१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

'ग्रिनहाउस’ मा उपराष्ट्रपति

विद्या राई

काठमाडौँ — लैनचौरस्थित समाजकल्याण परिषद्को साविक भवन गाढा हरियो रङले पोतिएको छ । चारैतर्फ हरियै पर्खाल । मूलगेटमा उपराष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको भवन ‘ग्रिनहाउस’ लेखिएको छ । जहाँ पाँच साताअघि उपराष्ट्रपति नन्दबहादुर पुन सरेका छन् । 

भदौ २१ को मन्त्रिपरिषद् बैठकले परिषद्को भवनमा उपराष्ट्रपति कार्यालय र निवास राख्ने निर्णय गरेको थियो । ४२ वर्षदेखि बस्दै आएको भवन छाडेर परिषद् पुल्चोकस्थित केन्द्रीय बालकल्याण समिति भवनमा सरेको छ ।


यता उपराष्ट्रपतिको कार्यालय र निवास सारिएपछि ‘ग्रिनहाउस’ नामकरण गरिएकोमा सामाजिक सञ्जालमा विभिन्न टिप्पणी भइरहेका छन् । सामाजिक सेवाभावले स्थापित परिषद् भवनमा उपराष्ट्रपतिको निवास र कार्यालय सार्ने निर्णय भएकै बेला पनि यस्ता असन्तुष्टि देखिएका थिए ।


उपराष्ट्रपति भवनका नाममा नेपालीको साटो अंग्रेजी भाषाको हस्तक्षेप भन्दै लेखक यादव देवकोटाले ट्वीट गरेका छन्, ‘उपराष्ट्रपति भवन लैनचौरको नाम ग्रिनहाउस राखिएको रहेछ । आज पढ्दा नमिठो लाग्यो । नेपालको उपराष्ट्रपति भवनको नाम नेपालीमा राख्न पनि नसक्ने गरी हामीलाई अंग्रेजी भाषाले मिचिसकेको रहेछ । हाम्रो असलियत जम्मा यही रहेछ भनेर मन बुझाउने त होला नि ।’


ट्वीटरमै गोविन्द अधिकारीले ‘जनताको दान, चन्दाबाट बनेको सामाजिक सेवा भवन कब्जा गरेपछि इतिहास मेट्न नाम फेरिएको’ टिप्पणी गरेका छन् । ‘धन्न रेड प्यालेस राखेनछन्, उपराष्ट्रपति सहरबाहिर सानो तर सुविधायुक्त सुरक्षित ठाउँमा बसेका भए कति जाती हुन्थ्यो,’ उनले लेखेका छन् ।


उपराष्ट्रपति कार्यालयका प्रवक्ता तेजराज पाण्डेले उपराष्ट्रपति पुनकै मनसायअनुसार हरियो रङ पोतिएको जनाए । नामकरण पनि त्यसैलाई झल्काउने गरी गरिएको उनको भनाइ छ । सहरी विकास मन्त्रालयअन्तर्गत संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले भवनको रङरोगनबारे राखेको जिज्ञासामा पुनले हरियो गाढा रङ लगाउने चाहना व्यक्त गरेका थिए ।


‘भवन परिसरमा हरियाली, शान्त, वातावरणमैत्री छ, सम्माननीयज्यूलाई समेत मन परेको, उहाँको स्वभाव पनि त्यस्तै शान्त भएकाले नाम ‘ग्रिनहाउस’ दिइएको छ,’ उनले भने, ‘हरितगृह उच्चारण गर्नुको सट्टा ग्रिनहाउस सटीक हुने भएकाले ग्रिनहाउस भनिएको हो ।’ अंग्रेजीकरण गर्न खोजिएको नभई सरलतालाई ध्यान दिइएकाले नकारात्मक रूपले बुझ्न नहुने पाण्डेको तर्क छ । उनका अनुसार भवन र जग्गाको लालपुर्जासमेत उपराष्ट्रपति कार्यालयकै नाममा तयार भइसकेको छ ।


संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष र प्रधानन्यायाधीश गरी ६ संवैधानिक निकायका निवास तथा कार्यालय व्यवस्थापन गर्छ । सहरी विकास मन्त्रालयका पूर्वसचिव किशोर थापाले घरभवनको रङरोगन सहरी विकास तथा भवन निर्माण विभागले जारी गरेको निर्देशिकाअनुसार हुनुपर्ने भए पनि विशेष प्रकारका भवनमा त्यो लागू नहुने बताए ।


‘नयाँ भवन निर्माणपछि रङरोगन गर्दा आचारसंहितामै रहेर गर्नुपर्छ, पुरानो मर्मतपछि रङरोगन गर्दा पनि पालना गर्नुपर्छ तर विशेष प्रकारको भवन भनिएका कारण राष्ट्रपति, उपराष्ट्रपति भवनमा लागू हुँदैन,’ उनले भने ।


प्रवक्ता पाण्डेका अनुसार उपराष्ट्रपति निवास डेढ महिनाअघि सरे पनि कार्यालय असार ८ देखि सुरु भएको हो । चारतले भवनको चौथो तलास्थित ठूलो हलमा उपराष्ट्रपतिको शयनकक्ष छ । तेस्रोमा उपराष्ट्रपति निवास छ । दोस्रो र पहिलोमा कार्यालय छ । भवन तथा परिसर अझै निर्माणाधीन छ । लिफ्ट मर्मत गर्नुपर्ने अवस्थामा छ । भवनअगाडि वाटरफल, वरिपरि रूखबिरुवा रोप्ने, जलपानस्थल र बगैंचा बनाउने काम भइरहेको छ ।


कार्यालयका अनुसार ९० प्रतिशत काम सम्पन्न भएको छ । परिसरमा साबिककै करिब ६० वटा ठूला रूख छन् । साना बिरुवा र फूलबारी पनि प्रशस्तै छन् ।


जग्गाको क्षेत्रफल (२८ रोपनी १४ आना) फराकिलो देखिए पनि कर्मचारी तथा आगन्तुकलाई पार्किङ समस्या रहेको कर्मचारीको गुनासो छ । ‘सम्माननीयज्यूले पार्किङ गर्नेतर्फ आर्मीले जान दिँदैन, अन्त ठाउँ छैन, पार्किङको एकदम समस्या छ,’ एक कर्मचारीले भने ।


परिषद्ले पुल्चोक सर्ने क्रममा स्थान अभावको कारण देखाएर पुराना गाडी तथा मोटरसाइकल त्यहीँ छोडेको छ । झन्डै डेढ रोपनी जग्गा गाडी र मोटरसाइकलले ढाकिएको छ । तिनलाई पन्छाएर प्रिफ्याबको सभाहल बनाउन कार्यालयले टेन्डर आह्वान गरेको छ ।

भवनअगाडि परिषद्की संस्थापक अध्यक्ष पूर्वरानी ऐश्वर्य राज्यलक्ष्मी शाहको सालिक छ ।


उक्त सालिक भावनात्मक रूपमा समाज कल्याणसँगै जोडिएकाले सँगै लैजान उपराष्ट्रपति कार्यालयले आग्रह गरे पनि परिषद्ले स्थान अभाव देखाएर लगेको छैन । परिषद् भवन ग्रिनहाउस भइसकेका कारणले पनि सालिक त्यहाँ राख्न सान्दर्भिक नहुने कार्यालयले जनाएको छ । पूर्वतर्फ समाज कल्याणको लोगो ‘दुहुनो गाई’ को तस्बिर भने उप्काएर फालिएको छ । भवनको दक्षिणतर्फ व्यवसायी शेष घलेको होटल बनिरहेको छ ।


पश्चिममा निजी घरहरू छन् । उत्तरमा युनिसेफको कार्यालय छ । पूर्वमा कान्तिपथ पर्छ । सुरक्षाका हिसाबले संवेदनशील भएकाले चारैतिर पर्खालमा सेन्ट्री राखिएको छ ।

प्रकाशित : असार ११, २०७६ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?