१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

कलिलालाई जोगाउन गाह्रो

दीपक परियार

पोखरा — बिहानैदेखि आकाश घुर्मैलो थियो । पानी पर्ने छाँटकाँटले मनसुन सुरु हुन लागेको झल्को दिन्थ्यो । शनिबार विद्यालय जानु नपर्ने खुसीले फुरुंग थिए, ४ वर्षीय संस्कार कँडेल । त्यस बिहान उनका बुवा र आमा बिरामी हजुरआमालाई भेट्न मणिपाल अस्पताल जाने भए । उसै पनि बालापनको चुलबुले स्वभाव ।

घरैमा बस्न उनको मन कहाँ मान्थ्यो र ! रानीपौवाको कोठाबाट बुवा रामकृष्ण र आमा सरस्वतीसँगै मोटरसाइकलमा निस्किए । बुवा र आमाको बीचमा लुपुक्क टाँसिएर मणिपाल पुगे । उफ्रिँदै अस्पतालको सिँढी उक्लिए । मुटु रोगी हजुरआमालाई भेटे । फेरि उफ्रिँदै, उफ्रिँदै तल झरे ।


बिहानको पौने ९ बजेको हुँदो हो । मोटरसाइकल झिक्न मणिपालको मुख्य प्रवेशद्वारअघिको पार्किङमा पुगेका बुवासँगै संस्कार पनि गए । आमा वारि नै बसिन् । अस्पतालको हेलिप्याडमा हेलिकप्टर ल्यान्ड हुँदै थियो । उनी खुसी भएर आकाशतिर हेर्दै थिए । एक्कासि ‘ढ्वांग...’ आवाज आयो । अस्पतालको ढोकै अघिल्तिर उनीमाथि गाडीको पहिलो चक्का दौडियो । फेरि दोस्रो चक्काले किच्यो । दुईतिरबाट बुवा र आमा चिच्याए, ‘बाबु...।’


अस्पतालमा क्षणभरमै सन्नाटा छायो । भर्खंरै काखमा लुटपुटिएको छोरा चिरनिन्द्रामा पुगेको रामकृष्ण र सरस्वतीले देख्नुपर्‍यो । अस्पतालबाट बाहिरिँदै गरेको ग३च ४३६ नम्बरको कारले उनीहरूको आँखै अगाडि छोराको ज्यान लियो । छोरा गुमाउनुपर्दाको वेदनामा बिलौना गरिरहेका बुवाआमाको चित्कार सुनेर नरुने कोही भएनन् ।


संस्कारका बुवाआमा उतिखेरैदेखि अर्धचेत अवस्थामा छन् । सवारीचालक मणिपाल अस्पतालकै चिकित्सक विश्वदीप तिमिल्सिना कास्की प्रहरी हिरासतमा छन् । संस्कारका आफन्त चालकलाई कडा कारबाही माग्दै प्रहरी कार्यालय धाइरहेका छन् । चालकले लापरबाहीपूर्ण तरिकाले सवारी चलाएकाले सवारी ज्यान कसुरमा जाहेरी दिएका छन् । संस्कारका फुपाजू नरेश तिवारी चालकको लापरबाही भएको बताउँछन् ।


‘अस्पताल परिसरभित्र कारको गति थोरै भएको भए ज्यानै जाने गरी दुर्घटना हुने थिएन,’ उनी भन्छन्, ‘चालकले मोबाइल हेर्दै गाडी चलाएको देख्ने प्रत्यक्षदर्शी छन् । यो लापरबाही नै हो ।’ सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को संशोधनअनुसार दफा १६१ (२) मा सवारी चालकको लापरबाहीले कसैको ज्यान गएमा ३ वर्षदेखि १० वर्षसम्म कैद वा ३० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।


ऐनको दफा १६१ (३) मा भने सावधानी अपनाउँदा अपनाउँदै ज्यान गएको हो भने १ वर्षसम्म कैद वा २ हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । ज्यान गएको अवस्थामा पीडित पक्षले तेस्रो पक्ष बिमाबापत पाँच लाख रुपैयाँ पाउँछन् ।


लापरबाही भए, नभएको जाँच गर्न विभिन्न परीक्षण हुने नेपाल बार एसोसिएसनका उपाध्यक्ष सुरेन्द्र थापामगर बताउँछन् । ‘सवारीको गति, सडकको अवस्था, यन्त्रको अवस्थालगायत जाँचेर दुर्घर्टना प्रतिवेदन तयार हुन्छ,’ उनी भन्छन्, ‘त्यसले लापरबाही भए, नभएको छुट्याउन मद्दत पुग्छ ।’ धेरै घटनामा पीडकलाई जरिवाना मात्रै भएको देखिन्छ ।


सावधानी अपनाउँदा अपनाउँदै ज्यान गएको बनाएर सजाय कम गर्ने प्रवृत्ति रहेको प्रहरीका एक अनुसन्धान अधिकृत बताउँछन् । पीडकले हदैसम्मको सजाय नपाएसम्म सवारी दुर्घटना कम नहुने उनको भनाइ छ । संस्कारका आफन्तले चालकको लापरबाही नै भएको भन्दै हदैसम्मको कारबाही माग गरी जाहेरी दिएका छन् ।


सानो असावधानीले संस्कारको ज्यान गयो । उनको गाउँ कास्कीकै माझठानाका स्थानीय स्तब्ध छन् । उनी एलकेजीमा पढ्थे । उनकी ८ वर्षीया दिदी छिन् । बुवा लेकसाइडको होटलमा जागिर गर्छन् । आमा रानीपौवामै फेन्सी चलाउँछिन् । चालकले सामान्य सावधानी नअपनाउँदा अब फेरि उनी आमाको फेन्सीमा फर्कने छैनन् ।


सामान्य सावधानी नअपनाउँदा अकालमा मृत्युवरण हुन पुगेको यो एक्लो घटना होइन । जेठ २६ मा पोखरा–१७ डेभिसफल्स नजिकै फुस्रेखोलामा माछा मार्न गएकी एक युवतीको मृत्यु भयो । पोखरा घारीपाटन बस्ने २४ वर्षीया युनिसा गुरुङ चिप्लिएर खोलामा खस्दा डुब्न पुगिन् । खोलाले बगाएपछि बेपत्ता उनलाई खोज्ने क्रममा प्रहरीले मृत अवस्थामा फेला पार्‍यो ।


पोखरामै जेठ २९ मा पानीट्यांकीमा डुबेर एक बालकले ज्यान गुमाउनुपर्‍यो । स्याङ्जा घर भई पोखरा मासबारमा रहेको मामाघरमा बस्दै आएका श्रीकृष्ण कोइरालाको पनि कलिलैमा इहलीला समाप्त भयो । चार वर्षीय उनी त्यस दिन साँझ साथीसँग खेल्दैखेल्दै छिमेकीको घरमा पुगेका थिए । उनी निर्माणाधीन घरको पानीट्यांकीमा खस्न पुगे । उनलाई उपचारका लागि पोखराको मेट्रोसिटी अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरे ।

प्रकाशित : असार ११, २०७६ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?