कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

युद्धभूमिमा बुद्ध

युद्धबाट धेरै क्षति पुगेको रूकुमको महत गाउँबाटै शान्तिको सन्देश दिन गौतम बुद्धको सालिक
हरि गौतम

रुकुम पूर्व — दसवर्षे सशस्त्र द्वन्द्वका बेला सबैभन्दा बढी मानिस साविकको महत गाविसमा मारिए । राज्यपक्षबाट ५२ र विद्रोहीबाट ६ जनाले ज्यान गुमाए । महतबाटै विद्रोहीले तत्कालीन डीएसपी ठूले राईलाई अपहरण गरे । सरकार तथा विद्रोही पक्षबीच पटकपटक दोहोरो भिडन्त पनि यहीँ भयो । द्वन्द्वका क्रममा यी घटना चर्चामा रहेको महतले शान्ति स्थापनापछि पनि चर्चा बटुल्दै छ । 

युद्धभूमिमा बुद्ध

युद्ध झल्काउने युद्ध फिचर र शान्तिको सन्देश दिने गौतम बुद्धको सालिक स्थापना गरेर महत गाउँले चर्चा बटुलेको हो । महतडाँडा पुग्ने जो कसैले यी दुवै वस्तु एकसाथ देख्न पाउँछन् । एकातिर युद्ध फिचर छ भने अर्कोतिर शान्तिको सन्देश फैलाउने गौतम बुद्धको अर्धकदको सालिक ।


‘०५६ असोज ६ मा विद्रोहीबाट यहाँको प्रहरी चौकी आक्रमण भयो, त्यसपछि स्थानीयले पटक–पटक राज्यपक्षको ज्यादती खेप्नुपर्‍यो,’ भूमे गाउँपालिका–६ का वडाध्यक्ष देवबहादुर बुढामगरले भने, ‘त्यसैले दुवै कुरा सम्बोधनका लागि एकसाथ राखिएको हो ।’ साविकको जिल्ला विकास समिति र नेपाली सेनाको देवी दल गणले संयुक्त रूपमा गौतम बुद्धको सालिक बनाइदिएका हुन् । युद्ध फिचर भने भूमे गाउँपालिकाले तयार गरेको हो । फिचरमा युद्धबारे जानकारीका साथै विद्रोहीले सरकारी सुरक्षाकर्मीमाथि गरेको आक्रमण, हतियार खोस्ने तथा आत्मसमर्पण गराउन अपनाइने तरिका आदि देखाइएको छ ।


भूमे गाउँपालिकाले बनाएको २० वर्षे गुरुयोजनामा नै द्वन्द्व पर्यटनको विकासका लागि कार्य गर्ने उल्लेख छ । गाउँपालिकाका विभिन्न ठाउँमा सशस्त्र द्वन्द्वका क्रममा भएका घटनालाई जहिल्यै पनि हेर्न मिल्ने गरी संग्रहालयका रूपमा राख्ने र त्यसबाट पर्यटन विकास गर्ने गुरुयोजना छ । यसैअनुरूप महतमा गाउँपालिकाले काम गर्दै आएको हो । वडा नम्बर ६ को महत, ९ को चुनबाङ भेरीडाँडा, २ र ७ को सीमा मारिङ, ३ को क्याङसीलगायत ठाउँमा युद्ध पर्यटनको सम्भावना भएकाले गाउँपालिकाले त्यसलाई प्राथमिकतामा राखेको गाउँपालिका अध्यक्ष रामसुर बुढामगरले बताए ।


रोल्पाको थबाङ जाने मुख्य नाका भएको, सहिद मार्ग र मध्यपहाडी लोकमार्ग पनि नजिकै रहेकाले तुलनात्मक रूपमा महत पछिल्लो चरणमा धेरैले हेर्न जाने ठाउँमा परेको अध्यक्ष बुढाको तर्क छ । गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति कार्यक्रममा पनि महतलाई सम्बोधन गरेको छ । महत युद्ध स्मारिका बृहत् योजना, चुनबाङ जनयुद्ध संग्रहालय, क्याङसी जनवादी स्कुललाई जनवादी विद्यालय संग्रहालयका रूपमा विकास गरिने नीति कार्यक्रममा उल्लेख छ ।

प्रकाशित : असार ११, २०७६ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?