महानगरपालिकाले ५ करोड ८१ लाख र राजविराज नगरपालिकाले ३८ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् । प्रहरीका अनुसार सातवटै प्रदेशमा सीसीटीभी जडान कार्यलाई तीव्र पारिएको छ ।


प्रदेश नम्बर १ मा २ सय ५, प्रदेश नम्बर २ मा १ सय ९१, प्रदेश नम्बर ३ मा १ सय ५, गण्डकी प्रदेशमा २ सय ८४, प्रदेश नम्बर ५ मा १ सय ९९, कर्णाली प्रदेशमा १ सय ६१ र सुदूरपश्चिम प्रदेशमा १ सय ४२ र महानगरीय प्रहरी कार्यालयअन्तर्गत ३ सय २ वटा सीसीटीभी जडान गरिँदै छ । २०७६ जेठसम्ममा विभिन्न संघसंस्था/समुदाय, प्रहरी तथा विभिन्न निकायबाट जडान गरिएका सीसीटीभीको संख्या ५ हजार ७ सय ८१ पुगिसकेको छ ।


जिल्ला, स्थानीय तह, वडा र टोल र विद्यालय गरी करिब १९ हजार २ सय २५ वटा साझेदारी समिति गठन गरेर अपराध न्यूनीकरण गर्ने र त्यसैअनुसार समुदायमा जनचेतना फैलाउने काम भइरहेको पनि प्रहरी प्रवक्ता विश्वराज पोखरेलले जानकारी दिए । ‘हरप्रहर, गाउँ र नगरी, टोलटोलमा नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ स्थानीय तह, समुदाय, सामाजिक संस्था र विद्यालयसँग साझेदारी गरी समाजमा अपराध न्यूनीकरण गर्ने लक्ष्य राखेको उनले बताए ।


‘यो अभियान मुलुकभर सञ्चालनमा ल्याएका छौं, प्रहरीले समुदायसँग मिलेर काम गर्दै आएको छ,’ उनले भने, ‘समुदायसँग अन्तरसम्बन्ध स्थापित गर्न यो कार्यक्रम अघि सारेका हौं, जसअन्तर्गत विभिन्न स्थानमा सीसीटीभी जडान गरेर विभिन्न किसिमका अपराध तथा हिंसा न्यूनीकरण गर्न सजिलो हुन्छ ।’


प्रहरीले लैंगिक हिंसा नियन्त्रण सञ्जाल समितिसमेत ३ हजार १ सय ६ वटा गठन गरेको छ । स्थानीय साझेदारी कार्यक्रमलाई बृहत् रूपमा समुदायमा लगिनेसमेत प्रहरी प्रवक्ता पोखरेलले जानकारी दिए ।


२०७६ जेठसम्ममा प्रहरी सेवालाई प्रभावकारी बनाउन समुदायबाट २२ करोड ६५ लाख १६ रुपैयाँ बराबरको सहयोग प्राप्त भएको प्रहरीले जनाएको छ । ‘स्थानीयवासी र स्थानीय तहबाट जग्गा, भौतिक संरचना र अन्य सामग्री, एलईडी टीभी, जनचेतनामूलक सामग्री, सवारी साधन र सीसीटीभीमा सहयोग भएको छ,’ प्रहरी प्रवक्ता पोखरेलले भने ।


कहाँ कति ?

  • प्रदेश– १२०५
  • प्रदेश– २१९१
  • प्रदेश– ३१०५
  • गण्डकी प्रदेश२८४
  • प्रदेश–५१९९
  • कर्णाली प्रदेश१६१
  • सुदूरपश्चिम प्रदेश१४२
  • महानगरीय प्रहरी कार्यालयअन्तर्गत३०२

प्रकाशित : असार ११, २०७६ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?